काठमाडौँः भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको काला पत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छन ।
काला पत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराएकी हुन ।
यसअघि काला पत्थरमा महिला स्काइ डाइभरको पाँच हजार तीन सय ४२ मिटरको रेकर्ड कायम थियो । महाजनले उक्त रेकर्ड तोडेर विश्व कीर्तिमान कायम गरेकी हुन। न्यूजील्याण्ड र अमेरिकाका दुई स्काइ डाइभरको रेकर्ड थियो ।
एकचालिस वर्षीय महाजन भारतको पुनेकी स्काइ डाइभ र खेलकुद क्षेत्रमा सक्रिय छिन । उनले भारतको प्रसिद्ध पद्य श्री पुरस्कार प्राप्त गरिसकेकी छन । ‘एभरेस्ट स्काई डाइभ’ कम्पनीमार्फत गएकी महाजनले ११ नोभेम्बरदेखि १३ सम्म सगरमाथा क्षेत्रबाट चार पटक ‘स्काई डाइभ’ गरेर कीर्तिमान कायम गरेको जनाइएको छ ।
महाजनको रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । रेकर्ड प्रमाणित गर्न कागजात वर्ल्ड रेकर्डका प्रतिनिधिलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । यो याममा १० जनाले स्काइ डाइभ गरेको कम्पनीले जनाएको छ ।
मौसम पनि अनुकूल हुनुपर्ने भएकाले हरेक वर्ष १० देखि १२ जनासम्मले नेपालमा स्काइ डाइभ गर्ने गरेको अध्यक्ष पाण्डेले बताए । स्काइ डाइभको माध्यमबाट नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले उल्लेख गरे ।
नेपालमा सन् २००८ मा एभरेष्ट स्काई डाइभ सुरु भएको हो । यसले धेरै विश्व रेकर्ड कायम भएको छ । कोभिडको वर्ष सन् २०२० बाहेक हरेक वर्ष स्काइ डाइभ हुँदै आएको छ । सन् २००९ मा हाईएस्ट ‘स्काई डाइभ’ काला पत्थरमा भएको थियो ।रासस