जनकपुरधामः मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ । त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाइन्छ ।
विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत् रूपमा विवाहपञ्चमी महोत्सव समापन गरिन्छ । शनिबार जानकी मन्दिरबाट बाजगाजाका साथ हजारौँ साधुसन्तसहित मैथिली महिलाको लावालस्करले जनकपुरधामको प्रसिद्ध गङ्गासागरबाट माटो निकालेर जानकी मन्दिर लगेका थिए ।
आइतबार पुरुषोत्तम भगवान् राम र जगत्जननी सीताको डोला बिचमा स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए। दुवै कार्यक्रमको तयारी पूरा भएको वैवाहिक कार्यक्रममा भारतका अयोध्याबाट जन्तीका रूपमा आउने साधुसन्त र स्थानीय सबै क्षेत्रका व्यक्तिको व्यापक सहभागिता रहने उनले बताए ।
मिथिलाका राजा जनककी छोरी र अयोध्याका राजा दशरथका छोरा रामबिच भएको विवाहोत्सवलाई यस वर्ष अन्नको आकृति बनाएर विशेष रूपमा मनाउन लागिएको छ । जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको रामजानकीको प्रतिमा तयार पारिएको छ ।
जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्रबिघा)मा सोमबारदेखि बनाउन सुरु गरिएको सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको हो ।
१०२ क्विन्टल अन्नको प्रयोग गरिने आकलन गरिए पनि प्रतिमा निर्माणमा ९५ क्विन्टल र ११ प्रकारका अन्न प्रयोग भएका छन् । बेलाबेला प्रतिमामा अन्न थप्ने कार्य पनि जारी रहेका कारण थप अन्न प्रयोग गरिने प्रतिमा निर्माण समितिका सदस्य तथा उद्योग वाणिज्य सङ्घ जनकपुरधामका कोषाध्यक्ष परमेश्वर साहले बताए।
प्रतिमा सुरक्षामा जनकपुरधामका नगरप्रहरी खटिएका छन् भने सुरक्षा घेराभित्र रहेर तीन दिन शनिबार, आइतबार र सोमबारसम्म हेर्न पाइने छ । मङ्गलबारदेखि प्रतिमा प्रयोग भएका अन्न उठाइने छ । अन्नबाट बनाइने रामसीताको प्रतिमा हेर्नका लागि प्रत्यक्ष प्रसारणको व्यवस्था पनि गरिएको छ ।
प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाहपञ्चमीको अवसर पारेर धार्मिक ऐतिहासिक सहर जनकपुरधामलई विश्वभर चिनाउन विश्व कीर्तिमान कायम गर्न ११ प्रकारका अनाज प्रयोग गरी २१ लाख २३ हजार रुपियाँको लागतमा सो प्रतिमा बनाउन खर्च अनुमान गरिएकोे समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिए।
भारतमा बनाइएको प्रतिमाको रेकर्ड तोड्दै उक्त प्रतिमाले गिनिज बुक अफ वल्र्ड रेर्कडमा सूचीकृत गर्ने लक्ष्यका साथ यसअघि भारत उत्तर प्रदेशको अयोध्यामा प्रतिमा बनाएका कालाकारलाई नै बोलाएर जनकपुरधाममा प्रतिमा बनाइएको समितिले जनाएको छ ।
प्रमुख कलाकार सतिश गुर्जरको नेतृत्वमा प्रतिमा बनाइएको हो ।तिमाको रेकर्ड तोड्दै उक्त प्रतिमाले गिनिज बुक अफ वल्र्ड रेर्कडमा सूचीकृत गर्ने लक्ष्यका साथ यसअघि भारत उत्तर प्रदेशको अयोध्यामा प्रतिमा बनाएका कालाकारलाई नै बोलाएर जनकपुरधाममा प्रतिमा बनाइएको समितिले जनाएको छ । प्रमुख कलाकार सतिश गुर्जरको नेतृत्वमा प्रतिमा बनाइएको हो ।