विराटनगरः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ युवा समालोचक, अनुवादक, कवि एवं आख्यानकार महेश पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले पहिलो पटक पौडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सुदीश निरौला ट्रष्टका संस्थापक टेकमाया निरौलाका अनुसार पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । पौडेलका ३ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

टेकमायाका दिवङ्गत छोरा सुदीशका नाममा उक्त पुरस्कार स्थापना गरिएको हो । सुदीशको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । इञ्जिनियर निरौला साहित्यप्रति रुचि राख्थे । पुरस्कार आगामी माघ ६ गते विराटनगरमा प्रदान गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले बताए ।