इटहरीः इटहरी उपमहानगरपालिकाको बजेटको बिषयलाई लिएर नेकपा एमाले इटहरीमा विभाजन आएको छ । 

असार १० गते इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिवस पोख्रेलले प्रस्तुत गरेको आर्थिक बर्ष २०८१/२०८२ बजेट पास गर्ने बिषयमा विवाद सृजना भएको थियो ।

उपमेयर संगीता चौधरी लगायतले इटहरी उपमहानगरपालिकाका बहुमत सदस्य रहेका एमालेका जनप्रतिनिधिहरुले बजेट पासका लागि राखिएको नगरसभा पटक पटक बहिष्कार गरेका थिए । मेयर हेमकर्ण पौडेलले आम्दानीको श्रोतको निश्चितता नगरि हावाका भरमा बजेट ल्याएकाले बजेटको आकार घटनाउनु पर्ने माग राखी नगरसभामा सहभागी भएका थिएनन् । 

तर,सोमबार(असार ३१ गते) बसेको नगरसभामा भने एमालेबाट निर्वाचित ५ वटा वडा बाहेका १० वटा वडाका अध्यक्ष र केही सदस्यहरु सहभागी भएपछि दिवस पोख्रेलले असार १० गते प्रस्तुत गरेको ३ अर्ब ५७ करोडकै बजेट बहुमत सदस्यले पारित गरेका छन् ।

सोमबार बसेको नगरसभामा उपमेयर चौधरी सहित ५ वटा वडा अध्यक्ष र केही वडा सदस्यहरु सहभागी भएनन् । 

नेकपा एमाले इटहरी नगर किमिटीले यथास्थितीमा बजेट पास गर्न सकिने अवस्था नरहेकाले नगरसभामा सहभागी नहुन इटहरी सरकारमा सहभागी आफ्ना जनप्रतिनिधिहरुलाई निर्देशन दिएपनि अटेर गरी सहभागी भएपछि एमाले दुई भागमा विभाजन भएको हो । एमालेका केन्द्रिय तहका नेता जगदिश कुसियत र तैयब हुसेनको निर्देशनमा इटहरी उपमहानगरका नेतृत्वलाई माइनस गरी उनीहरु नगरसभामा सहभागी भएका थिए । 

नेकपा एमाले इटहरी उपमहानगरका अध्यक्ष रुपेश बस्नेतलाई पार्टीका केन्द्रिय नेता कुसियतले फोनमा कार्वाही गर्नेसम्मको धम्की दिएका थिए । बस्नेतले पनि पत्रकारसम्मेलन गरी नगरमा केन्द्रिय नेताहरुले हस्तक्षेप गरी काम गर्न नदिएको प्रमाण सहित जानकारी दिई राजीनामा दिने भनेपछि कुसियत हच्किएका थिए । 

बजेट पेश भएका दिनदेखि निरन्तर यथास्थितीमै पास गर्न नहुने बिषयमा लागेपनि अन्तिम समयमा आएर केन्द्रका नेताहरुको अनावश्यक हस्तक्षेपका कारण केही जनप्रतिनिधिहरुलाई रोक्न नसकेको नेकपा एमाले इटहरी नगरमा अध्यक्ष रुपेश बस्नेतले जानकारी दिए । 

पार्टीलाई कमजोर बनाएर निहित स्वार्थका लागि सोमबार बजेट पास गर्ने बिषयमा हाम्रा जनप्रतिनिधिहरुले जस्तो भूमिका खेल्नुभयो । यसले आफु र पार्टीले गम्भिर रुपमा लिएको बस्नेतले बताए । यो बिषयमा तत्कालै पार्टीको नगरकमिटीको बैंठक राखी छलफल गरिने अध्यक्ष बस्नेतको भनाई छ । 

अध्यक्ष बस्नेतका अनुसार केही समयअघि मेयर हेमकर्ण पौडेलले केही मिडिया मार्फत सार्वजनिक रुपमै एमालेका जनप्रतिनिधिहरुले व्यक्तिगत स्वार्थ र फाइदाका लागि बार्गेनिङ्ग गरेको भन्ने आरोपलाई सोमबार नगरसभामा सहभागी भएर पार्टीका तर्फबाट सहभागी जनप्रतिनिधिहरुले प्रमाणित नै गराएका छन । यस खालको कार्यले बहुमत सदस्य संख्या इटहरी सरकारमा पार्टी सहभागीता भएता पनि कमजोर हुने र बर्षेनी यसरी नै मेयर स्वच्छचारी हुँदै जाने देखिएको अध्यक्ष बस्नेतले बताए । 

उनले सोमबारको नगरसभामा बजेट खर्च गर्ने बिषयमा केही नीतिगत बिषयहरु भने पेश गरिएको बताए । कानुन नै किर्ते गर्ने मेयरबाट त्यसरी पेश गरिएका नीतिगत कुराहरुलाई कार्यन्वयन गर्ने नगर्ने शंका भने कायमै रहेको अध्यक्ष बस्नेतले बताए । 

सोमबारको नगरसभामा पार्टीको इटहरी नगरको नेतृत्वलाई माइनस गरी जनप्रतिनिधिहरु सहभागी भई बहुमतले बजेट पास गरेपछि एमालेका युवा नेताहरुले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखि विरोध जनाएका छन् । उनीहरुले सोमबारको घटनाका बारेमा जनप्रतिनिधिहरुले पार्टी र नगरबासीलाई जवाफ दिनु पर्ने नत्र परिणाम राम्रो नहुने चेतावनी पनि दिएका छन् ।