विराटनगरः दधिराज सुवेदी राष्ट्रिय भाषा–साहित्य प्रतिष्ठानले भाषा–साहित्य पुरस्कार प्रा.डा. माधवप्रसाद पोखरेल र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार किशोर नेपाललाई पुरस्कृत गर्ने भएको छ ।

प्रतिष्ठानले भाषा र साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत प्रा.डा. पोखरेल र पत्रकारिताबाट राष्ट्रलाई दिएको योगदान मूल्याङ्कन गर्दै नेपाललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलका अनुसार ५१ हजार नगद राशीसहित राष्ट्रिय भाषा साहित्य पुरस्कार पोखरेललाई र २५ हजार नगद राशीसहित पत्रकारिता पुरस्कार नेपाललाई प्रदान गर्ने निर्णय गरिएको छ ।

सुवेदीका पुत्रद्वय शरदराज र रुपकराज सुवेदीले ३ वर्ष अगाडि १५ लाख रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेका थिए । सामाजिक अगुवा तथा साहित्यका क्षेत्रमा क्रियाशील दधिराज सुवेदीको सम्मानमा पुत्रद्वयले प्रतिष्ठान स्थापना गरी कोष खडा गरेका थिए ।
प्रतिष्ठानले यसभन्दा अगाडि प्रा.डा. गोविन्दराज भट्टराई र डा. अभि सुवेदीलाई भाषा साहित्य तथा हरिबहादुर थापा र शिवबहादुर कार्कीलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिसकेको छ । यस वर्षको पुरस्कार फागुनको अन्तिम साता प्रदान गरिने बताइएको छ ।