इटहरीः भेडेटार प्रदेश १ को हेलिकप्टर उडानको हब भएको क्याप्टेन राजेन्द्र दुवालले बताएका छन् । नेपालमा सिम्रिक एयरसँग रहेर १ हजार ५ सय घण्टा हेलि उडान गरिसकेका क्याप्टेन दुवाल भेडेटार प्रदेश १ का महत्वपूर्ण धार्मिक स्थल तथा हिमाली आधार शिविर उडान गर्ने महत्वपूर्ण लोकेसन भएको बताउँछन् ।
‘भेडेटारबाट पाथीभराको दूरी करिब ६० नटिकल माइल हाराहारी रहेको छ’, दुवाल भन्छन्, ‘यही दूरीकै आसपासको दूरीमा छ खोटाङको हलेसी महादेव तीर्थस्थल ।’ सगरमाथा आधार शिविर, मकालु आधार शिविर र कञ्चनजङ्घा आधार शिविरमा हेलि टुर गर्ने हो भने पनि प्रदेश १ को तराई र पहाडको लागि सबैभन्दा राम्रो स्थान भेडेटार नै भएको क्याप्टेन दुवालले बताए ।
यस्तै, सभापोखरी अनि गुफापोखरीको हेलिटुर गर्न चाहनेहरूलाई पनि भेडेटार राम्रो लोकेसनमा भएको क्याप्टेन दुवालले बताए । उनले भने, ‘प्रदेश १ का पाथीभरा, हलेसी, मकालु आधार शिविर, सगरमाथा आधार शिविर, कञ्चनजङ्घा आधार शिविर, गुफापोखरी, सभापोखरी सबै स्थानमा जान भेडेटार सबैभन्दा राम्रो लोकेसनमा पर्छ ।’
तराईमा हुस्सुको समयमा धुम्म आकाश हुँदा ‘भिजिबिलिटी’को समस्या हुने भन्दै दुवालले भने, ‘तराईमा जस्तो धेरै भिजिबिलिटिको समस्या पनि भेडेटारमा हुँदैन ।’
पाथीभरा दर्शनको हेलि हब बन्दै भेडेटार
पूर्वको सबैभन्दा सुगम र सबैभन्दा व्यस्त प्रसिद्ध पर्यटकीय हिल स्टेसन भेडेटार पछिल्लो समयमा हेलि उडानको हब बन्दैछ । गत पुस १६ गतेदेखि ३ दिनसम्म पहिलोपटक भेडेटारमा हेलि उडान भएको थियो ।
फन फ्लाइट र पाथीभरा दर्शन गरेर ३ दिनको उडान लोकप्रिय भएर एक दिन थपिएको थियो । सिम्रिक एयरसँगको सहकार्यमा होटल एसोसिएसन अफ भेडेटारको उडान सकिएपछि पुस २० गतेबाट ३ दिनसम्म पाथीभरामा उडान भएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् ।
यत्ति मात्रै होइन माघ २४ देखि फागुन ३ गतेसम्म हुने इटहरी फुड फेस्टिबलले पनि आगामी माघ २७ र २८ गते पाथीभरा हेलियात्रा भेडेटारबाटै गराउने होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीको भनाइ छ । यो पहिलो प्रयास सफल भएमा अन्य महोत्सवमा पनि भेडेटारबाट पाथीभरा सम्मको उडान गराइने पराजुलीले बताए ।