माईजोगमाईः इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा आगामी मंसिर २१ गते देखि २६ गते सम्म धार्मिक एव सांस्कृतिक मेला लाग्ने भएको छ ।बालाचर्तुदशीको अवसरमा नयाँबजारमा मेला लाग्ने भएको हो ।

बालाचर्तुदशीको अवसरमा बार्षिक रुपमा लाग्दै आएको मेलामा नयाँबजारको शिव मन्दिरमा आफ्ना पृतिको नाममा सतबिउ छर्ने चलन रहेको छ , सतबिउ छरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

गाउँपालिकाको रोहवरमा बजार व्यवस्थापन समिती उपाध्यक्ष पूनम गुरुङको संयोजकत्वमा २३ सदस्यीय मेला व्यवस्थापन उपसमिती गठन भएको छ । विशेष गरेर पर्यटन प्रवर्धन गर्ने हेतुले मेला लगाइने आयोजनकले जनाएको छ ।

पर्यटनको प्रचुर संभावना बोकेको माइजोगमाई गाउँपालिका भित्रका चिनारी उत्तरे पोखरी एसीयाकै पुरानो गुम्बा , थुम्केरानी रहेका छन् । थुम्केरानीबाट सूर्योदय र सूर्यास्थको दृश्यवलोकन गर्न सकिने , कुम्भकर्ण कञ्चनजंघा हिमाल लगायतको दृश्यलोकन , विश्वबाट लोपोन्मुख रेडपाण्डा , विभिन्न प्रजातिका चराहरु, जिवजन्तु अवलोकन गर्न सकिन्छ ।

नयाँबजार बसाउन योगदान दिने सन्त श्री बालागुरु, नेपालकै अग्लो गणेश , किरातको प्रथम राजा यलम्बरको प्रतिमा अवलोकन तथा शिव मन्दिर, दुर्गा मन्दिर बौद्ध गुम्बा लगायतको अवलोकन गर्न सकिन्छ ।

२०१३ सालदेखी निरंन्तर रुपमा लाग्दै आएको मेला कोरोना कहरपछी भने बन्द भएको थियो । मेलाको आकर्षणका रुपमा विभिन्न जातजातिको झाकी प्रदर्शनी , रोटेपिङ कलाकारको सांस्कृतिक प्रस्तुति समेत रहने मेला आयोजक उपसमितिका सचिव देवि अधिकारीले जानकारी दिए ।