झापाः  कोशी जलाधार क्षेत्रका ४२ वटा हिमताल विस्फोटनको जोखिममा रहेको विपद् व्यवस्थापन समिति कोशीले जनाएको छ । कोशी जलाधार क्षेत्रका तल्लो बरुण, हुङ्गुट, लुमदिङ्ग च्छो लगायतका हिमताल विष्फोटनको उच्च जोखिममा छन् ।  

समितिले हालै कार्यान्वयनमा ल्याएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’मा विष्फोटनको उच्च जोखिममा रहेका हिमतालहरुको आँकलन गरिएको छ । 

समितिका सदस्य यशप्रसाद सुब्बाका अनुसार अरुण नदीको जलाधार क्षेत्रमा सबैभन्दा बढी १७ वटा हिमताल फुट्ने उच्च जोखिम रहेको छ । जसमध्ये नेपालतर्फ चार वटा र तिब्बततर्फ १३ वटा हिमतालहरु पहिचान भइसकेको उनले बताए । 

इसिमोड नामक संस्थाले विष्फोटनको उच्च जोखिममा रहेका हिमतालहरुको अध्ययन गरेको जनाउँदै उनले ठूला नदीहरुमा आकस्मिक बाढी आउने एउटा कारण हिमतालको विष्फोटन रहेको जानकारी दिए ।

नदी जलाधार क्षेत्रहरुमध्ये दूधकोशीमा नौ, तामाकोशीमा आठ र सुनकोशीमा चार वटा हिमताल फुट्ने उच्च जोखिममा रहेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’मा उल्लेख गरिएको छ ।

यसैगरी,  इसिमोडको अध्ययन अनुसार तमोर जलाधार क्षेत्रमा चार वटा हिमताल विष्फोटनको उच्च जोखिममा रहेका छन् । विश्वमा बढ्दो तापक्रमका कारण भइरहेका जलवायु परिवर्तन नै हिमतालहरु फुट्ने जोखिमको मुख्य कारण भएको विपद् विज्ञ एवम् विपद् व्यवस्थापन समिति कोशीका सदस्य सुब्बाले बताए। कोशीमा आउने गरेको आकस्मिक एवम् ठूलो बाढीको कारण हिमताल विस्फोट नै रहेको जनाइएको छ । 

नेपालका पहाडहरु ५० लाख बर्ष अघि निर्माण भएको संसारकै कान्छा पहाड मानिन्छन् । चुरे क्षेत्रको पहाड अझ कम उमेरका अर्थात् १० देखि २० लाख वर्ष मात्रै पुराना मानिएको छ । युरेसियन र इन्डियन प्लेटको टक्करले गर्दा यो क्षेत्र उचालिदै गएको र त्यसबाट भिराला पहाड बढ्दै जाने विज्ञहरुले बताउने गरेका छन् ।

हिमताल विष्फोटनको जोखिम मनसुन सुरु भएपछि असोजसम्म रहने बताइन्छ । सम्भावित भूकम्पले पनि हिमाताल विष्फोटनको जोखिम निम्त्याउने गर्छ ।

विसं २०७३ असार २१ गते हिमतालको बाँध भत्किएर भोटेकोशीमा भीषण बाढी आएको थियो भने २०७४ बैशाख ७ गते हिमताल फुट्दा बरुण नदीको पानीले अरुण नदी थुनिएको थियो । २०७९ मा सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको दुई हजार ५०० घरधुरीलाई प्रभावित बनाएको थियो ।