इटहरीः इटहरीमा बिगत लामो समयदेखि नेपालको कानूनले अबैध मानेको डिजिटल पैसाको कारोबार गर्ने अनलाइन साइट वान एक्स बेटको अवैध धन्दा निकै फष्टाएको छ । 

लामो समयदेखि इटहरीमा बस्ने एजेन्टहरुले यसको अबैध कारोवार गरेपनि प्रहरी बेखबर झै बनेको हो । 

यी एजेन्टहरुले इटहरीमा क्रिकेटको आइपिएल, फुटबल विश्वस्तरीय प्रतियोगिताहरुमा डिजिटल प्लेटफर्ममार्फत् अवैध जुवा खेल्नेहरुका लागि विदेशी डलर लोड गर्दै कृप्टो बाइनन्समा हाल्दै खेल्दै आएको स्रोतले जनाएको छ । 

हाल चलिरहेको कोपा अमेरिका कप २०२४का फुटबल प्रतियोगिताहरुमा अनलाइन जुवाका रुपमा रहेको सो अबैध कारोवार इटहरीमा निकै फष्टाएको बुझिएको छ । 

इटहरीबाट मात्रै दैनिक जसो ६० लाख बराबरको यस्तो कारोबार हुने गरेको एक उच्च स्रोतले दावी गरेको छ । नेपालभरीबाट करिब ८ करोड बराबरको दैनिक कारोबार हुने गरेको बताइएको छ । यस्ता जुवाजन्य खेलमार्फत पैसा विदेशिएकाले पनि नेपालमा पैसाको अभाव भएको सो स्रोतको भनाई छ ।