काठमाडौंः सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको छ । सरकारले पर्यटन नीति २०६५ जारी गरेको १७ वर्षपछि नयाँ नीति ल्याएको हो ।
नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने दूरगामी सोचसहित सहकार्यका लागि निजी क्षेत्रसँग थप बाटो खुला गर्दै सार्वजनिक गरिएको नयाँ पर्यटन नीतिमा राष्ट्रिय पर्यटन परिषद्को गठन, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनदेखि पर्यटन प्रवर्धन र प्रचारप्रचारमा एआईको प्रयोगसम्मका योजना अगाडि सारिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्ने गरी पर्यटनसम्बन्धी विषय तिनै तहका सरकारको अधिकार क्षेत्रमा रहेको सन्दर्भमा साबिकको नीतिलाई परिवर्तित शासकीय व्यवस्था अनुकूल प्रतिस्थापन गरी नयाँ पर्यटन नीति ल्याएको जानकारी दिए ।
छ वटा नीति, १८ वटा रणनीति र ९४ वटा कार्यनीति रहेको नयाँ नीतिमा सार्वजनिक–निजी साझेदारी, दिगो विकास र प्रविधिमैत्री पर्यटनमा जोड, विमानस्थल निर्माण र सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन, राजधानीबाहिरका सम्भावित विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गरी हवाई सञ्जालको विकास गर्ने व्यवस्था गरिएको छ ।
नेपाललाई आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्यका रूपमा विकास गर्न, नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित सार्वजनिक नीतिमा नेपालको प्रवर्धनका लागि विदेशस्थित कूटनीतिक नियोगका साथै गैरआवासीय नेपाली आबद्ध सङ्घ संस्थासँग सहकार्य गर्ने उल्लेख छ ।
त्यस्तै उदीयमान एवं विद्यमान पर्यटकीय वस्तु तथा गन्तव्यको पहिचान, विकास, विस्तार र विविधीकरण गर्दै देशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन र आर्थिक समृद्धिको आधारशिला तयार गर्ने नयाँ नीतिले व्यवस्था गरेको छ ।
नयाँ नीतिले उपयुक्त प्रविधि र माध्यमको उपयोग गरी एआई भिडियोमार्फत पर्यटकीय प्रचारप्रसार र प्रवर्धनात्मक गतिविधि सञ्चालन गर्ने गुणस्तरीय एवं बहुपक्षीय पूर्वाधार विकासका लागि सार्वजनिक, निजी तथा वैदेशिक लगानी प्रवर्धन गर्ने व्यवस्थासहित नयाँ नीतिले पर्यटनसँग सम्बन्धित समग्र तथ्याङ्क सङ्कलन र विश्लेषण गर्न टुरिजम सेटेलाइट अकाउन्ट तयार गर्ने नयाँ व्यवस्था गरेको छ ।
राष्ट्रिय योजना आयोगले २०७७ सालमा सार्वजनिक गरेको पर्यटन नीति पुनरवलोकन अध्ययन प्रतिवेदन अनुसार पर्यटन नीति २०६५ ले निर्धारण गरेका १६ वटा नीतिमध्ये दुई वटा नीति पूरा कार्यान्वयन भएका छन् भने तीन वटा नीति ६० देखि ६५ प्रतिशत कार्यान्वयन भएका, छ वटा नीति ३० देखि ४५ प्रतिशत कार्यान्वयन भएका, चार वटा नीति २७ प्रतिशतभन्दा कम कार्यान्वयन भएका र एक वटा नीतिको कार्यान्वयन शून्य रहेको रहेको छ ।