सप्तरीः सार्वजनिक, ऐलानी पोखरीमा नगरपालिकाले लगाएको ठेक्काको विरोधमा डाक्नेश्वरी नगरपालिका–६ औरही गाउँबाट आएका प्रदर्शनकारीहरूले ०८० कात्तिक १ गते राति नगरपालिका कार्यालयमा ढुंगामुढा गरेर क्षति पुर्‍याएका छन् ।

डाक्नेश्वरी नगरपालिका–६ औरहीका ४० वर्षीय रमेश यादवको नेतृत्वमा ढुंगा, लठ्ठीसहित आएको भिडले ढुंगामुढा गर्दा कार्यालयको झ्यालका केही सिसाहरू फुटेको नगरपालिकाका कर्मचारी राजदेब मण्डलले जानकारी दिए ।

नगरपालिकाले पोखरीको नयाँ ठेक्का लगाएकोमा आपत्ती जनाउँदै प्रदर्शनकारीहरूले कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै ढुंगा प्रहार गरेका थिए । प्रदर्शनका कारण दिउँसो २ बजेदेखि राति १० बजेसम्म नगर प्रमुख मलाहा र कर्मचारीहरू नगरपालिका बाहिर निस्कन पाएनन् । 

प्रदर्शनकारीहरूले हातपात गरेपछि सुरक्षाका लागि कार्यालयभित्र राखिएका रेडियो नेपालका सप्तरी संवाददाता सञ्जिबिक्रम शाह पनि राति १० बजेसम्म घेराबन्दीमा परे । कार्यालयभित्र असन्तुष्ट पक्षसँग राति १० बजेसम्म वार्ता भएपछि तत्कालका लागि प्रदर्शन स्थगित भएको थियो । अवस्था तनावपूर्ण बनेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

प्रदर्शनकारी अशोक कुमार यादवले आफ्नो नियन्त्रणमा राखेर नगरपालिकाले ठेक्का लगाउन खोजेकोले विवाद चर्किएको बताए। अर्का प्रदर्शनकारी राजकुमार यादवले दुई वर्ष अगाडि नै सात वर्षका लागि लागेको ठेक्का तोडेर नगरपालिकाले नयाँ ठेक्का लगाउन खोजेको बताए । गाउँको समिति र गाउँलेको कुरा नसुनेर आफ्नै मनले टेण्डर लगाएकोले विरोध भएको उनको भनाई थियो । पहिले भएको ठेक्काका कारण विवादित रहेको पोखरीमा जनताको सहमति र निर्णय विना ठेक्का लगाएकोले विवाद भएको जनमत पार्टीका स्थानीय नेता अमरेन्द्र यादवले बताए।

नियमित रुपमा लगाउनु पर्ने औरहीको ९ ओटा पोखरी नै नगरपालिकाले ठेक्का लगाउन खोजेको नगर प्रमुख रामलखन मलाहाले बताए। आन्दोलनको पनि नियम हुने भन्दै नगर प्रमुख मलाहाले जानकारी र अल्टिमेटम बिना नै एक्कासी लठ्ठी, ढुंगासहित हुल बाँधेर राति अबेलासम्म प्रदर्शन गर्नु र कार्यालयमा ढुंगामुढा गरेर क्षति पुरयाउनु निन्दनिय भएको बताए । युद्धमा समेत नरोकिने आकस्मिक सेवाको एम्बुलेन्स जान नदिएर प्रदर्शनकारीले जघन्य अपराध गरेको पनि उनले बताए ।

आत्महत्या प्रयास गरेका औरहीका १५ वर्षीय गौतम साहलाई उपचारको लागि आस्पताल पुर्‍याउन भनी नगरपालिका कार्यालयबाट निक्लिएर सडकमा आउनासाथ प्रदर्शनकारीहरूले हातपात गरेको स १झ ५३३ नम्बरको एम्बुलेन्सका चालक रामजतन मुखियाले बताए । गाडीमा समेत लठ्ठीले प्रहार गरेका प्रदर्शनकारीहरूसँग अनुरोध गर्दा पनि जान नदिएको चालक मुखियाले बताए । उता औषधी उपचार नापाउँदा आत्महत्या प्रयास गरेका साहको मृत्यु भएको इन्सेक सप्तरी  मनोहरकुमार पोखरेलले जानकारी दिएका छन ।