इटहरी: हरेक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘सिमसार तथा जलवायु परिवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । यसले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै वन तथा वातावरण मन्त्रालयले सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ ।

जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्छ ।

सिमसार संरक्षण तथा पर्यापर्यटन विकासमा सिमसारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायतका प्राकृतिक सौन्दर्यको अनुभव सिमसारले नै गराउँछ ।

सिमसारमा आश्रित समुदायको गरीबी निवारणमा पनि पर्यटन विकासले ठूलो भूमिका खेलेको हुन्छ । नेपालको आर्थिक वृद्धिदरमा ३ दशमलव ५ प्रतिशत पर्यटन विकासले योगदान दिएको छ भने १५ प्रतिशत कुल वैदेशिक मुद्राको आय पनि पर्यटन विकासबाट नै हुने गरेको देखिन्छ ।

िनेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको १९९८ को अभिलेखअनुसार नेपालमा १ सय ६३ वटा सिमसार तराईमा छन् भने ७९ वटा सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।

नेपालमा पाइने ८ सय ७८ प्रजातिका चरामध्ये १ सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र ७ हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेका छन् ।

विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) २ फेबु्रअरी १९७१ मा इरानको रामसार भन्ने शहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन शुरु गरिएको हो ।

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या १ सय ७० पुगेको छ । २ हजार ३ सय १४ सिमसार रामसारको सूचीमा सूचीकृत छन् ।

नेपालका १० वटा सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । जसमध्ये प्रदेश नम्बर १ मा सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष र इलामको माईपोखरी गरी २ वटा सिमसार क्षेत्र रामसारको सूचीमा सूचीकृत छन् ।