वीरगञ्जः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्र नेपाली अर्थतन्त्रको प्रमुख मेरुदण्ड भएको हुँदा कृषिमा प्रविधिको प्रयोग गरी व्यवसायीकरण गर्न सरकार लागि परेको बताएका छन् ।

मन्त्री अधिकारीको नेतृत्वमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वीरगन्ज आएको टोलीले मंगलबार कृषि औजार कारखानाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो ।

अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री अधिकारीले लामो समयदेखि बन्द रहेको कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार लागिपरेको बताए ।

उनले कारखाना सञ्चालनका लागि आवश्यक पर्ने बजेट, भौतिक संरचना, जनशक्तिका सम्बन्धमा जानकारी लिन आफूहरू बीरगंज आएको बताए।

उनले मन्त्रालयमा पुग्नासाथ छलफल गरी कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक पर्ने बजेटका सम्बन्धमा सरकारलाई राय पेश गरिने जानकारी दिँदै राष्ट्रिय आविष्कार केन्द्रको समन्वयमा कारखाना सञ्चालनमा आउने बताए ।

मन्त्री अधिकारीले कुल जनसङ्ख्याको ६० प्रतिशत रोजगारीको अवसर कृषि क्षेत्रले प्रदान गर्ने हुँदा कृषि क्षेत्रको विकासबाट मात्रै राष्ट्रिय अर्थतन्त्रलाई माथि उकास्न सकिने दाबी गरे ।

कृषिमन्त्री-अधिकारीद्वारा-कृषि-औजार-कारखानाको-अनुगमन-1

उनले देशको आवश्यकता र सम्भाव्यता अनुरूप कृषि विकाससम्बन्धी नीति तर्जुमा एवं कार्यान्वयन गर्न मन्त्रालय सधैँ तत्पर रहेको बताउँदै व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवं दिगो आर्थिक वृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान पुर्‍याउन सकिने कुरामा जोड दिए ।

सो अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले कारखानाको स्थलगत अनुगमनका लागि आएका कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारी, मन्त्रालयका सचिव डा. दिपक कुमार खराल सहितको टोलीलाई स्वागत गरेका थिए ।

आविष्कार केन्द्रका संस्थापक पुनले कृषि औजार कारखाना सञ्चालनका लागि तत्काल १५र२० करोड रुपैयाँको आवश्यकता रहेको र बजेट भएमा कारखाना सञ्चालन गरी पहिलो चरणमा ३ सय जनालाई रोजगार दिन सकिने समेत दाबी गरे ।

हाल वीरगन्जस्थित कृषि औजार कारखानाले कृषि क्षेत्रमा आवश्यक २० प्रकारका औजार तथा उपकरणहरुको परिक्षण उत्पादन गरिसकेको छ । बजेटको अभाव हुँदा सञ्चालन हुन नसकेको कारखानालाई यथास्थितिमै सञ्चालन गर्न सके पनि भारत र चीनबाट आयात गरिने कृषि औजार मध्ये ५र६ प्रतिशतमा कमी आउने आविष्कार केन्द्रका पुनले दाबी गरे ।

मन्त्रालयबाट आएको टोलीलाई कारखानाको वर्तमान अवस्थाका बारेमा कारखाना सञ्चालक समितिका संयोजक तथा वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले जानकारी गराएका थिए ।