इटहरीः प्रदेश सरकारबाट सुनसरीकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रुपमा प्रोत्साहन पुरस्कार पाएको इटहरीको जनता माविले ९ कोठाको साइन्स ल्याब बनाएको छ । 

पछिल्लो पाँच वर्षमा मात्र इटहरी ६ र ९ मा गरी यस स्कुलका ७ वटा भवन र ६७ वटा कोठा विस्तार गरेको विद्यालयले यो वर्ष साइन्स विषयलाई प्राथमिकता दिएर पुर्वाधार निर्माण गरिरहेको छ । सोही क्रममा इटहरी ९ मा ९ कोठाको ल्याब निर्माण गरेको हो ।

यससँगै ४०–४० जना बसेर चलाउन मिल्ने गरी दुई वटा कम्प्युटर ल्याबसमेत सञ्चालनमा ल्याएको छ । दुवै ल्याबहरु कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रयोग गर्नेछन् । विद्यालयमा हाल तीन हजार पाँच सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको संख्या निरन्तर बढ्दै गएपछि विद्यालयले पुर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ । 

यससँगै यो वर्षदेखि इटहरी वडा नं ९ मा रहेको आफ्नो ग्राउण्डलाई विद्यालय माताहत ल्याएको छ । वरपर प्रयोगविहिन भएको आफ्नो जग्गालाई पनि कम्पाउण्डभित्र ल्याइ स्तरोन्नतीको काम अघि बढाइएको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए । विद्यार्थीको संख्या बढेपछि लामो समयदेखि सार्वजनिक मेला, महोत्सवमा प्रयोग भइरहेको स्कुलको जग्गालाई अब कम्पाउण्डभित्र समेट्नुपरेको बताए । यसका साथै अगाडी बास्केटबल कोर्ट लगायत खेल पुर्वाधारहरु निर्माण गर्ने काम पनि भइरहेको छ । 

विद्यालयले नयाँ भर्नाको लागिसमेत तयारी गरेको छ । यस वर्ष ३०० जना भर्ना लिने तयारी गरिएको उनले बताए । विद्यालयले पछिल्लो पाँच वर्षमा काँचुली फेरेको छ । काशीनाथ दंगाल नेतृत्वको व्यवस्थापन समिति आएपछि विद्यालय सुनसरीमै आकर्षणको केन्द्र बनेको छ । विद्यालयको शिक्षण र व्यवस्थापन चुस्त छ भने भौतिक पूर्वाधार निर्माणका कामहरु पनि भइरहेका छन् ।

२०१३ सालमा इटहरीको दोस्रो विद्यालयका रुपमा स्वीकृति पाएको विद्यालय बिचमा वेवास्ताको शिकार बनेको थियो । विद्यार्थी संख्या घट्दै गएको र विद्यालयको साखः घट्दै गएको समयमा काशीनाथ दंगाल नेतृत्वको व्यवस्थापन समिति आएपछि विद्यालयमा सुधारका कामहरु हुन थालेका हुन् । 

विद्यालयमा नेपाली र अंग्रेजी पढाउने छुट्टै छुट्टै दुइ वटा ब्लकहरु छन् । विद्यार्थीहरुले पढ्नै पर्ने महत्वपूर्ण किताबहरु भएको पुस्तकालय, कम्प्युटर ल्याब, आफ्नै ३ वटा स्कुल बस भएको जनता माविमा शिक्षक कर्मचारी गरेर डेढ सय बढी आबद्ध छन् ।

हरेक कक्षाकोठामा सिसिटिभि क्यामेरा जडान गरिएको छ । शिक्षाको मनिटरिङ कोठाबाटै हुने गरेको प्रिन्सिपल पशुपति सिग्देल बताउँछन् । कक्षा कोठाहरुलाई स्मार्ट बनाउनेदेखि अंग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरीकै उत्कृष्ठ शिक्षकहरु नियुक्त गर्ने क्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको चाप थेगिनसक्नुले बढेको छ । 

विद्यालयमा कम्प्युटर, शिक्षा, मानविकी विज्ञान र व्यवस्थापन समूहमा पढाई हुँदै आएकोमा यस वर्षबाट कानुन विषय पनि थप गरिएको सिग्देलले जानकारी दिए । 

अध्यक्ष दंगालले भने विद्यालयका शिक्षकहरु, व्यवस्थापन समितिका बाँकी सदस्यहरु, अविभावकहरु र स्थानीय राजनीतिक दलका नेतृत्वहरु सबैको साथ सहयोगका कारण यो उपलब्धी पाएको बताएका छन् । उनले विद्यालयलाई प्रदेशकै अब्बल बनाउने प्रयासमा आफूहरु रहेको पनि बताएका छन् ।

विद्यालयमा भौतिक पुर्वाधार निर्माणदेखि शिक्षणको गुणस्तर सुधारका कामलाई पनि प्राथमिकता दिएकोले विद्यालय आकर्षणको केन्द्र बनेको विद्यालय व्यवस्थापन समितिका शिवराज दाहालले जानकारी दिए । उनले सबै राजनीतिक दल तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने भावनाका साथ एकजुट भएकोले विद्यालय उत्कृष्ठ बनेको बताएका छन् । उनले विद्यार्थी संख्यालाई थेग्नको लागि अझै पनि भवनलगायतको पुर्वाधारको आवश्यक्ता रहेको बताए ।

पर्याप्त सरकारी सहयोग भएर पनि मुर्झाउँदै आएका देशभरका सामुदायिक विद्यालयहरुको लागि जनता विद्यालयको यो प्रगतीले उत्साहित बनाएको छ । विद्यार्थी र अविभावकमा आकर्षण बढेको छ । इटहरी र आसपासका राम्रा शिक्षकहरुलाई नियुक्ति दिएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दंगाल बताउँछन् । विद्यालयलाई बनाउँ भन्ने भावनाले शिक्षकहरुले पनि काम गरिरहेको उनले बताए । 

विद्यालयले एसइइ परिक्षामा समेत राम्रो नतिजा ल्याइरहेको छ । गत वर्षको एसईई परीक्षामा सहभागि २९९ विद्यार्थीमध्ये ११ जनाले ९० प्रतिशत भन्दा धेरै, ७२ जनाले ८० देखि ९० प्रतिशत, ९२ जनाले ७० देखि ८० प्रतिशत, ७७ जनाले ६० देखि ७० प्रतिशत र बाँकी सबैले ५० प्रतिशत भन्दा माथि अंक ल्याएका थिए । 

प्रत्येक वर्ष थप कक्षा र विषयहरु राखेर विद्यार्थीहरुलाई व्यवहारिक र उपयोगि शिक्षा दिन आफूहरु अग्रसर बनेको उनले बताएका छन् । उनले गरीब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको जानकारी दिएका छन् ।