इटहरी/ इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा नियम मिचेर कर्मचारी नियुक्ति गरिएको छ । एक जना कर्मचारी नियुक्ति गर्ने सूचना निकालेर विज्ञापन खोलिएको पुस्तकालय सहायकका लागि २ जना नियुक्त गरिएको हो ।
नियुक्ति पाउनेमा सृष्टि भट्टराई र शारदा पोखरेल रहेका छन् । सृष्टि पदपूर्ति संयोजक, इटहरी उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष समेत रहेका तथा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्र भट्टराईकी छोरी हुन् । त्यस्तै शारदा व्यवस्थापन समिति सदस्य, पदपूर्ति समिति सदस्य तथा नेविसंघका केन्द्रीय उपाध्यक्ष विकास केसीकी श्रीमती हुन ।
१ जनाको पदपूर्ति रिक्त भनेर सूचना प्रकाशित गरिए पनि २ जना नियुक्त गरिएपछि क्याम्पस व्यवस्थापनकै केही सदस्य तथा विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । सञ्चालक समितिकै आफ्ना मान्छेलाई जागिर लगाएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
सञ्चालक समितिकै एक सदस्यले नाम नखुलाउने शर्तमा भने, ‘यहाँ नातावाद र कृपावाद मात्रै चल्छ, विपन्न वर्गका मानिसका लागि ठाउँ छैन । त्यसो त लिखित परीक्षामा इटहरी ५ की पवित्रा दर्नालले एक नम्बरमा नाम निकालेकी थिइन् । उनलाई अन्तर्वार्तामा नाम ननिस्किएको भनेर वैकल्पिकमा राखिएको छ । ३० जना लिखित परीक्षामा समावेश भए पनि ५ जनाको लिखितमा नाम निस्किएको थियो । जसमध्ये पवित्राको एक नम्बरमा नाम थियो । तर, सञ्चालक समितिको निर्णय र अन्तर्वार्ताले सृष्टि र शारदालाई नियुक्त गरेको हो ।
पवित्राका एक आफन्तले भने, ‘सूचनामा १ जना भनेर उल्लेख गरिएको छ, तर २ जना नियुक्त गरियो । हामीजस्ता गरीबको कुनै ठाउँमा सोर्स लाग्दैन, क्षमता भए पनि पहुँचका भरमा मात्रै जागिरमा लगाइन्छ ।’
जागिर लगाउने विषयमा विवाद हुँदा अन्तर्वार्ता नै तोकिएको मितिमा हुन सकेको थिएन । ०७४ पुस २३ गते विज्ञापन खुलाएको कलेजले वैशाख ८ गते लिखित परीक्षा लिएको थियो । असार २ गते शनिबार क्याम्पस व्यवस्थापनको बैठकले असार १६ गते मौखिक अन्तर्वार्ता लिने सूचना जारी गरेको थियो । तर, असार १६ गते व्यवस्थापन समितिको वैठक बस्न नसकेपछि असार २३ गतेका लागि मौखिक परीक्षा लिने सूचना जारी भयो ।
असार २३ गतेको उक्त मौखिक अन्तर्वार्ताका लागि पवित्रा दर्नाल, रिना भट्टराई आचार्य, शारदा पोखरेल, सृष्टि भट्टराई र सञ्जीवकुमार दाहाल रहेका थिए । उक्त प्रकाशित सूचनामा पुस्तकालय सहायक अस्थायी पद संख्या एक रहेको छ । तर, सृष्टि भट्टराई र शारदा पोखरेललाई नियुक्ति गरिएको पाइएपछि अन्य प्रतिष्पर्धीले आपत्ति जनाएका छन् ।
असार ३२ गते बसेको व्यवस्थापन समितिको बैठकले नियुक्त दिने गरी अनुमोदन गरेको सूचनामा एक नम्बरमा सृष्टि भट्टराई र दुई नम्बरमा शारदा पोखरेल रहेका छन् भने वैकल्पिकमा पवित्रा दर्नाल रहेकी छिन् ।
यस विषयमा पदपूर्ति संयोजक तथा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्र भट्टराईले एक जनाको विज्ञापन गरिएको र पछि क्याम्पसमा अर्को पनि कर्मचारी चाहिने भएकाले २ जना कर्मचारी राखेको बताए । उनले भने, ‘लोकसेवा आयोगले पनि २० जनाको सूचना निकाल्छ, तर, पछि अन्य मानिस पनि राख्छ’, भने, ‘यहाँ स्थायी कर्मचारी राखिएको पनि होइन, अस्थायी हो । विधान विपरीत राखिएको छैन क्याम्पसले राख्न नमिल्ने भन्ने पनि छैन क्याम्पसको आफ्नै विधान छ ।’
एक जनाको आवश्यकता भनी सूचना प्रकाशित गरेर दुई जना नियुक्त गरिएकोमा कुनै विधानले नछेक्ने उनको जिकिर थियो । ‘एउटा दरबन्दी खाली थियो, पछि अर्को दरबन्दी आवश्यक प¥यो, सञ्चालक समितिले त्यसको सिर्जना ग¥यो । पदपूर्ति समितिले आवश्यक छ÷छैन भन्ने अध्ययन ग¥यो र, आवश्यक भएकाले २ जना नियुक्ति गरियो’ उनले भने, ‘२२ जनाको सञ्चालक समितिमा १९ जना उपस्थिति रहेर नियुक्ति गरिएको हो, के आपत्ति भयो ?’
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विश्व रिजालले २ जना कर्मचारी चाहिने भएकाले दरबन्दी निकालेर क्याम्पसकै विधानअनुसार नियुक्ति गरिएको बताए । उनले भने, ‘६ महिना परीक्षण काल भनेर नियुक्ति पत्र दिइएको छ, पछि सञ्चालक समितिलाई चित्त नबुझेको खण्डमा दुवै जनाको नियुक्ति रद्द पनि गर्न सकिन्छ ।’
क्याम्पसको पुस्तकालय सहायकमा २ जना नियुक्त गरिए पनि कार्यालय सहयोगीमा १ जना नियुक्त गरिएको छ । कार्यालय सहयोगीमा अनु तामाङ नियुक्त भएकी छिन् ।



















