भरतपुरः चितवन राष्ट्रिय निकुञ्जको कोर एरियामा खाडलको धरापमा पारेर दुईवटा गैँडा मारी खाग तस्कर गरेको अभियोगमा आठजना पक्राउ परेका छन् । गैँडालाई खाल्टोमा पारेर मार्ने, खाग बिक्री गर्न खोज्ने तथा योजना बनाउने अभियुक्तलाई बिहीबार निकुञ्जको कार्यालय कसरामा सार्वजनिक गरिएको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुंगानाका अनुसार निकुञ्जभित्र खाल्टो खनेर त्यसलाई प्राकृतिक बनाई गैँडालाई पासोमा पारिएको अनुसन्धानले देखाएको छ । गैँडा मार्न तस्करले सातवटा खाल्टो खनेका थिए । खाल्टोलाई प्राकृतिक बनाउन र गैँडालाई आकर्षिक गर्न खाल्टोमाथि गैँडालाई मन पर्ने घाँसले छोपिएको ढुंगानाले बताए । 

ढुंगानाले भने, ‘अभियुक्तहरूले चार्डपर्वको अवसर पारेर खाल्टो खन्नेलगायत आपराधिक क्रियाकलाप गरेको अनुसन्धानमा देखिएको छ । पासो थापेपछि सिकारीहरू करिब एक किलोमिटरपर सानो मचानमा बसेका थिए ।’ अध्ययनका क्रममा चाउचाउका खोल, पानीका बोतल, प्लास्टिक ब्ल्यांकेट, टर्च, डेक्ची ९भाँडा०लगायत सामान गैँडा मरेकै क्षेत्रमा भेटिएको थियो । सिकारीले आगो बालेजस्तो पनि देखिन्छ । गैँडा पासोमा परे–नपरेको प्रत्यक्ष हेरेरै बसेको र खाल्टोमा फसेपछि त्यसलाई मारेर खुर काटेको देखिन्छ ।’

ढुंगानाले पाँच दिनअघि गैँडा मरेको क्षेत्रमा सुरक्षा गस्ती गएको पत्रकार सम्मेलनमा बताए पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागको प्राविधिक टोलीले २० दिनसम्म तस्करको टोली जंगलमै वास बसेर सो घटना घटाएको जनाएको छ । ३० कात्तिकका दिन निकुञ्जको पूर्वी क्षेत्रस्थित कोर इलाका चपरचुली सुरक्षा पोस्टबाट करिब ३।५ किलोमिटर दक्षिण–पूर्व चुरे पहाडको फेदी क्षेत्रमा दुईवटा अलग–अलग खाल्टोको धरापमा १८ र ६ वर्षका पोथी गैँडा खागविहीन अवस्थामा मृत फेला परेका थिए ।

आठैजना पहिलोपटक तस्करीमा सामेल

पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार खाग बिक्री गर्न ग्राहक खोजिरहेको अवस्थामा चितवनको राप्ती नगरपालिका– ५ र ६ को क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार गत ९ मंसिरमा ६ जना चितवनको राप्ती– ६ बाट पक्राउ परेका थिए । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खाती, राप्ती– ११ थाकलटार बस्ने ४२ वर्षीय पासाङ भन्ने आइतेसिंह मोक्तान, मकवानपुरको राक्सीराङ गाउँपालिका– ९ घर भई हेटौँडा– ४ बस्ने ४४ वर्षीय शमशेर थिङ, मकवानपुरको मनहरी गाउँपालिका– ६ नयाँबस्ती बस्ने ५६ वर्षीय थिङ बाजे भन्ने गरिएको सीताराम थिङ, रोल्पाको सुनछहारी– ६ फगाम घर भई हेटौँडा– ५ बस्ने अर्जुन रोका र गोरखाको बारपाक घर भई भरतपुर महानगरपालिका– ११ लामाटोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरुङ राप्ती– ६ बाट पक्राउ परेका थिए । त्यसको दुई दिनपछि चितवनको कोराक घर भई राप्ती–११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङ्तान र मकवानपुरको मनहरी– ७ ज्यामिरे घर भई माडीको बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङ राप्ती– ५ बाट पक्राउ परेका हुन्। 

