अधिवक्ता सानु कार्की बस्नेत "सिता"

जनताले आफ्नो प्रतिनिधि छान्ने लोकतान्त्रिक पक्रिया निर्वाचन हो। रुपान्तरण र परिवर्तनका लागि गरिएको जेन्जी आन्दोलनको परिणामस्वरूप प्रतिनिधि सभाको निर्वाचन हुदैछ।  राजनीतिक नेतृत्वतर्फ हेर्दा, एमालेले हालसालै महाधिवेशन सम्पन्न गरे तापनि नेतृत्वमा रुपान्तरण र पुस्तान्तरण गर्न सकेन, नेकपाले नेतृत्वमा नरमगरम शैलीमा मात्रै परिवर्तन गर्यो, नेपाली कांग्रेसले नेतृत्व परिवर्तन गर्ने र परिवर्तन इन्कार गर्ने विवादले पार्टी दुइ टुक्रामा विभाजित भयो। बैकल्पिक नयाँ शक्ति भनि उदाएका रास्वापा लगायतका पार्टी लोकप्रिय त भए तर भरपर्दा भएनन।

समाजले भरपर्दा शक्ति खोजेको छ। युवा वर्गले जबर्जस्त रुपान्तरण र परिवर्तन चाहेको छ‌।  सिद्दान्तत: रुपान्तरण र परिवर्तन नहुने हो भने समयको शक्तिसंग सामना गर्नुपर्ने हुन्छ। समयको रुपमा आसन्न निर्वाचनको हुरि आउदैछ,  यो निर्बाचनको हुरिले क-कसलाई बडार्ने हो? यो निर्वाचनलाई जेन्जी, नया दल र पुरानो दलको अग्निपरीक्षाको रुपमा हेरिएको छ।

 यस लेखमा आसन्न निर्वाचनका के कस्ता राजनितिक सवाल र चुनौती छन?  निर्वाचनको अग्निपरीक्षामा जेन्जी, नया दल र पुरानो दलका आ-आफ्नो राजनितिक सवालको विषयमा उजागर गर्ने प्रयास गरिएको छ। 

 विगतमा निर्वाचन नहुने तर नेतृत्वले नै समाजका अगुवालाई छान्ने परम्परा थियो ।  हाल वालिक मताधिकारबाट मतदान गरि निर्वाचन हुन्छ। अनि आफू स्वयं निर्वाचित भै वा आफूले निर्वाचित गरि पठाएका जनप्रतिनिधिबाट शासन सञ्चालन हुन्छ।  नेपालमा १८ बर्ष उमेर पुगेका प्रत्येक नागरिकलाई कुनै एक मात्र निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि छान्न मतदान गर्ने अधिकार छ।  कुनै पनि ब्यक्ति निर्वाचन क्षेत्रमा एक स्थानमा मात्र उम्मेदवार निर्वाचित हुन सक्नेछ।

संविधानको भाग ५, धारा ५६ मा "राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ" भनिएको छ। यी तीन तहमा लोकतान्त्रिक विधिबाट जनप्रतिनिधिहरु निर्वाचित हुनेछन्। 

जेन्जी आन्दोलनबाट सृजित विषम परिस्थितिमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले राजिनामा दिए पछि सुशिला कार्कीको नेतृत्वमा नव गठित सरकारले प्रतिनिधि सभाको विघटन गरी फागुन २१  मा निर्वाचन मिति तोकेको छ। उक्त दिन प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११० गरि जम्मा २७५ जना प्रतिनिधि सभाका सदस्यको निर्वाचन हुदैछ। 

