इटहरीः एक वर्षअघि गोली चलेर रणमैदान बनेको तथा रगत बगेको नयाँ बानेश्वरमा मंगलबार फेरि सहिद र घाइते परिवारका पीडाका आँसु पोखिएका छन् । त्यही ठाउँमा कसैले गोली लागेर गुमाएको सन्तान सम्झिए भने घाइतेले शरीरमा बाँकी घाउ बोकेर अधुरो सपना सम्झिए ।


जनजीविका, सुशासन र परिवर्तनको माग गर्दै सडकमा उत्रिएका युवामाथि चलेको गोलीले खोसेका १९ जीवन र घाइते बनाएका हजारौँ युवाको पीडा अझै मेटिएको छैन । सहिद परिवारका आँखामा आँसु र घाइतेका शरीरमा गोलीका डोब अझै छन् । र, एक वर्षपछि पनि उनीहरूले सरकारसँग क्षतिपूर्ति मात्र होइन, न्याय, सम्मान र आफूहरूले मागेको सुशासनको प्रत्याभूति खोजिरहेका छन् । प्रश्न उस्तै छ– त्यो बलिदानको अर्थ के भयो ?  अनि साँझ प्रधानमन्त्री बालेन शाहले सामाजिक संजालबाट जवाफ दिएका छन्– ‘प्रिय जेन–जी सुशासन कायम हुने नै छ । सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।’


नयाँ बानेश्वरस्थित तत्कालीन संसद् भवन क्षेत्र मंगलबार फेरि जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेहरूले भरियो । कोही बैसाखी टेकेर त्यहाँ उभिएका थिए, कोही ह्विलचेयरमा थिए । गोली प्रहारपछि खुट्टा गुमाएका, आँखा गुमाएका र अनुहारमा गहिरो चोट बोकेका घाइतेहरू पनि कार्यक्रममा सहभागी थिए ।


एक वर्षअघि सुशासनको माग गर्दै यही ठाउँमा पुग्दा तत्कालीन सरकारले गोली चलाएको थियो । त्यही गोलीबाट कसैले सन्तान गुमाए, कसैले जीवनभर नमेटिने घाउ पाए । एक वर्षपछि छोराछोरी गुमाएका आमाबुबा उनीहरूकै सम्झनामा श्रद्धाञ्जली दिन र मृतात्माको शान्तिको कामना गर्न यहाँ आइपुगेका थिए । आफ्ना सन्तान ढलेको ठाउँमा पुगेका आमाबुबाका आँखामा आँसु थियो । 


तत्कालीन संसद् भवनपरिसरमा मंगलबार जेन–जी घाइते नेपाल र जेन–जी सहिद परिवार कल्याणकारी समाजले जेन–जी सहिद स्मृति दिवस कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जेन–जी आन्दोलनका घाइते, सहिद परिवार तथा जेन–जी युवाको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा मन्त्री तथा सांसदहरू अतिथिको हैसियतमा उपस्थित थिए ।


उपस्थित सहिद परिवारका सदस्यले सहिदको बलिदान र आन्दोलनले उठाएका सपना अझै अधुरै रहेको गुनासो गरे । जेन–जी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष तथा सहिदका बुबा नारायण श्रेष्ठले सबै घाइते र सहिद परिवारको माग सरकारले पूरा गर्नुपर्ने बताए । उनले घाइते जेन–जीहरू र सहिद परिवारका सदस्यलाई रोजगारी र शिक्षामा सरकारले प्राथमिकता दिनुपर्ने मागसमेत राखे । 


‘म सहिदको बुबा हुँ, सहिदमाथि सरकारबाट अन्याय भयो भने सहन सक्दिनँ, मेरो छोरा मसँग छैन । तर, उसको बलिदान व्यर्थ नहोस्, उनीजस्ता अन्य सहिदको सपना पूरा गर्न सकियोस्, घाइतेको उपचार सहज होस्,’ कार्यक्रममा उनले भने, ‘सरकारमा हुनेले भाषण मात्रै होइन काम गरेर देखाउन्, अबिर र मालामा मात्रै होइन राज्यको नीतिले जेन–जीका माग पूरा गर्न सकोस् ।’ 


आफूहरूमाथि गोली प्रहार भएको ठाउँमा पुगेका घाइतेहरू त्यहीँ बसेर जेन–जी आन्दोलनको समीक्षासमेत गरे । सहिद र आफूहरूले दिएको बलिदानको स्मरण गरिरहेका उनीहरूको अनुहारमा चिन्ता मडारिएको देखिन्थ्यो । आन्दोलनको मर्म खेर जाने हो कि भन्ने चिन्ता उनीहरूमा देखिन्थ्यो । एक वर्षअघि २३ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवनभित्रबाट गोली प्रहार हुँदा सो दिन साँझसम्म मात्रै १९ युवा सडकमै ढलेका थिए । करिब दुई हजार ६ सय युवा घाइते भएका थिए । 


रगतले लतपतिएको जुत्ता जेन–जी आन्दोलनको आइकन नै बनेको थियो । त्यही जुत्ता लगाएका व्यक्ति प्रकाशबहादुर बोहरा आन्दोलनमा गम्भीर घाइते भएका थिए । ‘भदौ २३ गतेपछि बितेका हरेक दिन र हरेक रात, सम्झिरहेको छु त्यो गोलीको आवाज सम्झिरहेको छु, गोली लागेर छटपटाइरहेका ती कलिला शरीरहरू र अस्पतालको शङ्ढयामा जीवन र मृत्युसँग संघर्ष गरिरहेका घाइते योद्धाहरू सम्झिरहेको छु,’ उनले सुनाए, ‘एक वर्षअघि म देश बदल्ने सपना बोकेर सडकमा निस्किएको थिएँ । आज एक वर्षपछि मेरो शरीरमा घाउ छ । मनमा पीडा छ । आँखामा ती दिनका दृश्य छन् । तर, सपना अझै मरेको छैन किनभने हामीले गुमाएको जीवनको मूल्य परिवर्तन हुनुपर्छ ।’ 


कतिपय घाइतेहरूले उनीहरूले हालको सरकारले आफूहरूको उपचार खर्च नव्यहोरेको, शिक्षा र रोजगारमा चासो नदिएको पनि गुनासो सुनाए । जेन–जी आन्दोलनमा गोली लागेर एउटा आँखा नै गुमाएका विकास यादवले आन्दोलनपछि बनेको सरकारले आफूहरूका मागमा बेवास्ता गरेको बताए । उनले आफूहरूले फलोअप उपचारमा जाँदा पैसा तिर्नुपरेको बताउँदै यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । त्यस्तै, जेन–जी आन्दोलनका घाइते र बेरोजगार युवाहरूलाई हालको सरकारले रोगजारी दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण पनि गराए । 


कार्यक्रममा मन्त्री र रास्वपाका सांसदहरूको बाक्लो उपस्थिति थियो । गृहमन्त्री सुदन गुरुङ, कानुनमन्त्री सोविता गौतम, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञानमन्त्री महावीर पुन, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी सहभागी थिए । उनीहरूले सरकार जेन–जी आन्दोलनको मर्मअनुसार अघि बढेको र सहिद तथा घाइतेका माग पूरा गर्ने आश्वासन दिए । 


गृहमन्त्री गुरुङले जेन–जी आन्दोलनलाई अन्य दलका नेताहरूले अचम्म लाग्दो व्याख्या गरेको बताउँदै जेन–जीका माग पूरा गर्नेमा आफू प्रतिबद्ध रहेको बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।