जनकपुरधामः प्रत्येक वर्ष भव्यरुपमा जनकपुरधाममा मनाइँदै आएको विवाहपञ्चमी महोत्सवको तयारी शुरु भएको छ । मङ्सिर २६ गतेबाट सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाउने निर्णय भएपछि अहिले यसको तयारी शुरु भएको छ । 

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मङ्सिर २६ गतेबाट नगरदर्शनवाट शुरु हुने भएको छ । २७ गते फूदवारी लिला, २८ गते धनुषयज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर, १ गते स्वयंम्बर तथा विवाह उत्सव तथा २ गते रामकलेवा गर्ने कार्यक्रम रहेको छ । 

विगतका वर्षमा मधेश प्रदेश सरकारले बजेट विनियोजन गरेपनि यस पटक नछुट्याएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण विवाहपञ्चमी महोत्सव मूल समितिले गरेको छ । गत वर्ष प्रदेश सरकारले विवाह पञ्चमीका लागि १० लाख बजेट विनियोजन गरेका थिए । 

जनकपुरधाममा आयोजना हुने महोत्सव मध्ये सबैभन्दा ठूलो महोत्सवको रुपमा श्रीसीताराम विवाहपञ्चमी महोत्सव रहेको छ । भगवान् रामसँग माता जानकीको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिका दिन विवाहपञ्चमी महोत्सव मनाउने चलन रहेको छ ।

IMG_20191126_164254-800x445-1 (1)

श्रीसीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि नेपाल भारतबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरू सहभागी हुनका लागि आउने गरेका छन् । विवाह पञ्चमीलाई व्यवस्थित बनाउनका लागि जानकी मन्दिरका मूल महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा मूल समितिको निर्माण भएको छ । यसका साथै विभिन्न उपसमितिहरू निर्माण भएको छ ।  

यसै बीच श्रीसीताराम विवाहपञ्चमी महोत्सवको तीर्थयात्रीहरूको अत्यधिक भिड हुने जनकपुरधामको ऐतिहासिक बाह्र विघा रंगभूमि मैदानको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले स्थलगत रुपमा अनुगमन गरेका छन। 

जनकपुरधामको मुटुमा रहेको ऐतिहासिक बाह्र विघा रङ्ग भूमि मैदानमा विभिन्न धार्मिक अनुष्ठानका साथै तीर्थयात्रीहरू अत्यधिक मात्रामा बास बस्ने गरेका कारणले अनुगमन गरेको छ ।