अहिले देश चुनावमय बन्दै गएको छ। जनताले नया अनुहार खोजिरहेका छन। नया डेलिभरि खोजिरहेका छन्। यद्यपी, बर्तमान सरकारलाई निर्वाचन सफल गराउन चुनौती छ। जेन्जी, बैकल्पिक शक्ति भनि उदाएका नया दल र असफल ठानिएका पुराना दल आ-आफ्नो गन्जागोलको चक्करमा फसेका छन्। नयाँ र पुराना दलको दोकान मध्ये जनताले कुन दोकान मन पराउछन, यो निर्वाचनले नया र पुराना दलको अग्निपरीक्षा लिनेछ। पुराना दलका हांगा मक्किएका छन भने नया दलका हांगा दरिलो गरि गाडिन सकेको देखिदैन। जेन्जीहरु कुहिरो भित्र रुमलिई रहेका छन। निर्वाचनको माहोल त आयो तर यो अग्निपरीक्षामा को पास हुन्छन् को फेल हुन्छन्, को कहा पुग्छन् भन्ने टुङ्गो छैन।  निर्वाचन मुखमै आइसकेको छ।  जेन्जी, नया र पुराना दलका आ-आफ्नो समसामयिक राजनीतिक मुद्दाहरुछन, ति मुद्दाहरुले निर्वाचन गन्जागोलको चक्करमा फसि  निर्वाचनमा धेरथोर प्रभाव पारिरहेको छ।  बर्तमान निर्वाचनको यो अग्निपरीक्षामा निर्वाचनका सवाल र चुनौतीहरु धेरै छन्।

निर्वाचनका सवाल र चुनौतीहरु 

. नेपालमा भ्रष्टाचार विरुद्ध र सरकारको नयाँ नियम अन्तर्गत दर्ता हुन नआएका फेसबुक, इन्ट्राग्राम, ह्वाटसप,ट्वीटर, युटुभ लगायतका २६ वटा सामाजिक सञ्जालको प्रतिबन्ध बिरुद्दमा भन्दै जेन जी पुस्ताले थालेको सडक आन्दोलनले नेपालको राजनीति उथलपुथल भयो।  भाद्र २३ गतेको  नरसंहारपछि भाद्र २४ गते जेनजी विद्रोहले भयानक रूप लियो, जसको कारण विभिन्न स्वार्थ समूहको समेत उपस्थितिमा राष्ट्रका अमूल्य धरोहरहरूमाथि आगो लगाएर ध्वस्त पारियो। जेन्जी युवाको मागलाई सम्बोधन गर्न भाद्र २७ गते  गठित नयाँ सरकारबाट जेन्जी युवाहरुले उठाएका एजेण्डा सम्बोधन हुन सकेको छैन। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख,  भष्ट्राचार नियन्त्रण, रोजगारी सृजना, शासनको स्वरुप संरचनामा परिवर्तन र पुस्तान्तरण जस्ता विषयलाई सरकारले सम्बोधन गर्न सकिरहेको छैन। त्यस्तैगरी जेन्जी आन्दोलनलाई रक्तपातपूर्ण बनाउने दोषीलाई कारवाही गर्न नचाहँदा सरकारको आलोचना जेन्जीबाट नै भएको छ। जेन्जीहरुकै सहमति र समर्थनमा गठित सरकारले जेन्जीका मागहरुलाई सम्बोधन गर्न नसक्दा निर्वाचन समेत प्रभावित हुन सक्छ।

भाद्र २३ र २४ को जेन्जी आन्दोलनले राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संरचनामा आगजनी, तोडफोड र लुटपाट गरि सुरक्षा निकायका बन्दुक, गोली र अन्य हातहतियार लुटिए खोसिए। ति हतियार के कति फिर्ता भयो? सरकारसंग एकिन तथ्यांक छैन। कतै आगामी निर्वाचनमा सो लुटिएका हतियार दुरुपयोग हुने हो कि भन्ने सम्भावना र त्रास जनमानसमा देखिदा सरकारलाई निर्वाचनमा निष्पक्षता र पारदर्शीता कायम राख्न चुनौती छ। 

जेन्जी आन्दोलनबाट स्थापित सरकार असंवैधानिक हो  भन्ने विषय र सो सरकारले २०७९ सालमा निर्वाचित प्रतिनिधि सभालाइ २०८२ भाद्र २७ गते  गरेको  विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भै विचाराधीन छ। सो रिटले सरकारलाई मान्यता नदिएमा वा प्रतिनिधि सभालाई विघटन गर्ने निर्णय बदर गरि संसद पुर्नस्थापना गरेमा राष्ट्रिय राजनीतिक अन्यौलता सृजना हुन सक्नेछ।

