रुषा थापा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले तीन वर्षअघि भनेका थिए, ‘बैंक, वित्तिय संस्थाको ठगीभन्दा मौलायो । यदि समयमै सरकारले नसुधारे यी संस्था डुब्ने, भाग्ने छन् ।’ बैंक, वित्तिय संस्थाबाट लाखौं सर्वसाधारण पीडित भएपछि उनले सोविरुद्ध आवाज उठाए । पीडित जनताको उनी आवाज बने । 

बैंक, वित्तिय संस्थाहरुले घुस खाएर एक करोड बराबरको धितो राखेर ४५ लाख ऋण दिन्थे । सेवाशुल्क तीन प्रतिशत र ब्याज ८० प्रतिशतसम्म असुल्थे । अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै करोडौंको धितो लाखमै पचाइदिने । यसबाट एक, दुई जना मात्र नभई लाखौं सर्वसाधारण पीडित भएका छन् । 

बैंक, वित्तिय संस्थाले धितो खाइदिँदा उनीहरु घर न घाटको अवस्थामा पुगेका छन् । तर, भनिन्छ नि कहिले सासुको पालो कहिले बुहारीको पालो । बैंक, वित्तिय संस्थाका कारण सयौं सर्वसाधारणले आत्महत्या गरे । आफ्ना परिवार समेत सिध्याए । कतिपय देशै छोडेर भागे । कतिपय अस्पतालमा मर्ने दिन कुरेर बसिररहेका छन् ।

बैंक, वित्तिय संस्थाले लाखौं सर्वसाधारणलाई पीडित बनायो । अब भने यी संस्था नै टाट पल्टिने अवस्थामा पुगेका छन् । हिजो सोझासाझा जनतालाई ठगेका यीनीहरु अहिले आफैं डुब्ने अवस्थामा पुगेका छन् । प्रसाईंले बैंक, वित्तिय संस्थालाई सुध्रिन पटकपटक आग्रह गरे । यद्यपि, बैंक, वित्तिय संस्थाले अटेर गरे । उल्टै प्रसाईंलाई कारबाही गर्नुपर्ने माग गरे । 

आफ्ना कमीकमजोरी सुधारेर जनतामा विश्वास पैदा गर्नुको साटो बैंक, वित्तिय संस्थाले हामीभन्दा कोही ठूलो छैन भन्ठाने । अहिले सहकारीपछि बैंक, वित्तिय संस्थामा समस्या देखिन थालेको छ । यी संस्था पनि सहकारीकै अवस्थामा पुग्ने देखिन्छ । किनकि बैंक, वित्तिय संस्थाप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । 

अहिले जनता जोखिम मोलेर घरमै पैसा राख्छन् तर बैंक, वित्तिय संस्थामा राख्न तयार हुँदैनन् । यता, यी संस्थाबाट कर्जा लिने पनि कोही छैन । ऋण लिएरमा बैंकले घर न घाटको अवस्थामा पुर्याइदिन्छ भनेर थाहा भएपछि जनता कर्जा माग्न नगएका हुन् । कर्जा प्रवाह ठप्पसँगै बैंकको अवस्था दिनप्रति दिन नाजुक बन्दै गएको छ । 

पहिलापहिला ऋण तिर्न नसकेपछि आत्महत्या गरिन्थ्यो । आफ्ना परिवार मारिन्थ्यो । कि देशै छोडेर भागिन्थ्यो । तर, अहिले सर्वसाधारणमा आत्मविश्वास बढेको छ । किनकि उनीहरुले बैंक, वित्तिय संस्थाको ठगीधन्दा बुझे । अहिले ऋणी आत्महत्या गर्दैनन्, उल्टै बैंक घेर्न पुग्छन् । यसबाटै थाहा हुन्छ कि सर्वसाधारणमा कति चेतना आइसक्यो । अब कोही पनि बैंक, वित्तिय संस्थाको लुटधन्दाविरुद्ध मौन बस्ने छैनन् । विगतमा पो जनता सोझो थिए । उनीहरु बैंक, वित्तिय संस्थाको ठगीधन्दाबारे अन्जान थिए । 

तर, अहिले सबैले सबै कुरा बुझिसकेका छन् । त्यसकारण अब बैंक, वित्तिय संस्था धेरै समय टिक्ने छैनन् । भनिन्छ अन्याय गर्नु तर अत्याचार गर्नु । बैंक, वित्तिय संस्थाहरुले ऋणीसँग चर्को ब्याज असुलेर लुट्नु लुटे । तापनि यीनीहरुलाई पुगेन । अनि ऋणीको धितोमाथि नै कब्जा जमाए । यदि चर्को ब्याज मात्र लिएको भए जनता चुपचाप बस्थे । 

सहन्थे । तर, बैंक, वित्तिय संस्थाहरुले हामीले जति लुटेपनि कसैले केही गर्न सक्दैँन भन्ठानेर सर्वसाधारणको करोडौंको धितो लाख रुपैयाँमा खाइदिए । त्यसपछि जनतामा आत्मबल बढेको हो । कोही पनि व्यक्तिलाई धेरै पीडा दिएमा ऊ कि त मर्छ कि झनै बलियो बन्छ । यसरी नै बैंक, वित्तिय संस्थाहरुले जनतालाई गर्नुसम्म अत्याचार गरेपछि उनीहरु मजबुत भएर उत्रिएका हुन् । 

