काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको सहभागीता विना मन्त्रालय अधुरो हुने भएकाले पर्यटन नीति परिर्वतन गर्नुअघि निजी क्षेत्रसँग बृहत्त गोलमेच सम्मेलन गर्ने बताएका छन् ।
उनले आफुले मन्त्रालयको जिम्मेवारी लिएपछि पर्यटन नीति परिवर्तनका लागि अध्ययन र छलफल गरिरहेको जनाए । अब सरकार पर्यटन नीति परिमार्जनको संघारमा रहेको उनले जानकारी दिए ।
सोमवार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६ औं साधरण सभामा प्रमुख अतिथिका तर्फबाट बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले संस्कृति नीति, हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको भन्दै त्यसमा निजी क्षेत्रले आवश्यक सुझाव दिन आग्रह गरे । उनले पर्यटन मन्त्रालय सरकारले मात्रै चलाउन असम्भव रहेको पनि बताए ।
उन भने, ‘निजी क्षेत्रले काम गर्दा सरकारले बनाएका नीतिमा भएका समस्यालाई परिमार्जन गर्न सहयोग गर्नुस् । सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा छ । संस्कृति नीति,हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको छ । त्यसमा पनि निजी क्षेत्रका सुझावहरु आउन् । ’
उनले पर्यटन मन्त्रालय भूमिका, कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव रहेको बताए । उनले पर्यटन क्षेत्रका चुनौती समाधानको लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशिलताको आवश्यक रहेको बताए ।
उनले निजी क्षेत्रको सक्रियता बिना मुलुकको पर्यटन क्षेत्रको विकास नहुने उल्लेख गरे । उनले मन्त्रालयलाई पर्यटन क्षेत्रका काम गर्ने टान लगायतका संस्थासँग निरन्तर पर्यटन संवाद गर्ने वातावरण बनाउने बताए । मन्त्री पाण्डेलले मन्त्रालयले निजी क्षेत्रसँग निरन्तर सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्ने अघि बढाउने प्रतिवद्धता जनाए ।
उनले भने,‘संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मन्त्रालय होइन । निजी क्षेत्रको पनि मन्त्रालय हो । भूमिका, कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव छ । निजी क्षेत्रको प्रोएक्टिभ ढङ्गले अग्रसरताका साथ यो मन्त्रालय मेरो पनि हो भन्ने भावना नराख्ने हो भने हाम्रो मन्त्रालय चल्दैन । ’
उनले सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा रहेकाले त्यसअघि टान जस्ता पर्यटन विकास लागेका संघ संस्थाका जिम्मेवार अधिकारी र व्यवसायीसँग गोलमेच नै गर्ने बताए ।
अहिलेको सरकारले पनि रफ्तार समाउन सकेनःराज्यमन्त्री चौधरी
टानको ४६ औं साधारणसभामा बोल्दै पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले अहिलेको सरकारले पनि रफ्तार समाउन नसकेको बताएका छन् । पर्यटनमन्त्री मन्त्रालय सम्हालेको ५० दिनसम्म पनि अध्ययनमा नै रहेकाले केही काम हुन नसकेको उनले बताए । उनले मन्त्रीहरु ५० दिनसम्म अध्ययन मात्रै गरेर बस्दा प्रधानमन्त्रीले सोचे जस्तो काम हुन नसकेको बताए ।
