जाडो महिना भए पनि मैले कथा गर्मीकै सुनाउने जमर्को गरेँ । आखिर उसले मन्त्रमुग्ध बनाएकै दिनदेखिको कथा सुनाउने निर्णय गरेँ ।
महिना साउनको थियो । मौसमले पनि धोका दिइरहेको थियो । मडारिएको कालो बादल अनि झरीले वातावरण नै त्यस्तै बनाइरहेको थियो । तर एकछिनको त्यो निराशा खुशीमा परिणत भयो । झरी रोकियो, आकाश यसरी खुला भए जसरी एउटा बच्चा नयाँ खेलौना पाउँदा खुला हृदयले हाँस्छ र रमाउँछ ।
फेरि आइतबारेमा मानिसहरूको चहलपहल शुरु भयो । गुद्रीमा फेरि टमाटर र प्याजको मोलमोलाई शुरु भयो । यता क्याफेतिर युवा जमात चिया र चुरोटमा रमाउन थालिसकेका थिए । अनि उता डान्स सेन्टरमा एक हुल आइमाईहरू ‘पोइला जान पाम्’ भन्दै नाचिरहेका थिए । आखिर महान् हरितालिका तीज नजिक आउँदै थियो ।
बजार नै हरियो थियो । जताततै हरियो चुरा मेहन्दी अनि बोलबमको लुगाले सारा पसल शिव मन्दिर झैँ देखिन्थ्यो । म पनि धेरै बेर ल्यापटप अगाडि बसेर थकित हुँदै दिदीलाई भन्न थालेँ मिठो कडा चिया बनाउन भनेर ।
साँच्चै पार्वती दिदीको पसलको चियाले सबैको थकान मेटाउन धेरै सहयोग गर्दथ्यो । बैंकका कर्मचारी, कलेजका शिक्षक र विद्यार्थी, अफिसका पियनदेखि हाकिमसम्म, अनि हामी जस्तै पढाइ सकेका बेगारीहरूको जमघट हुने थलो थियो पार्वती दिदीको पसल ।
चिया पिउँदै चुरोटको एक, दुई सर्को लिएको थिएँ । मैले उनको स्कुटर पार्वती दिदीकै पसल अगाडि रोकेको देखेँ । सधैँजस्तो रेवनको ग्लास अनि लुभिटोनको पर्स बोकेर भित्र पसिन् र दिदीसँग थुक्पा मागिन् । उनलाई देखेर मैले हत्तपत्त चुरोट निभाएँ र चियाको चुस्की लिएँ ।
पसलमा अलि भीड भएकाले उनी मेरै छेउको कुर्सीमा बसिन् । जति उनी मेरो नजिक आउँथिन् त्यति मेरो मुटु झन् बेस्सरी धड्किन थाल्थ्यो । उनको हातभरि भएको मेहन्दी अनि हरियो चुरा र ओठको चक्लेटी कलरको लिपिस्टिकले उनीतिर मेरो ध्यान खिचिरहेको थियो । हामीबीच सामान्य बातचित भयो ।
हो उनकै बारेमा मैले वर्णन गर्न चाहेँ । भगवानले नै धेरैबेर सोचेर बनाएजस्तो लाग्छ उनलाई । उनको त्यो केटाकेटीको जस्तो बोलीले साँच्चै सबैको मन लोभ्याउँथ्यो । त्यसैले त उनका सबै साथीहरूले कलेज बङ्क गरेर उनको गफ सुन्दै मस्त हुन्थे ।
उनीहरूलाई सिलेबसभन्दा महत्वपूर्ण उनको गफ लाग्थ्यो । उनी यत्ति राम्री थिइन् कि उनको अगाडि कहिलेकाहीँ चन्द्रमा पनि फिक्का लाग्थ्यो । चन्द्रमा उनको अगाडि फिक्का भए पनि पार्वती दिदीको चिया चाहिँ साँच्चै कडा रङको र मिठो थियो ।
उनकै साथी च्यान्टी नराम्री भए पनि आफूलाई विश्वसुन्दरी ठान्थी । च्यान्टीको गफ सुनेर पार्वती दिदी पनि कहिलेकाहीा दिक्क मान्नुहुन्थ्यो । च्यान्टीको गफले ग्राहक नै भाग्छन् कि भन्ने पीरले ।
