मकवानपुरः चेपाङ समुदायको संस्कृति, जीविकोपार्जन र परम्परासँग गहिरो सम्बन्ध राख्ने ‘चिउरी’ र निगालोबाट बुनेको ‘पेरुङो’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोशेली स्वरुप प्रदान गरिएको छ ।
बहु उपयोगी चिउरीलाई भोर्लाको पातमा बेरेर पेरुङोमा राखेर प्रधानमन्त्रीलाई पठाइएको मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार बताए । मल्लले पठाएको कोसेली बागमती प्रदेश सभा सदस्य भारती पाठकले प्रधानमन्त्रीलाई प्रदान गरिन्।
चेपाङ समुदायको पहिचान बोकेको परम्परागत सामग्री र खाद्य बस्तुलाई राष्ट्रिय तहमा पुराउनका लागि प्रधानमन्त्रीलाई कोसेली पठाइएको अध्यक्ष मल्लले बताए ।
कोसेली ग्रहण गर्दै प्रधानमन्त्री ओलीले रैथाने परम्परागत वस्तुको संरक्षण र रोजगारी सिर्जनामा विशेष जोड दिन आवश्यक रहेको बताए। उनले परम्परागत बालीहरूको सम्भावना प्रचुर रहेको भन्दै तिनीहरूको व्यावसायिक उपयोगमार्फत स्थानीय समुदायको जीवनस्तर उकास्न सकिने बताएको प्रदेश सभा सदस्य पाठकले जानकारी दिइन। उक्त अवसरमा वन क्षेत्रको दिगो व्यवस्थापनका सम्बन्धमा पनि प्रधानमन्त्री ओलीले चासो राखेका थिए ।
प्रधानमन्त्रीले वन स्रोतको संरक्षण र समुदायसँगको सहकार्यमा आधारित व्यवस्थापनको आवश्यकता रहेको बताए ।