जेन्जीहरुको अवस्था पनि नाजुक छ। एकातिर आन्दोलनको मर्म र भावना विपरित गैरजेन्जीको हातमा निर्णयको चाबी पुगेको देखिन्छ भने अर्कोतिर जेन्जीहरु पनि  टुटफुट भै बिभिन्न चिरामा विभाजित भएका देखिन्छन्।  जेन्जीहरु भदौ २४ को घटनाको कानुनी कारबाहीबाट बच्न सत्तामा पहुच खोजिरहेका छन।

राजनीतिमा बैकल्पिक शक्ति भनि नयाँ खोलिएका नयाँ दलले पुराना दलबाट लोकतन्त्र गतिशिल, समावेशी र प्रगतिशील हुन सकेन भन्ने पुराना दललाई आरोप लगाई चुनावी तालमेलमा छन। उनीहरुको चुनावी गठबन्धन राष्ट्र निर्माण र हित भन्दा सत्ताको मोहमा सीमित देखिन्छ। धरौटी रकम बुझाएर रास्वापाको सभापतिको पदमा पुन: फर्किएका रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह बीचमा गठबन्धन भै बालेन शाहलाई भावि प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरि सम्झौता त भयो तर एक्लै निर्वाचित हुने तर गठबन्धनले काम गर्न दिएन भन्ने मेयर जस्ता र्यापर निवाचित नै भए  पनि राजनैतिक स्थिरता कायम हुनेमा शंका देखिन्छ।

माओवादी पार्टीको दिर्घकालिन जनयुद्धले स्थापित गरेको समावेशी र समानुपातिक प्रतिनिधित्वको सवाल विकृत बन्दै गएको छ।  समानुपातिक सदस्य छनौट गर्दा पार्टी चलाउने चन्दादाता, व्यापारिक घरानाका साहुजी, नेतृत्वका आसेपासे नातागोतालाई अगाडी ल्याइयो। वास्तविक आरक्षणलाई प्रतिनिधित्व गराउन दलहरु उदासिन देखिए। हाल नया पसलमा सेलिब्रेटी र कलाकारलाई समानुपातिक लहरमा सजाएर राखियो। राजनितिमा सक्रियता र योगदान न्युन भएका  प्राविधिक क्षेत्रका व्यक्तिहरुको समानुपातिक सिटमा आकर्षण ह्वातै बढेको देखिन्छ। जसबाट जनतामा  नयाँ दल प्रति समेत वितृष्णा र निरासा देखिन्छ।

 राजनितिक दलहरुको चरित्रलाई हेर्दा:

नेपाल कम्यूनिष्ट पार्टी एमालेले भरखरै एघारौं महाधिवेशन सम्पन्न गरेको छ। सिद्दान्त र विचार प्रजातान्त्रीक छैन भनी  देशले नै अस्वीकार गरेका पात्र केपी ओली अध्यक्ष निर्वाचित त भए तर निष्ठावान कार्यकर्ताको ठुलो जनमत विपरित कित्तामा उभिएको छ। उनको स्वेच्छाचारी र एकलौटी निर्णय, विवादित पात्रलाई काखी च्यापेर इमान्दार कार्यकर्ताको उपेक्षा गर्ने प्रवृत्तिले त्यहाँपनि असल राजनितिक संस्कार र संस्कृति देखिदैन।

नेपाली कांग्रेसको अबस्था हेर्दा, विचित्रको भयो। पार्टीको अध्यक्ष सेर बहादुर देउवाले  २४ गतेको घटनापछि लगभग राजनीतिक विश्राम लिने मनस्थितिमा पुगेपनि हाल पुनः पार्टीमा सक्रिय हुन चाहेको देखिन्छ। पार्टीका बहुमत प्रतिनिधिले विधान सम्मत माग गरेको विषेश महाधिवेशनलाई वेवास्था गरेको र विषेश महाधिवेशनबाट नया समिति गठन भै पार्टी फुटेको अबस्था छ।