तस्करले खाल्डो खनेर मारेका गैंडा

पक्राउ पर्नेमध्ये रमेश खाती, सीताराम थिङ मुख्य योजनाकार तथा गैँडाको खाग बिक्री–वितरण गर्ने व्यक्ति रहेको पुनले बताए । खाती केही वर्षअघि पनि शंकास्पद भनेर निकुञ्जले पक्राउ गरेको थियो । तर, त्यतिखेर उनीविरूद्ध प्रमाण पुग्न सकेको थिएन । यस्तै, शमशेर थिङ, अर्जुन रोका र धनबहादुर गुरुङले खाग बिक्री–वितरणको काम गरिरहेका थिए । आइतेसिंह मोक्तान, उनबहादुर स्याङ्तान र इन्द्रबहादुर तामाङ गैँडा मार्ने सिकारी हुन् । पुनका अनुसार उक्साहटमा गैँडा मार्न उत्प्रेरित भएका थिए । 

अनुसन्धान टोलीले उनीहरूको साथबाट ४८० ग्राम र ६० ग्राम तौलको दुई थान खाग, दुई थान पल्सर मोटरसाइकलसहित १६ प्रकारका सामग्री बरामद गरेको छ । अनुसन्धानले यो घटनामा पेसेवरभन्दा पनि खाग बेच्न सक्यो भने पैसा कमाउन सकिन्छ भन्ने कुराले प्रेरित व्यक्तिहरू संलग्न रहेको देखाएको छ । यो कार्यमा संग्लन हुनुअघि उनीहरू सामान्य खेतीपाती गरेर जीविका चलाउने गरेको अहिलेसम्मको अध्ययनले देखिएको छ । 

gaida2023-11-18-06-13-07.gif'_'.2023-12-01

उनीहरूले यी दुई गैँडा पनि खाग कहाँ लगेर बेच्ने भन्ने योजनाविनै मारेका थिए । ग्राहकको खोजीमा रहेका उनीहरूसामु सिआइबीका अनुसन्धान अधिकृतहरू खाग किन्ने ग्राहक बनेर पुगेका थिए । पक्राउ परेका आठजनालाई जिल्ला अदालत चितवनबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ । निकुञ्जले ४५ दिनसम्म राखेर अनुसन्धान गर्न सक्छ । गैँडा दुर्लभ वन्यजन्तु भएका कारण मारेमा वा अंगको कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा छ ।

यस घटनामा वन तथा वातावरण मन्त्रालयले १ मंसिरमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदन सार्वजनिक नगरे पनि महानिर्देशक ढुंगानाले त्यो प्रतिवेदनमा निकुञ्जको कमजोरी, सेनाको कमजोरी, सुरक्षा व्यवस्था चुस्त कसरी गर्ने भन्ने विषयमा सुझाव आएको बताए । निकुञ्जभित्रको गस्ती प्रणालीलाई थप चुस्त बनाएर संरक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव प्रतिवेदनमा भएको उनले जानकारी दिए । 

नौ वर्षमा मरे २३४ गैँडा

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नौ वर्षमा विभिन्न कारणले नेपालमा दुई सय ३४ गैँडा मरेका छन् । चितवन, पर्सा र बर्दियामा पाइने एकसिंगे गैँडा सामान्यतया बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीको आक्रमणमा परेर मर्छन् । यसअलावा चोरी–सिकारसँगै बिरामी तथा रोगी भएर पनि गैँडा मर्ने गरेका छन् । 

खाडलमा परी, विद्युतीय करेन्ट र विष सेवन गराएर पनि तस्करले गैँडा मार्ने गर्छन् । आर्थिक वर्ष ०७२र७३ देखि हालसम्म नौ वर्षको अवधिमा दुई सय ३४ गैँडा मरेको निकुञ्जको तथ्यांक छ । आव ०७२र७३ मा १४ गैँडा मरेका छन् भने ०७३र७४ मा यो संख्या बढेर २५ पुगेको थियो । त्यस्तै, ०७४र७५ मा २६ गैँडा मर्दा ०७५र७६ मा ४३ गैँडाले ज्यान गुमाए । ०७६र७७ मा भने यो संख्या तुलनात्मक रूपमा घटेर २६ मा झरे पनि ०७७र७८ मा फेरि ३३ गैँडाले ज्यान गुमाएको तथ्यांकमा देखिन्छ । ०७८र७९ मा ३७ गैँडा मरे भने ०७९र८० मा २२ गैँडा मरेको निकुञ्जले जनाएको छ । सन् २०२१ मा गणना गर्दा नेपालमा एकसिंगे दुर्लभ गैँडाको संख्या सात सय ७५२ थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।