गलकोटः बागलुङको दमेकमा जन्मेर बागलुङ बजारलाई कर्मथलो बनाइराखेका टेकबहादुर क्षेत्रीको पेसागत आबद्धता अफसेट प्रेस हो । कला, संस्कृतिसँग विशेषगरी भजन संरक्षणमा युवापुस्ताको चासो नदेखिएपछि क्षेत्रीको फुर्सदको समय भजन गाउँदैमा बित्न थाल्यो ।

उनले विभिन्न मठमन्दिर, चौरासी पूजा, व्रतबन्ध र कहिलेकाहीँ कालिका मन्दिरमा गएर भजन गाउन थाले । अहिले तिनै क्षेत्रीकै अगुवाइमा जिल्लामा राष्ट्रिय भजन प्रतियोगितामात्रै भएन बागलुङलाई भजनबाटै राष्ट्रियरूपमा चिनाउँदै विभिन्न भजन प्रतियोगितामा प्रथम स्थानसमेत दिलाउँदै आयो । 

क्षेत्रीले नै नेतृत्व गरेर २०७४ सालमा भजनको संरक्षणका लागि जैमिनी भजन संकृतन समूह स्थापना गर्नुभयो । त्यही समूहको अगुवाइमा २०७४ सालयता जिल्लामा ११ भजन समूह स्थापना भइसकेका छन् ।

पछिल्लो समय लोप हुँदै गएको लोक भजन चुट्का संरक्षणका लागि यहाँका भजनप्रेमी सङ्गठित भएर लागेका हुन् । युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन चुट्का संरक्षणका लागि यहाँका भजनप्रेमीले सङ्गठन विस्तारदेखि भजन प्रशिक्षण गर्दै पुस्तान्तरणको प्रयास थालेका छन् ।

क्षेत्रीको नेतृत्वमा अहिले जिल्लास्तरीय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानले भजनको संरक्षणका लागि विभिन्न अभियान थालिएको छ । सनातन हिन्दू धर्म, पूर्वीय दर्शनमा आधारित संस्कार र संकृतिका रूपमा रहेको लोक भजन संरक्षणका लागि यहाँका भजनप्रेमीले अगुवाइ गरिरहेका छन् ।

मठमन्दिरमा मात्रै सीमित रहेको भजन अहिले जिल्लाको मेला तथा महोत्सवमा समेत गुन्जिन थालेपछि भजनप्रेमीको सङ्ख्या बढ्दै भएको छ । लोक भजन जोगाउन बागलुङ जिल्लावासी कस्सिएर लागेको राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान बागलुङका अध्यक्ष क्षेत्रीले बताए । 

“युवापुस्ता विदेश पलायन हुने बूढापाकाको भजनमोह पुस्तान्तरण नहुँदा समस्या छ, लोक भजन संरक्षण गर्नका लागि पुस्तान्तरण गर्न आवश्यक छ”, उनले भने। लोक भजनका लागि आवश्यक वाद्यवादनका सामग्री विभिन्न भजनपे्रमीको सहयोगमा सङ्कलन गरिएका छन् । जिल्लामा भवनको उभार आएको छ । मेला महोत्सवमा भजन प्रतियोगिता भइरहेका छन् । विद्यालयमा शिक्षकलाई लोक भजन र वाद्यवादन प्रशिक्षण दिन थालिएको छ । 

बागलुङमा शालग्राम भजन महोत्सव, चैत्राष्टमी मेलामा राष्ट्रिय भजन प्रतियोगिता र बिहुँ राम मन्दिरमा राष्ट्रियस्तरको भजन प्रतियोगिता आयोजना गरिएका छन् । लोक भजन चुट्काप्रति पछिल्लो समय आकर्षण बढिरहेको छ ।

जैमिनी संकृतन समूहसँगै जिल्लामा लोक कल्याणकारी भजन समूह बिनामारे, सुन्तलाचौर भजन समूह, रामतोला भजन समूह, अमलाचौर भजन समूह, बागलुङ कालिका सत्सङ्ग समूह, गौरीधाम शिव मन्दिर भजन समूह, हाँडेपाखा भजन समूह, मूलपानी शिव मन्दिर भजन समूह, पञ्चकोट भजन कृतन सत्सङ्ग समूह, बडिगाड भजन कृतन समूह ग्वालीचौर, त्रिपुरेश्वर रामकोट मन्दिर भजन समूह र अम्मर मावि बिहुँ भजन समूह क्रियाशील रहेको जिल्ला प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानको अगुवाइमा रु पाँच लाखबराबरको ध्वनियन्त्र र वाद्यवादनका सामग्री खरिद गरिएको भजनप्रेमी दुर्गाबहादुर आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार ध्वनियन्त्र र वाद्यवादनका सामग्री आवश्यकताअनुसार विभिन्न भजन समूहले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

विसं २०७४ मा बागलुङमा भजन समिति गठन भइसकेपछि मात्रै प्रजापति पराजुलीको नेतृत्वमा राष्ट्रिय लोक भजन चुट्का प्रतिष्ठान नेपालको स्थापना गरिएको हो । हालैमात्र बागलुङ घर भएका भजन गायक रेशम सापकोटाले बागलुङको काठेखोला गाउँपालिका–७ रेशस्थित ओदानडाँडा मन्दिरसँंगै विभिन्न पर्यटकीयस्थलमामा भजन छायाङ्कन गरी सार्वजनिक गरिएको ओदानडाँडा मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णु गौतमले बताए ।रासस