मार्च १६, २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले पहिलो सहभागिता जनायो । हङकङ र अफगानिस्तानलाई हराएर प्रदर्शन पनि राम्रो गरेको थियो । उता, विश्वकपमा विश्वस्तरीय क्रिकेट स्टेडियममा खेल्ने टीम नेपालको स्वदेशी भूमिमा भने स्टेडियमविहीन थियो ।
यस्तै, टी ट्वान्टी विश्वकपमा सहभागिता जनाएको ४ वर्षपछि नेपालले एक दिवसीय क्रिकेट टोलीको मान्यता पायो । अगस्ट १, २०१८ मा जिम्बाबेमा नेपाली टोलीले एक दिवसीय मान्यता पाइरहँदा नेपालमा भने त्यो स्तर कायम गर्ने अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम भने थिएन ।
नेपालमा विश्वका हरेकजसो स्तरीय क्रकेट लिग खेलेका युवा स्टार सन्दीप लामिछाने छन् । तर, उनले विदेशमा खेलेका स्तरका क्रिकेट स्टेडियम नेपालमा छैनन् । नेपालमा नेपाली टोलीलाई सफल नेतृत्व दिने पारस खड्काजस्ता हस्ती छन् । तर, ती हस्तीलाई चित्त बुझ्ने र इज्जत राख्ने क्रिकेट खेल्ने ठाउँ भने नेपालमा छैन ।
नेपाली खेलाडीले क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शन गरेर देशको इज्जत दिए । देशले भने त्यो स्तर कायम राख्ने स्तरीय पूर्वाधार दिएन । अर्थात् अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको निर्माण गरेन । खेलकुदका नाममा वार्षिक करोडौँ खर्च गर्ने सरकार, सरकारको खेलकुद मन्त्रालय र यस मातहतका राखेप, क्यान आदिको नेतृत्वले यो कामलाइ फत्ते गर्न सकेनन् ।
तनावै तनावमा गुज्रेको नेपाललाई राष्ट्रिय खुशी दिने पछिल्लो दशकको सबैभन्दा राम्रो क्षेत्र क्रिकेट नै हो । तर, यसरी देशलाई राष्ट्रिय खुशी दिने क्रिकेट क्षेत्र र यसका खेलाडी भने पूर्वाधारकै अभावमा खुशी हुन सकेका थिएनन् ।
अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपाली टोलीले नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको सपना देखेको थियो । नेपाली क्रिकेटप्रेमीले पनि यही सपना देखेका थिए । सपना सपनामै सीमित थियो । तर, अहिले क्रिकेट स्टेडियमको नेपाली क्रिकेटप्रेमी र खेलाडीको सपना साकार पार्न आएको छ धुर्मुस सुन्तली फाउन्डेसन र यसका हर्ताकर्ता कलाकार दम्पत्ति सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)
नेपाली मन र ‘मनी’ले बन्ने मौलिक सपना
नेपालमा जत्ति पनि मेगा प्रोजेक्ट बने । सबै विदेशी दाताबाट बने । काठमाडौंको दशरथ रङ्गशाला चीनले बनाइदियो । हाम्रा राजमार्ग भारत, अमेरिका, बेलायत र रुस आदिले बनाइदिए । यसरी विदेशीले बनाएका मेगा प्रोजेक्ट हेर्दा रूपमा आनन्द आए पनि सारमा यस्ता परियोजनाले हामीलाई मगन्ते भएको जीवन्त प्रमाण बोकिरहन्छन् । विदेशी दाताले बनाएको परियोजनामा विदेशी झन्डा उभिन्छ । विदेशी इन्ट्रेस्ट टाँसिन्छ ।
नेपालमा पहिलोपटक धुर्मुस सुन्तली फाउण्डेसनको अगुवाइमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम भने यी सबै समस्याबाट मुक्त हुनेछ । किनभने यो नेपालीबाट बन्नेछ । नेपाली मन र नेपालीको मनीबाट बन्नेछ । यसले विदेशी होइन स्वदेशी ‘इन्ट्रेस्ट’हरू बोक्नेछ । त्यसैले पनि यो आवश्यक छ । यस अगाडि विभिन्न ४ एकीकृत बस्तीहरू सफलतापूर्वक बनाइसकेकाले धुर्मुससुन्तली फाउण्डेसनले यो प्रोजेक्ट सक्नेमा कुनै द्विविधा छैन ।
