धरान/ पिण्डेश्वर मन्दिरलाई देशकै मुख्य धार्मिक गन्तव्यका रूपमा विकास गर्ने दायित्व प्रदेश सरकारले लिने भएको छ । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार पिण्डेश्वर मन्दिर परिसरमा आएर सो जिम्मेवारी लिने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।
पिण्डेश्वर बाबाधाम समितिको निम्तोमा शनिबार जल चढाउन आएका मन्त्री घिमिरेले समितिको आगन्तुक पुस्तिकामा ‘यस धामको प्रचार प्रसार गर्ने क्रममा हामी सबैको ध्यान केन्द्रित गर्दै देशकै ठूलो धार्मिक गन्तव्यस्थलको रूपमा विकास गर्न जरुरी छ । त्यस कामको अगुवाइ प्रदेश सरकारले गर्ने नै छ’, उनले लेखेका छन् । प्रदेश सरकारका मन्त्रीको उक्त प्रतिबद्धताले पिण्डेश्वर मन्दिरको विकास र प्रवद्र्धन हुनेमा अत्यन्त आशा जागेको समितिका अध्यक्ष विकासकुमार बनेपालीले बताए । स्कन्ध पुराणमा वर्णित पिण्डेश्वर मन्दिर पूर्वको सबैभन्दा प्राचीन मन्दिरमध्येको एक हो ।
देवता र दानवले गरेको समुद्र मन्थनपछि अमृतको ‘तर र छोक्रा’ द्वारा पिण्डको आकारमा देवताले पिण्डेश्वर मन्दिरको स्थापना गरेको इतिहास स्कन्ध पुराणमा भएको पथिक कवि स्व.लक्ष्मीप्रसाद आचार्यले आफ्नो पुस्तक ‘देशको ढुङ्गा, देशको माटो’ मा उल्लेख गरेका छन् ।
भगवान् शिवजीको आँशुद्वारा रुद्राक्षको उत्पत्ति यही क्षेत्रमा भएका कारण पनि यो क्षेत्रलाई पुराणमा रुद्राक्षारण्य भनी नामकरण गरिएको छ । समितिले मन्दिरको प्रवद्र्धन, विकास र धार्मिक मेलाको आयोजना जस्ता कार्य २०३९ सालदेखि गर्दै आएको छ ।
यसै क्रममा समितिले बिहीबार र शुक्रबार मोरङ, झापा र इलामका शहरी तथा ग्रामीण क्षेत्रमा प्रचार गर्दै जनप्रतिनिधि, मन्त्री तथा स्थानीय धार्मिक अगुवालाई पिण्डेश्वर दर्शनका लागि निम्तो दिएको हो । बिहीबार निम्तो पाएलगत्तै मन्त्री घिमिरे शनिबार पिण्डेश्वर मन्दिर आएका हुन् ।
विगतका वर्षमा सोमबार मात्र दर्शनार्थी श्रद्धालुको भीड हुने भए पनि यस पटक शनिबारसमेत दर्शनार्थीको उल्लेख्य भीड हुने क्रम बढेको छ । शनिबार मात्रै करिब १० हजार भक्तजनले जल चढाएको समितिका सचिव सुधिरसिंह लिम्बूले जानकारी दिएका छन् ।
समितिका पदाधिकारीले विराटनगर, रंगेली, लेटाङ, मधुमल्ला, दमक, बिर्तामोड, केचना, अर्जुनधारा, कन्याम, फिक्कल, अन्तु, काँकडभिट्टालगायतका क्षेत्रमा गएर प्रचारप्रसार गरेको अध्यक्ष बनेपालीले बताए । यसअघि उनीहरूले पश्चिममा जनकपुर तथा सिन्धुलीसम्म गएर प्रचार गरेका थिए । प्रदेश सरकारले यो वर्ष पिण्डेश्वरलगायत धरानका बुढासुब्बा र दन्तकालीको विकासका लागि ३०÷३० लाख बजेट विनियोजन गरेको छ ।