इटहरीः चाँडवाड नजिकिएसँगै  सुस्ताएको अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो दुई साता यता विदेशी पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।


अघिल्लो साता करिब १५० पर्यटक धारापानी हुँदै अन्नपूर्ण पदमार्ग प्रवेश गरेकोमा पछिल्लो साता यो संख्या बढेर करिब ३०० पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना  (एक्याप) धारापानी पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ । 


केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार मुख्य पर्यटन सिजनमा दैनिक ५०० देखि ६०० सम्म पर्यटक आउने गरे पनि वर्षायाममा आगमन निकै घट्ने गरेको छ । सो संख्यामा अधिकांश विदेशी पर्यटक मात्रै रहेको उनले बताए । उनका अनुसार कतिपय दिन एक–दुई जना र अन्य दिन १०–१५ जनासम्म मात्रै पर्यटक आउने गरेका थिए ।  त्यस बीचमा स्थानीय पर्यटन व्यवसायीहरुमा निराशा छाएको थियो । 


भदौ महिनामा हालसम्म ६१४ पर्यटक धारापानी चेकपोस्ट हुँदै प्रवेश गरेका छन् । तीमध्ये ९९ जना सार्क मुलुकका र ५१५ जना गैरसार्क मुलुकका छन् । सार्क मुलुकका पर्यटकमा ७८ पुरुष र २१ महिला तथा गैरसार्कतर्फ ३६२ पुरुष र १५३ महिला रहेका छन् । 


पछिल्लो समय विशेषगरी मनास्लु हिमाल आरोहण तथा पदयात्राका लागि आउने पर्यटकको संख्या बढेको गुरुङले बताए । उनले भने, “दुई सातादेखि आगमन बढेको छ । मुख्य सिजन सुरु भएकाले संख्या अझ बढ्ने अपेक्षा गरेका छौं ।” 


धारापानी चेकपोस्टको तथ्याङ्कअनुसार सन् २०२६ जनवरी १ देखि सेप्टेम्बर ६ सम्म २० हजार ९१७ पर्यटक उक्त प्रवेशबिन्दु हुँदैआएका छन् । तीमध्ये १३ हजार १८४ पुरुष, सात हजार ७२६ महिला र सात जना अन्य छन् । बेसीशहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ पुग्छ । 


म्याग्दी र कास्की क्षेत्रसँग समेत जोडिएको यो पदमार्ग पाँच जिल्लाको प्राकृतिक तथा सांस्कृतिक विविधता समेट्ने प्रमुख पदयात्रा मार्ग हो । हिमाली दृश्य, बस्ती, स्थानीय संस्कृति तथा प्राकृतिक र धार्मिकस्थलका कारण यो मार्ग स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दैआएको छ ।