अबको ६ महिनामा डीपीआर सकिने र काम शुरु भएको २ वर्षमा बन्ने भनिएको छ स्टेडियम । अर्थात् ढिलोमा पनि अबको ३ वर्षमा यो स्टेडियम बन्ने आशा गर्न सकिन्छ ।
क्रिकेट स्टेडियमसँगै बहुउद्देश्यीय खेलकुद परियोजना
भरतपुर महानगरपालिका वडा नम्बर १६ शान्ति चोकमा बन्ने यो स्टेडियम २० बिघा ६ कट्ठामा फैलिनेछ । भन्दा क्रिकेट स्टेडियम भनिए पनि यो विशाल क्षेत्रमा बन्ने बृहत खेलकुद परियोजना हो । यहाँ फुटबल मैदान हुनेछ । भलिबल कोर्ट हुनेछ । दुई वटा क्रिकेट अभ्यास मैदान हुनेछन् । अत्याधुनिक कबर्ड हल हुनेछ । कबर्डहलमा डन्डीबियोसम्म समेटिनेछ । स्वीमिङ पुल हुनेछ । विश्वस्तरीय मिडियाहरूले कभरेज गर्ने स्तरीय मिडिया रुम हुनेछन् । दिउँसो र रात पनि खेल खेल्न सकिने गरी फ्लड लाइट हुनेछन् ।
४ वटा गेट भएको यो स्टेडियममा २५ हजार दर्शकले विश्वस्तरीय प्याराफिटमा बसेर आनन्दले क्रिकेट हेर्न सक्नेछन् । खेललाई नजिकबाट हेर्न सकिनेगरी स्टेडियममा ठाउँठाउँमा ठूला–ठूला एलइडी स्क्रिनहरू हुनेछन् । मध्य नेपालको चितवनमा बन्ने यो स्टेडियममा नेपाल झल्काउने धार्मिक तथा सांस्कृतिक सम्पदासमेत समेटिनेछन् ।
पाथीभरा, हलेसी, बुढासुब्बा, जनकपुरधाम, गढीमाई, बडीमालिका, स्वयम्भुनाथ, पशुपतिनाथ, विन्दवासिनी, सिद्धबाबा, स्वर्गद्वारी, लुम्बिनी आदिका धार्मिक प्रतिमा बन्नेछन् । समग्रमा भन्दा यो स्टेडियम नेपाली लगानीमा बनेको नेपालकै विम्ब बोक्ने आकर्षक स्टेडियम हुनेछ ।
जनताको पैसाले बन्ने स्टेडियमलाई यसरी गर्ने सहयोग
३ अर्बमा बन्दैछ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम । जनताकै पैसामा बन्ने यो स्टेडियमको लागि जति धेरै र जति चाँडो लगानी उठ्यो उति चाँडो बन्न सक्छ । १ लाख रुपैयाँका दरले ३० हजार जनाले दिए ३ अर्ब जुट्छ । ५० हजारका दरले ६० हजार जनाले वा २५ हजारका दरले १ लाख २० हजारले चन्दा दिए पनि ३ अर्ब सजिलै जम्मा हुन्छ । साढे १२ हजारका दरले २ लाख ४० हजार विदेशमा भएका नेपालीले चन्दा दिएमा पनि यो स्टेडियम बन्न आवश्यक रकम सङ्कलन हुन्छ ।
कसरी जम्मा गर्ने पैसा ? कसलाई गर्ने सम्पर्क ?
नेपालमा हजारौँ युवा जागिर खान्छन् । उनीहरूले २०–४० हजार रुपैयाँ सहयोग गर्न समस्या छैन । नेपालका हजारौँ मान्छे उद्योग, व्यवसाय र राम्रो आर्थिक हैसियत भएका छन् । यस्तै विदेशमा हुने लाखौँ नेपाली त राम्रो मन र राम्रो ‘मनी’ भएका छन् । उनीहरूले पनि चन्दा दिन सक्छन् ।
यसरी नेपाली माटोमा जनसहभागितामा बन्ने नेपालको पहिलो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको लागि नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा जम्मा गर्न सकिन्छ । सीताराम कट्टेलले फेसबुकमा राखेको सूचना अनुसार खाता नम्बर ०४००१०३०२५८७५३ हो । सिधा सम्पर्क नम्बर भने ०१ ४४८२९७१ हो ।
आउनुहोस् चन्दा दिएर वा चन्दा दिनेसम्म फेसबुकमा सेयर गरेर यो पवित्र काममा सक्रिय धुर्मुस सुन्तली फाउण्डेसनलाई हौसला दिऔं ।