काठमाडौंः बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेस गोकर्णेश्वर नगर समिति वडा नम्बर ८ एकाइ कार्य समितिले शनिवार जोरपाटीस्थित बेशीगाउँमा आयोजित कार्यक्रममा उनले काठमाडौँ उपत्यकामा पशुपतिनाथपछि धेरै धार्मिक पर्यटक आउने र पुरातात्त्विक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गर्न प्रदेश मन्त्रालयले पहल गर्ने जानकारी दिए।
पशुपतिनाथमा श्रीयन्त्रको पूजा, आराधना र गोकर्णेश्वरमा बालयन्त्रको पूजा, आराधना हुने भएकाले उत्तिकै महत्वको मानिने उनको भनाइ थियो । गोकर्णेश्वर महादेव मन्दिरका माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पनि काम गर्ने मन्त्री ठकुरीको प्रतिबद्धता थियो । सहकारी क्षेत्रमा आइपरेको समस्या समाधानका लागि पनि प्रदेश मन्त्रालयका तर्फबाट सक्दो सहयोग गरिने उनको भनाइ छ ।
कार्यक्रममा प्रतिनिधि सभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले आफू गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख भएदेखि नै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक विकासका लागि काम गरेकाले यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गरिनुपर्नेमा जोड दिए। केन्द्र, प्रदेश र स्थानीय तह मिलेर संस्थागत विकासमा काम गर्नुपर्नेमा उनले जोड दिए।
सहकारी क्षेत्रमा आएको समस्याका कारण अर्थतन्त्र नै सङ्कटमा परेकाले समस्या समाधानमा प्रदेश सरकारले पनि पहल गर्नुपर्नेमा सभापति चालिसेले जोड दिए। गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वर महादेव मन्दिरसँगै नगर क्षेत्रका सांस्कृतिक सम्पदाको विकासमा काम गरिरहेको बताए। बागमती नदीको उद्गमस्थल बाग्द्वारबाट गोकर्णेश्वर महादेवमन्दिरसम्मको क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरिनुपर्ने उनको भनाइ थियो । रासस