काठमाडौंः भिजिट भिसाको नाममा विमानस्थलको अध्यागमनमा भएको असुली गिरोहमा संलग्न थप एक ट्राभल एजेन्सीका सञ्चालक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेम्ली होलिडेजका सञ्चालक दीपक भण्डारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन थालेलगत्तै उनी फरार थिए ।
लामो प्रयासपछि उनलाई पक्राउ गरिएको र एक दिन थुनामा राखी हाल तारेखमा राखेर सोधपुछ भइरहेको स्रोत बताउँछ । अनुसन्धानमा तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईसँग उनको ठुलो आर्थिक कारोबार भेटिएको छ । भण्डारीले पनि भट्टराईलाई भिजिट भिसामा जानेहरूको सूची पठाउने गरेको छानबिनले पुष्टि गरेको छ । यसअघि आयोगले सहसचिव भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
गत ७ जेठमा आयोगको टोलीले सहसचिव भट्टराईलाई कार्यालयबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनका तीन मोबाइल र एउटा ल्यापटप बरामद गरी आयोगले त्यसउपर विस्तृत छानबिन गरिरहेको छ । एजेन्टहरूसँग भिजिट भिसामा जानेहरूको सूची बुझ्ने, मातहतका कर्मचारीलाई बुझाउने र त्यसको पैसा लेनदेन गरेको विषय उनका मोबाइलबाट प्रमाणित भइसकेको स्रोत बताउँछ ।
आयोगले सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको ठ्याक्कै दुई महिना भएको छ । भिजिट भिसामा उनको उच्च तहसम्मको सेटिङबारे अनुसन्धान अझै जारी रहेको आयोगका अधिकारी बताउँछन् । अध्यागमनका कर्मचारीले संगठित रूपमा विभिन्न तह बनाएर पैसा असुलेको देखिएपछि अनुसन्धान लम्बिएको स्रोत बताउँछ ।
कतिपय विषयमा अझै प्रमाण जुटाउने काम भइरहेकाले अनुसन्धान लम्बिएको आयोग प्रवक्ता राजेन्द्र पौडेल बताउँछन् । ‘भिजिट भिसा प्रकरणमा विस्तृत अनुसन्धान चलिरहेकै छ,’ उनी भन्छन्, ‘अनुसन्धानमा प्राविधिक कामसमेत हुने भएकाले ढिलाइ भएको हुन सक्छ ।’
स्रोतका अनुसार हालसम्म आयोगले ११ वटा डिभाइस बरामद गरिसकेको छ । सहसचिव भट्टराईसँग भिजिट भिसाको सेटिङ चलाउने ट्राभल एजेन्सी र मेनपावर व्यवसायीका मोबाइल पनि आयोगले जफत गरेको छ । ग्रिनलाइन ट्राभल्सका सञ्चालक बालकृष्ण खड्कालाई केन्द्रमा राखेर आयोगले अनुसन्धान गरिरहेको छ । सहसचिवको पैसा लिने र व्यवस्थापन गर्ने खगेन्द्र सुवेदी र कविता पौडेल पनि आयोगको अनुसन्धानको दायरामा छन् । खड्काकै उत्तरढोकास्थित एक रेस्टुरेन्टमा बसेर भिजिट भिसाको सेटिङ र पैसा लेनदेन हुने गरेको आयोगको छानबिनमा खुलेको छ ।
आयोगले यस प्रकरणमा हाल भ्रष्टाचारतर्फ मात्र अनुसन्धान गरिरहेको छ । तर, भिजिट भिसाको असुली संगठित अपराध र सम्पत्ति शुद्धीकरणतर्फ आकर्षित हुने देखिएको आयोग अधिकारी बताउँछन् । ‘यो संगठित रूपमा भएको देखिन्छ र महिनामै करोडौँ कारोबार भएको छ,’ स्रोत भन्छ, ‘भ्रष्टाचारको अनुसन्धान सकिएपछि यसमा स्वतन्त्रतापूर्वक प्रहरीले अनुसन्धान गर्यो भने थप कुरा पत्ता लाग्छन् ।’