नेपाली कम्युनिष्ट पार्टीको अबस्था हेर्दा, अरु पार्टीको तुलनामा केही आशावादी रहने ठाउँ छ। अरु पार्टी भरखरै तङररिदै गरेको अवस्थामा नेकपाले डेड दर्जन दल र नेताहरुलाई एउटै पसलमा राख्न सफल भएको देखिन्छ। नेकपाको रेल  समाजवादी यात्रामा  हिडेको त छ तर  रेलको यात्रामा समाजवादमै पुग्ने यात्रीहरु सबै घटकलाई समेट्न सकिरहेको देखिदैन।

नयाँ दल र पुराना दल आ-आफ्नै समस्या र चुनौतीका बाबजुत आसन्न निर्वाचनको चाप र चेपुवामा छन। अन्य दलहरु राप्रपा, जसपा, लोसपा, जनमत, प्रगतिशील, उज्यालो नेपाल, श्रम संस्कती पार्टी आफ्नो अस्तित्व छ भन्ने देखाउन  घस्रदै जनतासामु जादैछन।  यथार्थमा यो निर्वाचन भनेको नयाँ दल र पुराना दलको अग्निपरीक्षाको रुपमा देखिएको छ।

देशमा निर्वाचन घोषणा भै निर्वाचनको मिति नजिकिँदै गरेको र दलहरुले समानुपातिक बन्दसुची समेत आयोगमा बुझाई सकेको अवस्था छ। पुराना राजनीतिक खेलाडी र  "उम्रदैका तीन पात" भन्ने नेपाली उखान जस्तै उम्रिएका जेन्जी र  नया शक्ति भनि देखिएका वैकल्पिक राजनितिक खेलाडिहरुको खेल शुरु भएको छ। आमचुनावमा युवा आक्रोश संस्थागत हुन्छकी, पुरानै आलोचित दोकानहरु चल्छन यो प्रश्नको जवाफ निर्वाचनले दिने नै छ। तथापी, सचेत नेपालीले नयाँ र पुराना दलबाट पटकपटक धोका पाएकाछन। पुराना दोकानमा विदेसी तत्व घुस्छ भनि  विदेशी कार्ड फाल्ने पुरानो रोग छ। नया दोकानमा राजनीतिक योगदान र सक्रियताको अभाव तर कलाकार सेलिब्रेटीको आकर्षण छ भनि आलोचना गरिन्छ। एकअर्काको आरोप प्रत्यारोपको यस्तो अवस्थामा अब पुरानो र नयाँ बिच राजनीतिक ध्रुविकरण हुनु जरुरी छ भन्ने विष्लेषण गर्न थालिएको छ। 

अन्त्यमा, संवैधानिक स्थिरता, संघीयताको सवलिकरण, शासनमा समावेशीकरण र राजनीतिक संस्कारमा सुधार र परिमार्जनका लागि निर्वाचन अपरिहार्य छ। निर्वाचन अग्निपरीक्षा भएकोले दलहरुले समयलाई बुझेर चल्न ढिलो भइसक्यो। पुराना दलका दोस्रो पुस्ताले नेतृत्वको आरती गाउन र हनुमान हुन छाडि मक्किएका हागालाई परिवर्तन गर्ने र नया पुस्ताले राज्य निर्माणमा योगदान र सक्रिय उपस्थिति देखाई दरिलो नगाडिएका हागालाई दरिलो बनाउन आवश्यक छ । जुनसुकै दलले असल राजनीतिक संस्कार सहित रुपान्तरण, परिवर्तन र पुस्तान्तरणलाई आत्मसाथ गरेमा यो अग्निपरीक्षा फलदायी हुनेछ। 

                                                                                            लेखिका झापा बारकी सह -सचिव हुन् ।