धरानः दलित विकास समिति धरान उपमहानगरपालिकाको आयोजनामा बिहीबार धरानमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

कविता, गीत, गजल तथा मुक्तक विधामा सहभागी प्रतियोगीमध्ये धरान–८ का खड्गबहादुर कोइराला धरान–१७ की उषा परियार र धरान–१३ की रोनिषा त्रिखत्री क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । उनीहरूलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

दलित विकास समिति धरानका सदस्यसचिव तारा लामगादेका अनुसार प्रतियोगितामा एक नम्बर प्रदेश सांसद उमिता बराइलीले आफ्नो कविता वाचन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उनले देशमा ३ वटै तहको सरकार बनेर सबै कानुन आइसक्दा पनि सदियौंदेखि अपहेलित दलित समुदायले अधिकार नपाएको बताइन् । प्रतियोगितामा दलित समुदायका १५ जनालले प्रतिष्पर्धा गरेका थिए ।

धरान उपमहानगर कार्यपालिका सदस्य समेत रहेका दलित विकास समितिका संयोजक किशोर परियारको सभापतित्वमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ १ नं. प्रदेशका अध्यक्ष प्रेम लकान्द्री, नेपाल दलित सङ्घका केन्द्रीय सदस्य गोविन्द दर्नाल, वडा नं. १० का सदस्य समशेर वर्देवा, दलित महिला सञ्जालकी अध्यक्ष नरमाया परियारलगायतको उपस्थिति थियो ।