बाँकेः नेपालगञ्जमा दसैंको दिन मुस्लिम समुदायका अगुवाहरूले आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर दसैं मनाएका छन्। मंगलबार विजय दशमीका अवसरमा मुस्लिम अगुवाहरूले दसैंको टीका र जमरा लगाएर धार्मिक सदभावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर दसैं मनाएका हुन्। 

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैंको टीका र जमरा लगाएका छन्।

उनले दसैं, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैं यसरी नै मिलेर मनाउने गरेको बताए।

'हामी सदभावको सहरमा छौं। यो सहर आफैंमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो। यहाँ मुस्लिमले हिन्दुहरूको मात्र नभइ हिन्दु समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ,' उनले भने, 'मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनैदेखि नै सम्मान छ। टीका थाप्दा मैले मान्ने हिन्दु समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरू खुसी हुँदा मलाई पनि खुसी मिल्छ भने त्यो खुसीमा किन सहभागी नहुने?'

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दु समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको बताए।

बाँकेमा हिन्दु र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उनको भनाइ छ।

सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दसैंमा हिन्द समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गरेका छन्।

उनले आफूले टीका र जमरा ग्रहण गरेपश्चात आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिए। सिद्धिकी वर्षौंदेखि हिन्दु समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आइरहेका छन्।

पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको उनको भनाइ छ। हिन्दुले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दुको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्धिकीले बताए।

अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंमा टीका र जमरा लगाएर आशीर्वाद लिएका छन्। रहमान मियाँले दुवै समुदायबीच अभूतपूर्व एकता र सदभाव रहेको भन्दै उक्त सदभाव बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताए।

बडादसैंका दिन मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दसैंको शुभकामना दिएका छन्। एकता र सदभावका लागि दुवै समुदायका धर्म गुरूले संयुक्त रूपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गरेका छन्।रासस