इटहरी । भन्सार छली नियन्त्रणका लागि सबैभन्दा बढी जिम्मेवार निकाय, भन्सार कार्यालय हो। सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, कर वा शुल्क नतिरी वा कम तिर्ने उद्देश्यले गलत तरिका अपनाई कानुन छल्दै भारतबाट नेपाल भित्र्याइएका सामानको नियमन गर्ने मुख्य निकाय पनि भन्सार कार्यालय नै हो। तर अवैध सामान पहिचानमा कमजोरी हुँदा इटहरीका दुईवटा पसलबाट ठूलो परिमाणमा भन्सार छलीका सामान नियन्त्रण गर्न भन्सार कार्यालय चुक्न पुगेको छ।

बुधबार राती ‘माथिको आदेश’ भन्दै इलाका प्रहरी कार्यालय इटहरीको टोलीले इटहरी ६ हटिया लाईनमा सञ्चालित मारुती किराना पसल तथा नवदुर्गा स्टोरमा सिलबन्दी गर्याे । भारतीय सिमा क्षेत्रबाट आउने भन्सार छलीका खाद्धयान्न आईटमका सामान भित्राउने गरेको सूचनाको आधारमा यी दुई पसलमा रातभर साधा पोसाकका प्रहरी डिउटी खटाइयो । धेरै ठुलो परिमाणमा भन्सार छलीको सामान चोरी तस्करी गरि आयत भएको भनि दाबी गरिएका यी दुई पसल र तीनको गोदाममा जिल्ला प्रशासन कार्यालय सुनसरी, सुनसरी भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय इटहरी, उघोग बाणिज्य संघ इटहरी, राष्ट्रिय उपभोक्ता मञ्च सुनसरी र सुरक्षा निकायको उपस्थितिमा बिहिबार सिल तोडेर अनुसन्धान गरेको थियो । 

नभन्दै बिल–बिजकविनाका भारतीय सामानहरूमा पेय पदार्थ, सलाई, तेल, बिस्कुट, चकलेट, चिनी, सरफलगायतका सामग्री बरामद भयो । बरामद सामग्रीको मूल्यांकन गर्दा ७० हजार रुपैयाँ बढीको मात्र सामान फेला परेको देखिएको छ।

तर सतही ढंगले गरिएको अनुसन्धानका कारण ती दुई पसल र गोदाममा अझै पनि भन्सार छलीका थप सामान रहेको आशंका गरिएको छ।

अनुसन्धानमा संलग्न सुनसरी भन्सार कार्यालयका अनुसन्धान अधिकृत ओमप्रकाश तामाङ स्वयम् कुन सामान भन्सार छलीका हुन् भन्ने विषयमा अनभिज्ञ देखिएका थिए।  जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत बिनोद भट्टराईसमेत अनुसन्धानका क्रममा केही अलमलिएका थिए। ठुलो गोदामका कारण छरपष्ट सामानको यकिन गर्न टोलीलाई मुस्किल परेको थियो ।  त्यस्तै अनुसन्धान टोली अत्यधिक गर्मीको कारण देखाउँदै सामान तथा बिल–बिजकको विस्तृत जाँच गर्न आनाकानी गरिरहेका थिए ।


जाँचको क्रममा बिल–बिजकविनाका सामान सामान्य परिमाणमा मात्र जफतका लागि बाहिर निकालिएको थियो। बाँकी भारतबाट भित्राइएका बिल–बिजक भएका सामानहरूको कागजात परीक्षणमा समेत लापरवाही गरिएको थियो ।

कुन मितिमा, कति परिमाणमा र कति मूल्यमा सामान आयात गरिएको हो भन्ने पूर्ण विवरण अध्ययन नगरी ‘ठिक छ’ भन्दै प्रक्रिया टुङ्ग्याउन अनुसन्धान टोलीले गम्भीर त्रुटि गरेको थियो । यस्तै, बिल–बिजकअनुसार मौज्दात (स्टक) रहेको वा नरहेको विषयमा समेत विस्तृत परीक्षण गरिएको थिएन। यद्यपि पसलका बिल तथा अन्य कागजात थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।

स्रोतका अनुसार ती दुई पसलले अनुसन्धानका क्रममा सामानको वास्तविक मूल्य कम देखाउने, सामानको मात्रा वा प्रकारको गलत विवरण दिने, उत्पत्ति देश परिवर्तन गर्ने तथा नक्कली वा गलत बिल प्रयोग गरि कर छलि गरेको आशंका समेत गरिएको छ।

रोचक पक्ष के छ भने मारुती किराना पसल र नवदुर्गा स्टोरमा तस्करीमार्फत भित्राइएका भारतीय चिनी, दाल, चामल, तेल र रजनीगन्धालगायतका सामग्रीको कारोबार बढी हुने गरेको बताइन्छ। तर बिहीबार गरिएको अनुसन्धानका क्रममा भने ती सामान अत्यन्त न्यून परिमाणमा मात्र बरामद भएको थियो ।

“हामीले सकेसम्म धेरै भन्सार छलीका सामान जफत गरेका छौँ। यसको थप अनुसन्धान तथा प्रतिवेदन बनाउने काम जिल्ला प्रशासन कार्यालयले गर्छ,”सुनसरी भन्सार कार्यालयका अनुसन्धान अधिकृत ओमप्रकाश तामाङले प्रदेश पोर्टलसँग भने, “हामीले सबैसामान र बिल जाँच गरेका छौ । यदि कर छलीसँग सम्बन्धित विषय छ भने त्यसको अनुसन्धान आन्तरिक राजस्व कार्यालय इटहरीले गर्नेछ ।”

यता जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत बिनोद भट्टराईले जफत गरिएका सामानको मूल्यांकनका आधारमा कारबाहीसहितको अनुसन्धान प्रतिवेदन तयार गरी छिट्टै भन्सार कार्यालयमा पठाइने जानकारी दिए।

“जफत गरिएका सामानको मूल्यांकनका आधारमा आवश्यक कारबाही र जरिवानासम्बन्धी सिफारिस गरिनेछ, “भट्टराईले भने, “बाँकी थप अनुसन्धान भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयले गर्ने हो। हामीले यस प्रकरणमा समन्वयकारी भूमिका मात्र निर्वाह गरेका हौँ।”

नेपालको भन्सार ऐन, २०६४ अनुसार भन्सार छलीका सामान राख्ने, बिक्री गर्ने वा ओसारपसारमा संलग्न पाइएमा सामान जफत, जरिवाना तथा कसुरको प्रकृतिअनुसार कैद सजायसमेत हुन सक्ने व्यवस्था छ।

बिहीबार सामान जफतसँगै पसलका सञ्चालक राज अग्रवाल र बिनोद अग्रवाललाई समेत प्रहरी नियन्त्रणमा लिने तयारी थियो । तर उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आवश्यक समन्वय र उपस्थित गराउने सर्तमा तत्काल दुवै व्यवसायीलाई नियन्त्रणमा लिइएन । इटहरी–६ हटिया लाइनमा सञ्चालित मारुती किराना तथा नवदुर्गा स्टोरका सञ्चालक अग्रवाललाई यसअघि पनि प्रहरीले नियन्त्रणमा लिएर तस्करीका सामानको कारोबार नगर्न चेतावनी दिँदै छाडिको थियो ।