इलामः इलामको पुर्वी क्षेत्र सुर्योदय नगरपालिका प्रदेश नं एकको पर्यटकिय नगरी घोषणा भएको छ । प्रदेश नम्बर एक सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत पर्यटकीय नगर बनाउने निर्णय अनुसार मुख्यमन्त्री शेरधन राईले आज सुर्योदयलाई पर्यटकिय नगरी घोषणा गरेका हुन ।
घोषणा भएसंगै सूर्योदय नगरपालिकाले आफ्नो लेटरप्याड र कार्यालय भवनमा पर्यटकीय नगर लेखनको शुरुवात गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन । प्रत्येक सेकेण्डको मुल्यलाई बुझेर प्रदेशको विकासका लागि सबै जनप्रतिनिधि र कर्मचारी एक भएर काम गर्नुपर्ने उनले बताए ।
सूर्योदय नगरपालिका इलामको चौथो नगरसभाको उद्घाटन तथा पर्यटकीय नगर घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सडक, खानेपानी, पर्यटनको विकास मात्रै नभएर जनताको समृद्धीको लागि स्थानीय सरकारले भुमिका बढाउनुपर्ने बताए । प्रदेश नम्बर एकको समृद्धिका आधार कृषि क्षेत्र रहेकाले चिया, अदुवा, अम्रिसो, अलैची, धान उत्पादनको वृद्धि र बजारीकरणका लागि प्रदेश सरकारले लगानीमैत्री कार्यक्रम शुरु गरेको मुख्यमन्त्री राईको भनाइ थियो ।
पर्यटन, कृषि र व्यापार प्रदेश नम्बर एकको मुख्य आयश्रोत भएकाले भारत र बंगलादेशमा बजार विस्तारका लागि कुटनितिक पहल गर्ने मुख्यमन्त्री राईले प्रतिवद्धता जनाए । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राईले ब्यानर खोलेर सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर भएको घोषणा गरेका थिए ।
सुर्योदय नगर प्रमुख रणबहादुर राईले सुर्योदय नगरपालिकाले अनलाईन सीस्टममा संचालन गरिएको र इ प्रविधिलाई विद्यालय तहसम्म पु¥याइएको बताए । उनले नगरको प्रोफाइल , एकिकृत पाश्र्वचित्र बनिसकेकोले एकिकृत आवधिक गुरुयोजना बनाएर स्थानीय जनताका आवश्यक्ता अनुसार अगाडि बढ्ने बताए । सभा उद्घाटनका अवसरमा नगरका उत्कृष्ट कर्मचारी कार्यालय सहायक बालकुमार गिरीलाई मुख्यमन्त्री राईले पाँच हजार नगद सहित पुरस्कृत गरिएको छ ।