इटहरीः धनकुटाको पर्यटकीय क्षेत्र नाम्जे गाउँ फेरि चर्चामा छ । आजदेखि माघ २ गतेसम्म प्रथम माघे संक्रान्ति महोत्सव गर्न लागेकाले धनकुटाको नाम्जे अहिले चर्चामा छ ।
विश्व प्रसिद्ध अमेरिकी च्यानल सीएनएनले विश्वका कम घुमिएका तर घुम्नैपर्ने १२ उत्कृष्ट गतव्यमा नाम्जे राखेकाले नाम्जेले नाम पायो । र, एकाएक गुम्नाम गाउँको नाम विश्वभर चर्चामा आयो । ३ किलोमिटर परको भेडेटार मात्रै चर्चामा आएको बेला सीएनएनकै कारणले भेडेटारभन्दा धेरै चर्चा पायो नाम्जेले । बेस्ट ट्राभल डटकम र सीएनएनको आक्रामक प्रचारसँगै नाम्जेले चर्चा पाएको थियो ।
धेरैले धनकुटाको साँघुरीगढी–६ मा रहेको नाम्जेलाई अमेरिकी च्यानलका पत्रकारले विश्वमा चिनाएको बताउँछन् । सीएनएनमा आजभन्दा ८ वर्ष अगाडि एकाएक समाचार बनेको नाम्जेलाई पत्रकारले नै हिट बनाएको अनुमान गर्न पनि सकिन्छ । तर, कुरा अर्कै छ ।
धनकुटा सदरमुकामबाट ३५ किलोमिटर र भेडेटारबाट ३ किलोमिटर मात्रैको सडक दूरीमा रहेको नाम्जेलाइ हिट बनाउने एक महिला हुन् । ती महिला हुन् स्टेफेन ओडिगार्ड ।
उनले अमेरिकी च्यानल सीएनएनमा काम गर्ने पर्यटन पत्रकार मेलिन्डा पेजलाई नाम्जे निकै राम्रो स्थान भएको भन्दै सिफारिश गरिन् । अनि नाम्जेले सीएनएनमा स्थान पायो सन् २०११ को डिसेम्बरमा । ‘तपाईंले नसुनेका उत्कृष्ट १२ स्थानहरू’ शीर्षक समाचार बीबीसीले आफ्नो अनलाइन र टेलिभिजन च्यानलमा प्रकाशन गरेपछि नाम्जेले चर्चा पायो ।
यसरी स्टेफेन नाम्जेमा पुगिन्
हातले बुनेका गलैचाहरूको व्यापार गर्थिन् ओडिगार्ड । उनी न्युयोर्क डिजाइन सेन्टरसँग आबद्ध थिइन् । स्थानीय श्रम र सीपलाई प्रवद्र्धन गर्न उनले कार्पेट व्यापार कम्पनी खोलिन् ।
ओडिगार्ड कार्पेट नामक उनको कम्पनीमा आवश्यक कार्पेट खरिद गर्न ओडिगार्ड एक पटक नाम्जे पुगिन् । सीएनएनका अनुसार आफ्नो कार्पेट व्यापारको लागि आवश्यक फाइबर खोज्ने क्रममा उनी नाम्जे पुगेकी थिइन् । उनी नाम्जे पुग्दा अत्यन्तै आत्मीयता पाइन् ।
‘जब म नाम्जे पहिलोपटक पुगेँ’, ओडिगार्डलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘मलाई यस्तो लाग्यो कि म मेरो घर भन्दा पर छैन ।’
प्रकृतिसँगै जोडिएको मगर समुदाय, त्यहाँबाट देखिने विश्वको पाँचौ अग्लो मकालु हिमाल र आंैलामा गन्न सकिने मात्रै आगन्तुकहरू आउनाले यो विशेष स्थान भएको भन्दै ओडिगार्डले सीएनएनलाई सिफारिश गरेकी थिइन् ।