उनले सरकार गठन भएको एक महिना भन्दा बढी हुँदा पनि सरकारका मन्त्रीहरुले भने जस्तो काम गर्न सकेको स्वीकार गरे । उनले सबै मन्त्रीहरुले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने,‘सरकार अहिले पनि रफ्तार समाउन सकेको छैन । सरकार गठन भएको एक महिना भन्दा बढी हुँदा पनि सरकारका मन्त्रीहरुले भने जस्तो काम गर्न सकेका छैनन् । सबै मन्त्रीहरुले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता छ । पर्यटन क्षेत्रले नै मुलुकमा युवाहरुलाई रोक्न सक्छ ।’
उनले पछिल्लो समय विदेश पलायन भइरहेका युवालाई रोक्नको लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताए ।
पर्यटनमा बजेट निकै कमः सांसद राजेन्द्र बजगाई
कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिनिधसभाका सदस्य राजेन्द्र बजगाईले नीति तथा कार्यक्रममा प्राथमितामा राखेपनि पर्यटन क्षेत्रका लागि बजेट भने निकै कम विनियोजन गरिएको बताएका छन् ।
‘सकारले लामो समयदेखि तीन वटा क्षेत्रलाई प्राथमिकता दिने गरेको भए पनि बजेट भने निकै कम हुने गरेको उनको भनाइ छ । सरकारले पहिलेदेखि नै कृषि पर्यटन र जलविद्युतलाई प्राथमिकता दिने गरेको छ । तर बजेट निकै कम छ,’ उनले भने । चालु आर्थिक वर्षको बजेट पनि पर्यटन क्षेत्रमा निकै कम हरेको उनले बताए । जम्मा बजेटको ०।१७ प्रतिशत मात्रै बजेट पर्यटन क्षेत्रमा छुट्याइएको उनले बताए । चालु आर्थिक वर्षको बजेटमा १ अर्ब ६७ करोड मात्रै बजेट राखिएको उनको भनाइ छ ।
टिकट पनि निकै महँगो बनाएका कारण पनि पर्यटक आउनका लागि समस्या भएको बजगाईको भनाइ छ । टानको पूर्वमहासचिव समेत रहेका बजगाईले हवाइ टिकटमा भ्याट लगाएकाले टिकट महँगो भएको बताए ।
सरकारी स्वामित्वको नेपाल एरयरलाइन्स पनि ग्राउन्डेट भएको अवस्थालाई पनि सरकारले सहज बनाउनु पर्ने उनको भनाइ थियो । हप्ताकै २८ वटा उडान कतार गर्न सकेको खण्डमा पनि धेरै सहज हुने अवस्था भए पनि अहिले एउटा विमानले मात्रै उडान गर्नु निकै दुःखत भएको उनले बताए ।
मलेसियाले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर ६० प्रतिशत बजेट छुट्याएको भन्दै नेपाल सरकारले पनि त्यस विषयमा सोच्नुपर्ने उनको भनाइ छ ।
पर्यटक क्षेत्रले लाखौंलाई रोजगारी दिन सक्छः पूर्वअध्यक्ष रमेश धमला
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पूर्वअध्यक्ष रमेश धमलाले नेपालको पर्यटन क्षेत्रले १० औँ लाखलाई राजगारी दिन सक्ने बताएका छन् ।
रोजगारीका लागि विदेश गइरहेको अवस्थामा नेपालमा नै रोजगारी पाउन सक्ने क्षेत्रलाई राज्यले ध्यान नदिएको पूर्वअध्यक्ष धमलाले बताए । यसका लागि सरकारले केही सुधार गरेको खण्डमा नेपालमा रोजागरी सृजना हुने उनको भनाइ छ । त्यस्तै पर्यटन क्षेत्रले सरकारको जीडीपीमा ७ प्रतिशत योगदान पु¥याएको अवस्थामा सरकारले यो क्षेत्रका लागि आवश्यक पर्ने कानुनहरु निर्माण गर्नु पर्ने उनले बताए ।
‘पर्वतारोहण क्षेत्रमा निकै समस्याहरु आइरहेको छ । यस्तो समस्याहरुलाई उजागर गरेर अघि बढ्नु पर्ने हुन्छ,’ उनले भने । अहिले पनि पुरानो ऐनका आधारमा काम भइरहेको भन्दै यसमा सरकराले ध्यान दिनु पर्ने उनको भनाइ छ । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आवश्यक विमानहरु खरिद गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।