इटहरी । सुनसरी जिल्ला अदालतको शौचालयबाट प्रहरीलाई झुक्याएर फरार भएका १९ वर्षीय सुरज खड्का अन्ततः प्रहरीको फन्दामा परेका छन् । फरार भएको केही दिनमै फेरि चोरीका घटनामा सक्रिय बनेका खड्कालाई कास्की र इटहरीको संयुक्त प्रहरी टोलीले हेटौडाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका खड्कालाई बैशाख ८ गते कानुनी प्रक्रिया अनुसार सुनसरी जिल्ला अदालतमा धरौटीको प्रकृया मिलाउन उपस्थित गराउने क्रममा खड्काले शौचालय जानुपर्ने बहाना बनाएका थिए । प्रहरीको निगरानी कमजोर भएको मौका छोपेर उनी त्यहाँबाट फरार भएका थिए । अदालत परिसरबाटै थुनुवा भागेपछि प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय इटहरीका सहायक हवल्दार दीपक पटेल निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीको कमजोरीका कारण थुनुवा फरार भएको निष्कर्ष निकाल्दै उनलाई निलम्बन गरेको हो ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–१ घर भई हाल इटहरी–२ मा डेरा गरी बस्दै आएका खड्का मोबाइल तथा इलेक्ट्रोनिक्सका सामान चोरीमा संलग्न रहँदै आएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार उनी सामान्य चोरी गर्ने व्यक्ति होइनन्, योजनाबद्ध रूपमा रेकी गर्ने, मानिसको गतिविधि अध्ययन गर्ने र मौका मिल्नासाथ चोरी गरेर फरार हुने ‘पेशेवर शैली’ अपनाउने अपराधी हुन् । चैत १६ गते इटहरीस्थित ‘आइफोन जोन’ मोबाइल पसल फोडेर महँगा मोबाइल चोरी भएको घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । पसलको सटर फोडेर रातको समयमा मोबाइल चोरी गरिएको उक्त घटनामा खड्काको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार उनले चोरीअघि पसलको दुई–तीन दिनसम्म रेकी गरेका थिए । पसल बन्द हुने समय, सुरक्षाको अवस्था, रातको गतिविधि लगायतका विषय अध्ययन गरेर मात्रै चोरी गर्ने उनको शैली रहेको अनुसन्धानमा देखिएको छ । प्रहरीका अनुसार खड्का निकै चतुर र योजनाबद्ध शैलीमा अपराध गर्ने व्यक्ति हुन् । पक्राउ परेपछि पनि फेरि चोरीमा फर्किने उनको पुरानो रेकर्ड छ ।
प्रहरी भन्दै फोनधनीलाई झुक्याए
फरार भएपछि पनि खड्का शान्त बसेनन् । प्रहरीका अनुसार उनी नेपालका विभिन्न शहरमा लुक्दै फेरि चोरीका घटनामा सक्रिय बने । सुनसरीबाट फरार भएपछि खड्का पोखरा पुगेका थिए । त्यहाँ उनले एक होटलमा ग्राहक बनेर कोठा लिए । होटल सञ्चालकलाई शंका नलाग्ने गरी बसेका उनले मौका मिल्नासाथ छेउमै रहेको विदेशी पर्यटकको कोठाबाट आइफोन र ल्यापटप चोरी गरेर फरार भए ।
यति मात्र होइन, चोरी गरिएको मोबाइलको कल समेत उठाएर उनले आफूलाई प्रहरी भन्दै फोनधनीलाई झुक्याउने प्रयास गरे । “तपाईंको फोन भेटिएको छ, भेरिफाइ गर्न कोड दिनुहोस्,” भन्दै उनले फोनधनीसँग लक कोड मागेका थिए । तर यही गल्ती उनको पक्राउको मुख्य आधार बन्यो । फोन ट्र्याक गर्दा लोकेशन हेटौडामा देखियो । त्यसपछि इलाका प्रहरी कार्यालय इटहरी र कास्की प्रहरीको संयुक्त टोली सक्रिय भयो ।
प्रहरीका अनुसार खड्काले आफ्नो लोकेशन परिवर्तन गर्दै लगातार शहर बदलिरहेका थिए । प्रहरी टोलीले काठमाडौं, बनेपा, बुटवल लगायतका क्षेत्रमा समेत उनको खोजी गरेको थियो । अन्ततः शुक्रबार बिहान हेटौडामा लुकिछिपी बसेको अवस्थामा उनलाई २१ दिनपछि पक्राउ गर्न प्रहरी सफल भयो ।
प्रहरी अनुसन्धान अनुसार खड्का कम उमेरदेखि नै चोरीका घटनामा संलग्न हुँदै आएका थिए । १७ वर्षको उमेरमै उनी बाल सुधार केन्द्र पुगिसकेका व्यक्ति हुन् । धरान, इटहरी, तेह्रथुम, झापा, काठमाडौं लगायतका ठाँउसम्म मोबाइल तथा इलेक्ट्रोनिक्स चोरीमा उनको संलग्नता रहेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनी अन्य जिल्लाका चोरी मुद्दामा समेत फरार अभियुक्त हुन् । विभिन्न जिल्लाबाट उनको विवरण संकलन भइरहेको छ ।
खड्कालाई शुक्रबारनै इटहरी ल्याइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार खड्काविरुद्ध इटहरीमा बाँकी रहेको कानुनी प्रक्रिया पूरा गरिनेछ । त्यसपछि उनलाई पोखरामा भएको चोरी घटनाको अनुसन्धानका लागि पठाइनेछ ।




















