काठमाडौँः अविरल वर्षाका कारण आएको बाढीपहिरोले दुग्ध क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । बाढीपहिरोले क्षति पुर्‍याएको ठाउँबाट डेरीसम्म दुध अझै आउन सकिरहेको छैन । 

कतिपय ठाउँमा गोठसहित गाईभैँसी पनि बगाएको छ भने कतिपय ठाउँमा डेरी उद्योगमा क्षति पुर्‍याएको छ । सडक, बाटोघाटो भत्काएका कारणले पनि दुग्ध क्षेत्रमा असर परेको डेरी उद्योगीहरूले बताएका छन् । 

नेपाल डेरी सङ्घका अनुसार बाढीपहिरोका कारण कम्तीमा दैनिक डेढ लाख लिटर दुध कम सङ्कलन भएको छ । देशभर औपचारिक बजारमा दैनिक ११–१२ लाख लिटर दुध सङ्कलन हुन्थ्यो, त्यसमध्ये अहिले डेढ लाख लिटर दुध कम भएको सङ्घका अध्यक्ष राजकुमार दाहालले बताए। उनले भने “हाम्रो सङ्घ अन्तर्गत मात्र दैनिक पाँच लाख लिटर दुध सङ्कलन हुन्छ, त्यसमध्ये अहिले ५०–६० हजार लिटर कम भएको छ ।”

दुध सङ्कलन कम भएका कारण दुध क्षेत्रमा खासै असर नदेखिएको बताउँदै उनले पहिलादेखि पर्याप्त दुध थियो, धुलो दुध पनि प्रशस्त मौज्दात थियो । त्यसले अहिले काम चलिरहेको छ तर यसको असर फागुन चैतमा देखिने उनले बताए । दुध क्षेत्रमा सबभन्दा बढी असर बाटोघाटोले भएको बताउँदै उनले सडक, यतायात नहुँदा ग्रामीण तथा पहाडी क्षेत्रबाट दुध डेरीसम्म आउन नसकेको बताए । 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले भक्तपुर बालकोटको ओखलढुङ्गे डेरीमा बाढीपहिरोका कारण करिब २५ लाख र ललितपुर टीकाभैरवको तिलेश्वर डेरीमा करिब एक करोड रुपियाँ बराबरको क्षति भएको जानकारी दिए । काभ्रेमा चार, ललितपुरमा पाँच, भक्तपुरमा तीन, काठमाडौँमा पाँच गरी जम्मा १९ वटा डेरीमा क्षति भएको एसोसिएसनको तथ्याङ्कमा उल्लेख छ । उनले भने, “असोज ११, १२ र १३ गते दुध नै बजारमा आएन । देशभर औपचारिक क्षेत्रमा दैनिक करिब १० लाख लिटर दुध खपत हुन्छ ।” तीन दिन मात्र दुध नआउँदा करिब २१ करोड ९० लाख रुपियाँको क्षति किसानलाई भएको छ ।

अध्यक्ष दाहालले एसोसिएसनको विवरण अनुसार दुग्ध क्षेत्रमा मात्र ५० करोडभन्दा बढीको क्षति भएको बताए। काभ्रे, ललितपुर, रामेछाप, मकवानपुर, सिन्धुली, नुवाकोट, धादिङ, चितवन आदि स्थानबाट अझै १५ प्रतिशत दुध आउन सकेको छैन । त्यस्तै बाटोघाटोका कारण ललितपुरको दक्षिण भेगबाट हालसम्म पनि सहज रूपमा दुध आउन सकेको छैन ।