धरानः धरान–८ भोटेपुलमा धरानको पहिलो २ तारे होटल गजुर प्यालेस सञ्चालनमा आएको छ । सञ्चालक गोपाल आचार्यले अब स्तरीय होटल खोज्दै विराटनगर जानु नपर्ने बताएका छन् । प्रदेश १ को धरान शहर राम्रो भएर पनि स्तरीय होटल नभएको अवस्थामा आफूले नयाँ होटल सञ्चालन गरेको तर्क गर्दै आचार्यले यस्तो बताएका हुन् ।
२८ कोठा भएको र ८ करोड बढीको लगानीमा शुरु भएको होटल यही माघ २५ गते औपचारिक रूपमा शुरु हुने पनि आचार्यले बताए । राम्रो दृश्य, सुन्दर शहर, फोहोरमैलाविहीन शहर भए पनि राम्रा होटल धरानमा नभएकाले आफ्नो ‘ड्रिम प्रोजेक्ट’को रूपमा यो होटल सञ्चालनमा ल्याएको आचार्य बताउँछन् । कर्पोरेट क्लाइन्ट, भारतीय पर्यटक, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू धरान र आसपास आउँदा बस्न योग्य स्तरीय होटल बनाएको आचार्यले बताए ।
धरानको प्राइम लोकेसनमा सञ्चालनमा आएको होटलले धरान र प्रदेश १ को पर्यटकीय प्रोडक्टलाई प्रवद्र्धनसमेत गरिने आचार्य बताउँछन् । ‘हामीले होटल मात्रै होइन धरानका र्याफ्टिङ, प्याराग्लाइडिङ, चतराको जेटबोटिङका सुविधा पनि जोड्छौँ’, आचार्यले भने, ‘प्रदेश १ का टिएमजे, गुफापोखरी आदि जानलाई टे«किङ र टुरका प्याकेज पनि हामी बेच्नेछौँ ।’
आधुनिक डिजाइनका कोठा, राम्रो स्पेस भएको वासरुम र पाँच तारे होटलमा पाइने अन्य कम्फर्टका कुरासमेत आफ्नो होटलमा हुने आचार्यले बताए । उनले भने, ‘धरानको होटल र हस्पिटालिटीका बारेमा राम्रो सन्देश दिन हामी काम गरिरहेका छौँ ।’
४ हजार ९ सयदेखि १९ हजार ९ सय सम्मका कोठाहरू आफ्नो होटलमा भएको र सेवामा कुनै कमजोरी नहुने सञ्चालक आचार्यले बताए । २५ गते प्रदेश १ का गृहमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने यो होटलले सञ्चालनको अवसरमा शुरुमा ३० प्रतिशत छुट दिने आचार्यले बताए ।