सल्यानः नेपालीको ठूलो पर्वको रुपमा रहेको वडादशैं प्रत्येकको घर घरमा प्रवेश गरि सकेको छ । अन्य चाडपर्व भन्दा वडादशैंँलाई नेपालीहरूले विशेष महत्त्व दिएर मनाउने गर्दछन् । परदेशिएका आफन्तहरू पनि दशैंको मौका पारेर घर फर्किने गर्दछन् । 

दशैंँमा गरिने विभिन्न कार्यहरू भन्दा घर लिपपोत गरी चिटिक्क पार्नु पनि महत्वपूर्ण मानिन्छ । रातोमाटो र कमेरोले घर लिप्दा घर पनि कम्ती आकर्षक देखिँदैन । गाउँघरमा दशै आएको अनुभूति रातोमाटो र कमेरोले लिपेपछि मात्र आएको हुन्थ्यो तर पछिल्लो समय रातोमाटो र कमेरोले घर लिप्ने परम्परागत कार्य बिस्तारै लोप हुँदै जान थालेको छ । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै जाँदा माटो कमेरोले घर पोतिन छाडेका छन् । 

गाँउमा खर र ढुङ्गे घर हराउँदै जाँदा घर पोत्ने परम्परा पनि हराउँदै जान थालेको बनगाड कुपिण्डे नगरपालिका ३ की सुशीला पुनले बताइन । उनले भनिन पहिले सबै घर रातोमाटो र कमेरोले लिप्ने चलन थियो तर आजभोलि पक्की घर बन्न थालेपछि अरू रङ लगाउने चलन छ । आफ्नो घर ढुङ्गा माटोको नै भएकाले अहिले पनि घर लिप्दै आइरहेको उनको भनाई छ । 

पहिले घर लिप्ने माटो ल्याउन गाउँभरका सबै एकै पटक जाँदा रमाइलो पनि हुन्थ्यो र सुख दुखका कुरा साटासाट पनि हुन्थ्यो तर आज भोली सिमेन्टका पक्की घर बन्न थाले पछि गाउँघरका जम्मा भएर सुखदुखका कुरा साटासाट गर्ने संस्कार पनि हराएको देव बहादुर विकको भनाई छ । गाउँमा ढुङ्गा, माटो र खरले बनेका घर बिस्तारै हराउँदै जान थालेका छन् । अचेल फलाम, जस्तापाता र सिमेन्टका घर बन्न थालेपछि बजारबाटै आउने रङ प्रयोग हुँदा परम्परागत मौलिकता पनि हराउँदै जान थालेको छ उनले भनिन । 

सरकारले फुसका छाना हटाउने अभियान चलाउँदा पनि परम्परागत मौलिकता हराउँदै जान थालेको स्थानीयको भनाई छ । अहिले बजार कुन हो गाउँ कुन छुट्याउन पनि गाह्रो हुने गरेको सुमित्रा बिसीको भनाई छ । बजारमा पनि ठुला ठूला पक्की घर छन् गाउँघरमा पनि बिस्तारै पक्की घर बन्दै जाँदा शहर र गाउँ बिचको दुरी पनि हट्दै गएको अनुभूति हुने गरेको उनले बताइन । उनले भनिन पहिले आफ्नो घर राम्रो देखाउन टाढा टाढाबाट रातोमाटो, कमेरो बोकेर ल्याइन्थ्यो । भित्र बाहिर लिपेर चिटिक्क पारिन्थ्यो तर आजभोलि बजारबाट रङ ल्यायो लिप्यो भइहाल्यो उनले भनिन।