ताप्लेजुङः प्रशिद्ध धार्मिक तिर्थस्थल ताप्लेजुङको  पाथीभरा (मुक्कुमलुङ) क्षेत्र अब कोशी प्रदेश अन्तर्गत रहने भएको छ ।यसअघि यो क्षेत्र संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको थियो । 

धार्मिक पर्यटकियस्थलको रुपमा रहेको पाथीभरा कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अन्तर्गत रहने भएको हो । प्रदेश अन्तर्गत आएपछि सामाजिक विकास मन्त्रालयले गठन आदेश २०८१ जारी गरेको छ । नयाँ जारी गरिएको गठन आदेशमा पाथीभरा क्षेत्रको पूर्वमा सिररिजंगा गाउँपालिकाको हर्कटे डाँडा भित्र पारी फुङलिङ नगरपालिकाको फाबाखोला सिम्बुसम्मको भाग,पश्चिममा फक्ताङलुङ गाउँपालिकाको लिङखिम र तापेथोक,उत्तरमा फक्ताङलुङ गाउँपालिकाको वडा नं ४ र सिरजंगा गाउँपालिकाको वडा नं ३ र ६ र दक्षिणमा फङलिङ नगरपालिका वडा नं १०,९ र ६ क्रमशः गडीडाँडा,देउराली र सुकेटारको सानो पाथीभरा क्षेत्र र पाथीभरा याङबरक गाउँपालिकाको वडा नं ३ दुधिले पश्चिम फुङलिङ नगरपालिकाको सिमानाको सम्पूर्ण भागलार्ई चार किल्ला मानिएको छ । 

यता गठन आदेशमा उल्लेख भएअनुसार अध्यक्ष सहीत एक महिला सहितका तीन जना सदस्य प्रदेश सरकारले चयन गर्नेछ । अध्यक्ष र सदस्यको गठन आदेशको परिच्छेद २ (४) मा रहेको अध्यक्ष र सदस्यको योग्यतामा ‘प्रचलित कानुन बमोजिम अयोग्य नभएको र कम्तीमा ३५ वर्ष पूरा भई धर्म, संस्कृति एवं पर्यटन क्षेत्रमा अनुभव भएको नेपाली नागरिक हुनुपर्ने’ उल्लेख छ ।

यो समितिमा ताप्लेजुङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद पदेन सदस्य हुने छन् । जिल्ला समन्वय समिति प्रमुख, पाथीभरासँग जोडिएका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, मालपोत, नापी, डिभिजन वन, पूर्वाधार विकासका प्रमुख र प्रदेशको सामाजिक विकास मन्त्रालयले तोकेको व्यक्ति पदेन सदस्य रहने व्यवस्था गरिएको छ भने कार्यकारी निर्देशक भने ३५ पूरा भई ६० वर्ष ननाघेको र स्नातक तह उत्तीर्ण हुनुपर्ने उल्लेख छ ।