स्मरण रहोस् कि जनता लागेमा न सरकारको केही लाग्छ न कसैको । अनि बैंक, वित्तिय संस्था त को हुन् र ? अहिले बैंक, वित्तिय संस्थाबाट पीडित भएकाहरु एकजुट हुँदैछन् । छिट्टै उनीहरुले बैंक, वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीलाई कालोमोसो दली जुत्ताको माला लगाएर चौकीमा बुझाउने छन् । अब पीडित जनताले आत्महत्या गर्ने छैनन् । 

लड्ने छन्, बैंक तथा वित्तिय संस्थाविरुद्ध । हुन त सरकारमा बसेकाहरुकै साथमा बैंक, वित्तिय संस्थाहरुले सोझासाझा सर्वसाधारण ठग्दै आएका थिए । यद्यपि, सरकारले यस्ता ठगहरुको साथ दिएपनि सञ्चारमाध्यमले भने दिएनन् । उनीहरुले पीडितको पक्षमा कलम चलाए । जसका कारण पीडितहरुमा बैंक, वित्तिय संस्थाको लुटधन्दाविरुद्ध उत्रिनुपर्ने हिम्मत आएको हो । 

सर्वसाधारणको नजरबाट बैंक, वित्तिय संस्था गिर्दै गएका छन् । यी संस्था चोर, ठग हुन् भनेर जनताले बुझिसकेका छन् । त्यसैले, अहिले आफ्नो घरमा बैंक, वित्तिय संस्था सञ्चालन गर्न दिएका घरधनीहरुलाई घर खाली गराउन आपत परेको छ । अहिले सरकारी तथा निजी दुवै बैंक, वित्तिय संस्थामा पैसा निकाल्नेको भीड छ । 

यही क्रममा निक्षेपकर्ताहरुले रकम निकालेमा बैंक छिट्टै टाट पल्टिने छ । सहकारीभन्दा पनि नाजुक अवस्थामा बैंक पुग्ने देखिन्छ । त्यसो त बैंकका कर्मचारीहरुले बचतकर्ताहरुको खाताबाटै रकम चोरेको घटना पनि बेलाबखत बाहिरिने गरेको छ । बैंकले ऋणीलाई त सँगै विश्वास गरेर बचत गरेका जनताप्रति पनि जिम्मेवार भएन । 

सरकार होस् या कुनै पनि संघसंस्था जनताको विश्वासबिना चल्न सक्दैन । सर्वसाधारणले विश्वास नगरेको खण्डमा जस्तोसुकै बलियो संस्था पनि ढल्न सक्छ । उदाहरणका लागि सहकारीलाई नै लियौं । जनताले विश्वास गरेसम्म सहकारीहरु राम्ररी चलिरहेका थिए । तर, जब जनताले सहकारीको ठगीधन्दाबारे थाहा पाए र बचत गर्न छोडे त्यसपछि यी संस्था भाग्नुपर्ने अवस्थामा पुगेका छन् । 

ह्ुन त सहकारी र बैंक, वित्तिय संस्थाहरुकै लगानी तीन क्षेत्रमा पाइन्छ । घरजग्गा, गाडी र सेयर । सहकारी त यी क्षेत्रमा लगानी गर्न भाग्यो । अब पालो बैंकको आएको छ । कोरोना महामारीपछि यी तीनै क्षेत्रमा व्यापक मन्दी छ । घरजग्गा, गाडी र सेयरको किनबेच ठप्पै छ । त्यसैले, सहकारीपछि अब पालो बैंकको आएको स्पष्टै हुन्छ । 

दलालीहरुले एक हजार रोपनीमा बिक्री नहुने जमिन टुक्राटुक्रा बनाएर आनाकै लाखौंमा बेचबिखन गरे । छिमेकी देशमा एक लाखमा पाइने सवारीसाधन यहाँ ल्याएर ३०–३५ लाखमा बेचियो । बैंकबाट सय रुपैयाँ कित्तामा निष्काशन भएको सेयर पनि दलालीहरुले नै तीनदेखि पाँच हजारमा बेचे । दलालीको लहैलहैमा लागेर व्यक्तिदेखि बैंक, वित्तिय संस्थाले यी तीन क्षेत्रमा लगानी गर्यो । 

तर, अहिले यो क्षेत्र सुस्ताउँदा जनता डुबे । सहकारी भाग्यो । सँगै बैंक, वित्तिय संस्था र देशकै अर्थतन्त्रमा संकट निम्तिएको छ । अब बैंक, वित्तिय संस्था चल्न सक्दैनन् । जसरी सहकारी भाग्यो, त्यसरी नै बैंक, वित्तिय संस्थाहरु पनि छिट्टै भाग्नेछन् । हिजो सोझासाझा नागरिकलाई ठगेको परिमाण अब बैंक, वित्तिय संस्थाले भोग्ने छन् ।