इटहरीः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेका फेन्सिङ (तरबारबाजी) खेलका खेलाडी प्रतियोगितामा आफ्नो खेल समावेश नभएपछि निराश बनेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना बोकेको फेन्सिङ खेल राज्यको बेवास्तामा परेको खेलाडीहरूको गुनासो छ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा यसअघि पटकपटक समावेश हुँदै आएको फेन्सिङ खेल यसपटक दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश नगरिएपछि खेलाडीहरू अन्योलमा परेका हुन्। प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा बसेर तयारी गर्नुपर्ने अवस्थामा उनीहरू इटहरी रंगशालाको प्यारापिटमुनि अव्यवस्थित रूपमा अभ्यास गर्न बाध्य छन्।

शुक्रबार इटहरीस्थित रंगशालामा पुग्दा फुटबल मैदानको अगाडिपट्टि रहेको प्यारापिटमुनि आठ जना फेन्सिङ खेलाडी अभ्यास गरिरहेको अवस्थामा भेटिए। उनीहरूसँग पर्याप्त खेल सामग्रीसमेत थिएनन्। हातमा लगाउने पञ्जासमेत अभाव रहेको र भएका सामग्री पनि भाँचिएका तथा टुटफुट भएका कारण टालटुल गरेर प्रयोग गर्नुपरेको देखिन्थ्यो।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयसमेत नजिकै रहेको रंगशालामा खेलाडीहरू सीमित स्रोतसाधनका बीच अभ्यास गरिरहेका छन्। तर, प्रतियोगिताको तयारीमा जुटेका खेलाडीको अवस्था र उनीहरूले भोगिरहेको समस्याप्रति सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको उनीहरूको गुनासो छ।
इटहरीमा मात्रै सीमित फेन्सिङ खेल
कोशी प्रदेशका १४ जिल्लामध्ये सुनसरीको इटहरीमा मात्रै फेन्सिङ खेलको अभ्यास र खेलाडी रहेको वरिष्ठ खेलाडी अनिस राजवंशी बताउँछन्। उनका अनुसार देशका चार प्रदेशका सीमित जिल्लामा मात्रै यो खेल सञ्चालनमा छ।
इटहरीमा हाल ३४ जना खेलाडी आबद्ध रहेको र नियमित अभ्यासमा सहभागी हुने खेलाडीको संख्या क्रमशः बढिरहेको राजवंशीले बताए। तर, खेलको विस्तारका लागि पटकपटक आग्रह गर्दा पनि केन्द्रीय तथा प्रदेशस्तरका पदाधिकारी र सम्बन्धित संघले अपेक्षित चासो नदेखाएको उनको आरोप छ।
राजवंशीका अनुसार फेन्सिङ खेलका मुख्य प्रशिक्षकसमेत सम्भावना हुँदाहुँदै यस क्षेत्रबाट बाहिरिएर वैदेशिक रोजगारीमा गएका छन्। खेलको भविष्य सुनिश्चित नहुँदा दक्ष जनशक्तिसमेत पलायन हुनुपर्ने अवस्था आएको उनको भनाइ छ।
एक खेलाडीलाई खेल सामग्री किन्नै एक लाखसम्म खर्च
फेन्सिङ नेपालकै महँगो खेलमध्ये एक मानिन्छ। खेलमा प्रयोग हुने तरबार, सुरक्षा पोसाक, मास्क, पञ्जालगायतका सामग्री खरिद गर्न ठूलो रकम आवश्यक पर्छ। राजवंशीका अनुसार एक खेलाडीले आवश्यक खेल सामग्री खरिद गर्न मात्रै करिब एक लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था छ।
त्यसमा प्रतियोगितामा सहभागी हुन जाने, यातायात, आवास तथा खानपिनको खर्चसमेत खेलाडी आफैँले बेहोर्नुपर्ने हुँदा आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई निरन्तरता दिन कठिन भएको उनी बताउँछन्।