छानबिन भए पनि कर्मचारी नफस्ने गरी विभिन्न तह बनाएर सेटिङ हुने गर्दथ्यो । दिनमै एक करोडसम्म असुली हुने भएकाले यसमा संलग्नहरूले ठुलो रकम कमाएको देखिन्छ । भिजिट भिसा तथा टिकटिङको पैसा हुन्डीमार्फत विदेश लैजानेसम्मका गतिविधि देखिएका छन् । यसमा धेरैजना कर्मचारीभन्दा बाहिरका व्यक्ति भएकाले आयोगले अनुसन्धान गर्ने क्षेत्र पर्दैन ।
अनुसन्धान सकिएपछि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्ने सम्भावना छ । साथै, भिजिट भिसामार्फत भएका ठगी तथा मानव बेचबिखनजस्ता अपराध पनि आकर्षित हुनेछन् ।
सहसचिव भट्टराई विमानस्थल अध्यागमन प्रमुख भएपछि ठुलो संख्यामा भारतीय तथा बंगलादेशीहरूसमेत विनाएनओसी(नो अब्जेक्सन लेटर)तेस्रो देश उडेका थिए । यसरी उडाउनेमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय देखिएको छ ।
यस प्रकरणमा भारत र अमेरिकाले समेत चासो दिएका छन् । भारतमा फरार व्यक्तिहरूलाई समेत कर्मचारीको मिलेमतोमा अमेरिका र क्यानडा उड्न दिइएको थियो । आपराधिक पृष्ठभूमिका भारतीय नेपाल हुँदै अमेरिका गएको भन्दै नेपालका लागि अमेरिकी राजदूत डिन आर थोमसनले दुई साताअघि मुख्यसचिव एकनारायण अर्याललाई समेत भेटेर यस विषयमा चासो राखेका थिए ।
यस प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समेत प्रश्न उठिरहेको छ । मन्त्री लेखक र गृहसचिव गोकर्णमणि दुवाडीकै संरक्षणमा भिजिट भिसाको सेटिङमा असुली बढेको स्रोत बताउँछ । पछिल्लो समय अध्यागमनको सरुवा पूर्ण रूपमा मन्त्रीको सचिवालयमार्फत हुने गरेको थियो । सरुवा हुँदा नै चलखेल हुने गरेकाले त्यसरी अध्यागमन गएका कर्मचारीले असुली आतंक मच्चाएका थिए ।
अअध्यागमनबाट फेरि ‘सेटिङ’ सुरु !
स्रोतहरूले जनाएअनुसार फेरि पनि अध्यागमनबाट सेटिङ सुरु भइसकेको छ । ‘पहिला ट्राभल एजेन्सीमार्फत अध्यागमनमा सेटिङ हुन्थ्यो, अहिले एयरलाइन्सका कर्मचारीमार्फत हुने गरेको छ,’ विमानस्थल स्रोतले भन्यो । हालै गृह मन्त्रालयले अध्यागमन प्रमुखसहित केही अधिकृतको हेरफेर गरेको छ ।
भिजिट भिसाको नाममा भएको अवैध असुलीमा गृहमन्त्री रमेश लेखकमाथि समेत प्रश्न उठेको छ । यस प्रकरणमा गृहमन्त्री लेखकमाथि समेत छानबिनको माग गरी प्रतिपक्षी दलहरूले दुई महिनादेखि संसद् अवरोध गर्दै आएका छन् । तर, सरकारले भने छानबिन नै नगरी लेखकलाई उन्मुक्ति दिने प्रयास गरिरहेको छ । मन्त्री लेखक आफैँले पनि विगतदेखि नै भिजिट भिसामा मान्छेहरू विदेश उड्ने गरेको भन्दै यस विषयलाई सामान्यीकरण गरेर उम्कने प्रयास गर्दै आएका छन् ।
पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा गठित समितिलाई छानबिन गर्ने अधिकार नदिई सामान्य अध्ययन गर्ने कार्यादेश मात्रै दिइएको छ । यस प्रकरणमा आन्तरिक छानबिन गर्नसमेत गृहका अधिकारी डराएका छन् । यो खबर आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।