काठमाडौः भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३६६ जनाको शव फेला परेको छ । यस्तै, चार हजार ७७ जना सम्पर्कविहीन छन् ।
प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५३३ पुरुष, ३३१ महिला तथा ५०२ वटा शव आंशिक अङ्ग सहितका छन् । भेटिएका शवमध्ये हालसम्म १०२ शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन् । यस्तै, विदेशी नागरिकतर्फ २६९ पुरुष र ३२९ महिला सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ । फेला परेका शवमध्ये एक हजार १४७ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ ।
बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । बाढीपछि हालसम्म नौ हजार २५४ जना घाइतेको उद्धार गरिएको छ । जसमा पुरुष छ हजार ३८०, महिला दुई हजार ८२४ र पहिचान नखुलेका ५० जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उद्धार गरिएकामध्ये तीन हजार ३० जनालाई सुरक्षित रूपमा ‘होल्डिङ सेन्टर’मा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न ‘डिएनए’ परीक्षणलाई प्राथमिकता दिइएको छ । हालसम्म मृतक एक हजार २८६ जना र मृतकका आफन्त एक हजार ४१२ जना गरी दुई हजार ६९८ जनाको डिएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।




















