तस्बिरहरूः बुलेट खतिवडा
इटहरीः नेपालका ७ प्रदेशमध्ये पर्यटन क्षेत्रमा प्रदेश १ सबैभन्दा अब्बल भएको मुख्यमन्त्री शेरधन राईले बताएका छन् । इटहरीमा बिहीबारदेखि भव्य शुभारम्भ भएको ९ दिने इटहरी फुड फेस्टिबल एन्ड टुरिजम फेयर उद्घाटन गर्दै मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।
प्रदेश सरकारले पर्यटन क्षेत्रमा बजेटसमेत बढाएको भन्दै मुख्यमन्त्रीले भने, ‘पर्यटनसँग जोडेर गरिएको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्छ ।’कोशी गाउँपालिकामा रिफ्रेसमेन्ट सेन्टर सञ्चालन गरेको र सप्तकोशीमा व्यवस्थित जल यातायातमा लागिपरेको पनि मुख्यमन्त्रीले बताए । प्रदेश सांसदहरू सर्वध्वज साँवा, लीलम बस्नेत, कुसुम श्रेष्ठ र इटहरीका मेयर द्वारिकलाल चौधरी तथा उपमेयर लक्ष्मी गौतमसमेत उपस्थित भएको सभामा बोल्दै मुख्यमन्त्रीले प्रदेश १ को पर्यटन क्षेत्रको विकासको लागि प्रदेश सरकार लागेको बताए ।
६० वटा विभिन्न खाद्यान्नका स्टल, दैनिक सांस्कृतिक कार्यक्रम, बालउद्यान, हेलि टुर, हात्ती सेल्फी, अर्ना र लालीगुराँसको प्रतिमा जस्ता प्याकेज भएको इटहरी फुड फेस्टिबल एण्ड टुरिजम फेयर होटल व्यवसायी सङ्घले आयोजना गरेको हो । सङ्घका अध्यक्ष जीवन पराजुलीका अनुसार महोत्सवले इटहरी र प्रदेश १ को पर्यटनलाई प्रवद्र्धन गर्नेगरी प्रचार र पूर्वाधार बनाइएको छ ।
बिहीबारदेखि शुरु भएको मेलाको मुख्य आकर्षण २ वटा हात्ती रहेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट ल्याइएका २ हात्तीसहित मेला उद्घाटन अघि विभिन्न सांस्कृतिक झाँकीसहित नगरपरिक्रमा गरिएको थियो । सडकमा हात्तीसहितको ¥याली निक्लिएपछि हात्तीसँग सेल्फी लिनेको ठूलो घुइँचो थियो ।
आयोजकले नेपालमा कोशी टप्पुमा मात्र पाइने विश्वको लोपोन्मुख जनावर अर्नाको प्रतिमा बनाएको छ । २ वटा अर्नाको बीचमा लालीगुराँसको आकर्षक प्रतिमामा सेल्फी लिनेको उत्तिकै ठूलो भीड लाग्ने गरेको छ ।