इटहरीः गत भदौको जेन–जी आन्दोलनमा मृत्युवरण गरेका ४५ सहिदका सालिकसहितको ‘जेन–जी सहिद पार्क’ तयार भएको छ । सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा रहेको पार्कमा बुधबार सालिक अनावरण गरिँदै छ ।
गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीले बिहान साढे आठ बजे सालिक अनावरण गर्ने कार्यक्रम तय भएको छ । जेन–जी घाइते नेपाल र जेन–जी सहिद परिवार कल्याणकारी समाजले कार्यक्रम आयोजना गरेका हुन् । पार्क र सालिक निर्माणमा लागि शिक्षा तथा खेलकुद मन्त्रालयले समन्वय र ग्लोबल आइएमई बैंकले आर्थिक सहयोग गरेको थियो ।
आन्दोलनका क्रममा सहिद भएका ४२ जेन–जी युवा र तीन प्रहरीको सालिक पार्कमा राखिएको छ । जेन–जी आन्दोलनको एक वर्ष पुगेको अवसर पारेर मंगलबार (२३ भदौ) नै पार्क उद्घाटन र सालिक अनावरण गर्ने तयारी थियो । तर, गृहमन्त्री गुरुङको व्यस्तताका कारण एक दिन पछि सारिएको हो ।
आयोजकहरूले सालिक अनावरणका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई अनुरोधसहित निम्तो गरेका थिए । तर, उनी नआउने सचिवालयले आयोजकलाई जानकारी गराइसकेको छ । पार्क र सालिक निर्माणको प्रधानमन्त्री कार्यालयका प्रतिनिधिले निरीक्षण र अनुगमन गर्दै आएका थिए ।
सालिक र पार्क निर्माणमा करिब ६० लाख खर्च भएको छ । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ४२ सहिदको सालिक बनाउन राखेपलाई निर्देशन दिएका थिए । तर, बजेट सुनिश्चितता भने गरिएन । जसका कारण सालिक निर्माणमै ढिलाइ भएको थियो । पछि सहिद परिवार र समाजसेवीले ग्लोबल आइएमई बैंकसँग सहयोग मागेर रकम जुटाएका थिए ।
‘पार्क र सालिक बनाउन जेन–जी र सहिद परिवारसँग मिलेर काम थालिएको हो, तर स्रोत नभएका कारण निर्माणमा केही ढिलाइ भयो । ग्लोबल आइएमई बैंकले आर्थिक सहयोग गरेपछि काम अघि बढेको हो,’ सालिक र पार्क निर्माणका सहजकर्ता अर्जुन थापाले भने, ‘भोलि (बुधबार)पार्कमा ४५ सहिदको सालिक अनावरण हुन्छ । जसमा ४२ जेन–जी युवा र तीन प्रहरीको सालिक छ ।’
जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्युवरण गरेका युवा, आन्दोलनकारीको आक्रमणबाट ज्यान गुमाएका प्रहरी, जेलबाट भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दीलगायत ७६ जनाको मृत्यु भएको थियो । उनीहरूमध्ये प्रहरीको गोली लागेर मृत्युवरण गरेका ४२ प्रदर्शनकारी र आन्दोलनकारीको आक्रमणबाट ज्यान गुमाएका तीन प्रहरी गरी ४५ जनालाई सरकारले सहिद घोषणा गरेको थियो । पार्कमा उनीहरूको सालिक राखिएको छ ।
सुरुमा जेन–जी सहिदहरूको मात्रै सालिक बनाउन थालिएको थियो । तर, एउटै आन्दोलनमा सहिद घोषणा गरिएका प्रहरीको सालिक छुटाउन नहुने आवाज उठेपछि तीन प्रहरीको पनि सालिक निर्माण गरिएको हो । सहिद घोषित प्रहरीहरू सिन्धुलीको दुधौली– ८ का मिलन राय, कास्कीको रूपा– ५ का अमृत गुरुङ र दार्चुलाको लेकम– ३ का उत्तम थापा हुन् । यो खबर आजको नयाँपत्रिका दैनिकबाट लिइएको हो ।




















