इटहरीः प्रदेश नम्बर १ को सरकारले उत्तरी मोरङको पथरीमा सांस्कृतिक ग्राम निर्माण गर्ने भएको छ । पुस २३ गते प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी ग्राम निर्माण गर्न लागेको हो ।

मन्त्री जीवन घिमिरेले अगुवाइ गरेको सांस्कृतिक ग्राम निर्माणको लागि १७ सदस्यीय कार्यदलको निर्माण गरिएको बताइएको छ ।

मोरङका पूर्व सांसद चण्डीप्रसाद राईको संयोजकत्वमा बनेको १७ सदस्यीय कार्यदलमा मोरङ, सुनसरी, झापा र धनकुटाबाट सदस्यको मनोनयन गरिएको छ ।

मोरङबाट संयोग राई, प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडा, प्राध्यापक डाक्टर सनद बराल, कृष्ण आचार्य, गीता अधिकारी, टङ्क भण्डारी, इरान राई, मोहन तुम्बापो, मृत्युञ्जय झा र मनोज अधिकारी चयन भएका छन् । सुनसरीबाट प्राध्यापक डाक्टर भीमप्रसाद खतिवडा, मोहन तिम्सिना र विक्रमश्रि रहेका छन् ।

यस्तै, झापाबाट सौरभ मैनाली र होमनाथ अधिकारी छन् भने धनकुटाबाट मुकुन्द प्रयास छन् । मन्त्रालयको तर्फबाट भने एक जना सदस्य सचिव रहेका छन् ।

यस्तो छ कार्यदलको ११बुँदे कार्यविवरण
२३ गते गठन भएको कार्यदलले पथरी शनिश्चरेमा रहेको भुटानी शरणार्थी क्षेत्रमा बन्ने सांस्कृतिक ग्रामको कार्यदललाई विभिन्न ११ कार्यविवरणमा समेटेको छ । यस्ता छन् ११ कार्यविवरणः
१. सांस्कृतिक ग्राम निर्माणको डीपीआर तयार गर्दा ध्यान पुर्याउनुपर्ने पक्षहरू सिफारिश गर्ने
२. सांस्कृतिक ग्राममा राख्न उपयुक्त हुने वस्तु तथा सामग्रीको सूची तयार गर्ने
३. सांस्कृतिक ग्रामको सङ्गठन संरचना तथा कार्यविवरण तयार गर्ने
४. सांस्कृतिक ग्रामको लागि आवश्यक पर्ने जनशक्ति र पूर्वाधारको प्रक्षेपण गर्ने
५. सांस्कृतिक ग्रामको दिगोपनाको उपाय सिफारिश गर्ने
६. सांस्कृतिक ग्रामको स्थापनापछि स्थानीय समुदायमा पर्ने सकारात्मक प्रभावको प्रक्षेपण गर्ने
७. सांस्कृतिक ग्रामको स्थापनापछि आउन सक्ने सम्भावित चुनौती र जोखिमको अनुमान गरी अपनाउनुपर्ने सजकताको सिफारिश गर्ने
८. सांस्कृतिक ग्राममा हिमाल, पहाड र तराईको जनजीवन झल्कने ब्लकहरू कसरी बनाउन उपयुक्त हुन्छ भनी सिफारिश गर्ने
९. सांस्कृतिक ग्राममा कृत्रिम पहाडसहितको पाथीभरा, कृत्रिम सुरुङ सहितको हलेसी, वराहक्षेत्र जस्ता धार्मिक पहिचान झल्कने स्थानको निर्माण र सञ्चालनको बारेमा सिफारिश गर्ने
१०. सांस्कृतिक ग्रामलाई पर्यटन सूचना केन्द्रको रूपमा विकास गर्न गरिनुपर्ने सम्भावित कार्य सिफारिश गर्ने
११. सांस्कृतिक ग्रामलाई महत्वपूर्ण भूमिका खेल्न थप सुझावसमेत दिने