उनी जति राम्री भए पनि कहिल्यै घमण्ड गर्दिनथिइन् । त्यसैले सबैको प्रिय पनि थिइन् । साँच्चै निश्चल थियो उनको हाँसो । बिना कुनै स्वार्थको माया र स्नेह देखाउँथिन् उनी ।
गुरुले भनेजस्तै ठूलालाई सम्मान अनि सानालाई माया साँच्चै व्यवहारमा उतारेकी थिइन् उनले ।
उनको एउटै बानी चाहिँ मलाई ठीक लाग्दैन थियो । उनी पसलमा आइन् भने ३÷४ कप चिया पिउनै पथ्र्याे । यसको दोषी चाहिँ पार्वती दिदी पनि थिइन् जो यत्ति मीठो चिया पकाउँथिन् ।
शब्दकोष जति पल्टाए पनि उनको वर्णनको लागि शब्दहरू अपुरा थिए । हैट ! मन परेको जुत्ता पो जुत्ता त नत्र खालि खुट्टा ठिक झैँ लाग्थ्यो उनलाई देखेपछि । केटाहरू पनि उनलाई देख्नेबित्तिकै ‘तिमीलाई देखेपछि आइ लभ यु ! आइ लभ यु !! भन्न मन लाग्यो ...’ भन्दै गीत गाउँथे । मनमनै रीस उठे पनि उनी मेरो को हो र भनेजस्तै गरेर मन सम्हाल्थेँ ।
मैले उनको आँखाको बारेमा भन्नै बिर्सेँछु । जति थकान पार्वती दिदीको चियाले मेटाउँथ्यो त्यसको ३० प्रतिशत ज्यादा म उनको आँखा हेर्दा थकान हराएको महसुस गर्थँे । थोरै लगाएको गाजल अनि झिम्क्याइरहने उनको परेलीले सबैलाई मोहनी लगाएको थियो ।
जति मैले उनको बारेमा वर्णन गरे पनि यो वर्णन उनैलाई सुनाउन चाहिँ सकिनँ । धेरै चोटि सपनामा मेरी बेहुली भएको देखेँ । तर विपनामा म सधैँ डराइरहँे ।
त्यत्तिकैमा एउटा भोजपुरी गीत बजाउँदै ३÷४ जना मधेसी मूलका दाइहरू पसलमा छिरे र चना चिउरा मागे । मेरो चिया पनि सेलाइसकेको थियो । उनले थुक्पा पनि खाइसकिन् र मसँग बिदा मागिन् । अनि आफ्नो स्कुटर स्टार्ट गरेर रङ्गाएको कपाल उडाउँदै त्यहाँबाट विलीन भइन् । मैले फेरि एउटा चुरोट सल्काउँदै, मनमनै आफैँलाई गाली गरेँ । किन उसलाई मेरा मनको भावनाहरू पोख्न सकिनँ भनेर ।
आकाश फेरि कालो भयो । झरी फेरि पर्न थाल्यो । मैले पनि पार्वती दिदीलाई अङ्कमाल गर्दै चुरोटको ठुटा निभाउँदै त्यहाँबाट बिदा मागँे । र आफ्नो नयाँ पल्सरमा हतार हतारमा आइतबारेको बाटो हुँदै घरतिर लागेँ ।
त्यसको दुई दिन पछाडि मेरो दुबइको फ्लाइट ! मनमा धेरै उसको याद । घरको माया अनि पार्वती दिदीको पसललाई मिस गर्दै म फ्लाइ दुबइको फ्लाइट नम्बर एफ जेड ५७५ बाट दुबइ प्रस्थान गरेँ ।
त्यही दिनदेखि इमरान हास्मी भएको ‘मे रहँु या नरहँु...’ मेरो सबैभन्दा मन पर्ने गीत भएको छ । उनलाई, उनको कलेज बङ्क गर्ने साथी, च्यान्टी अनि पार्वती दिदीको सम्झना यो मरुभूमिको तातो हावामा पनि उस्तै ताजा छ । उस्तै ताजा छ ।।