अन्य खेलका खेलाडीलाई राष्ट्रिय प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षण तथा आवश्यक व्यवस्थापनमा लाखौँ रुपैयाँ बजेट विनियोजन हुने गरेको भए पनि फेन्सिङ खेलले त्यस्तो सुविधा नपाएको राजवंशीको गुनासो छ।
उनका अनुसार केन्द्रबाट अन्तिम समयमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङ खेल समावेश हुन सक्ने संकेत पाएपछि खेलाडीहरू अभ्यासलाई निरन्तरता दिइरहेका छन्। तर, प्रतियोगितामा समावेश हुने वा नहुने विषय स्पष्ट नहुँदा उनीहरूको तयारी अन्योलपूर्ण बनेको छ।
खेलाडीका नाममा आएको ७५ हजार रुपैयाँको हिसाब खोज्दै
फेन्सिङ खेलको विकास र खेलाडीको व्यवस्थापनका लागि आएको भनिएको ७५ हजार रुपैयाँको खर्च विवरणसमेत स्पष्ट नभएको राजवंशीले दाबी गरेका छन्।
उनका अनुसार उक्त रकम खेलाडीका लागि आएको भए पनि कहाँ, कुन शीर्षकमा र कसरी खर्च गरियो भन्ने विषयमा अहिलेसम्म स्पष्ट जानकारी दिइएको छैन। यस विषयमा जानकारी लिन खेलाडीहरूले पटकपटक इटहरी उपमहानगरपालिका धाएको र सम्बन्धित व्यक्तिलाई बोलाउँदासमेत सम्पर्कमा नआएको उनले बताए।

राजवंशीले रकमको वास्तविक अवस्था र खर्च विवरण सार्वजनिक गर्न सम्बन्धित पक्षसँग माग गरेका छन्।
खाता ब्लक भएपछि सुनसरीमा फेन्सिङ खेलको गतिविधि सुस्तायो, नयाँ साधारणसभामार्फत हस्तान्तरण गर्ने तयारी सुनसरीमा फेन्सिङ खेलको गतिविधि सुस्ताउँदै गएपछि जिल्ला अध्यक्ष थानेश्वर ढकालले नयाँ साधारणसभा गरेर खेलको जिम्मेवारी खेलाडीलाई हस्तान्तरण गर्ने तयारी गरेका छन्। ढकालका अनुसार संघको बैंक खाता ब्लकमा परेपछि आर्थिक कारोबारमा समस्या भएको छ। खाता खुलाउन पटक–पटक प्रयास गरे पनि आवश्यक कागजपत्र जुटाउन नसक्दा समस्या समाधान हुन नसकेको उनले बताए। ‘खातामै पैसा छ। गगन भन्ने खेलाडीले मलाई यो जिम्मेवारीमा ल्याइदिएका हुन्। तर, म आफैंलाई यो खेलबारे धेरै जानकारी छैन,’ ढकालले भने। आफूले समय दिन नसक्दा फेन्सिङ खेलको गतिविधि प्रभावकारी रूपमा अघि बढाउन नसकेको उनले स्वीकार गरे। आफूलाई संघमा जोड्ने व्यक्ति नै सम्पर्कविहीन भएपछि थप समस्या भएको उनको भनाइ छ। ‘जसले मलाई जोड्नुभयो, उहाँ नै हराउनुभयो। त्यसपछि समस्या बढ्दै गयो। माथि टेक्ने न समाउने अवस्था भयो,’ उनले भने। फेन्सिङ खेल सञ्चालन गर्न खर्च धेरै लाग्ने र नियमित रूपमा खेलाडीलाई प्रशिक्षण दिने अवस्था नरहेको ढकालले बताए। जिल्लामा कराँतेका खेलाडीको संख्या बढी रहेको उल्लेख गर्दै उनले फेन्सिङ खेललाई निरन्तरता दिन आवश्यक स्रोतसाधन र समय व्यवस्थापन गर्न कठिन भएको बताए। आफ्नो कार्यकालमा दुई–तीनवटा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन खेलाडीलाई पठाएको स्मरण गर्दै ढकालले त्यसपछि केन्द्रसँगको सम्पर्क टुट्दै जाँदा जिल्लामा फेन्सिङ खेलको गतिविधि कमजोर बनेको बताए। अब संघलाई सुधार गरेर व्यवस्थित रूपमा सञ्चालन गर्ने र नयाँ साधारणसभामार्फत खेलाडीलाई जिम्मेवारी हस्तान्तरण गर्ने आफ्नो योजना रहेको ढकालले जानकारी दिए।
फुटबल, भलिबल र कराँतेले प्राथमिकता पाउँदा फेन्सिङ उपेक्षामा






















