इटहरीः प्रदेश १ को सुन्दर पर्यटकीय नगरी धरानमा आज पहिलोपटक २ तारे होटल गजुर प्यालेस औपचारिक रूपमा उद्घाटन हुँदैछ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री (गृहमन्त्री) हिक्मत कार्कीले आज बिहान १० बजे होटल उद्घाटन गर्ने सञ्चालक गोपाल आचार्यले बताए ।

धरान उपमहानगरपालिका– ८ भोटेपुलमा स्थापना भएको २८ कोठे होटल धरानको सबैभन्दा स्तरीय र ठूलो होटल हो । ८ करोड लगानी भएको यो होटलको सञ्चालनसँगै स्तरीय र तारे होटल खोज्न धरानबाट कोही पनि विराटनगर जानु नपर्ने अवस्था आएको सञ्चालक आचार्य बताउँछन् । भन्छन्, ‘धरानको पर्यटकीय आकर्षण, हरियाली, स्वच्छ शहर र अन्य सुविधा धेरै भए पनि राम्रा होटल कम थिए तर अब त्यो अभाव होटल गजुर प्यालेसले पूरा गरेको छ ।’
आफूले लामो समय दुई पाङ्ग्रे सवारीको डिलरको रूपमा काम गर्दा होटल क्षेत्रमा आफूले देखेका अभाव पूरा हुनेगरी आफँै यो क्षेत्रमा आएको आचार्य बताउँछन् ।

१९ हजार ९ सय सम्मका कोठा, कूटनीतिकदेखि कर्पोरेट वृत्त सुहाउँदो
५० वटा दुई पाङ्ग्रे र १४ वटा चारपाङ्ग्रे सवारी सहजै पार्किङ गर्न आवश्यक खुला ठाउँ भएको र पर्यटन तथा हस्पिटालिटी पढेकाहरूले सेवा दिने होटल विशिष्टहरूको लागि लायक भएको सञ्चालकको दाबी छ । ४ हजार ९ सयदेखि १९ हजार ९ सय रुपैयाँसम्मका कोठाहरू भएको होटलको औपचारिक उद्घाटनको अवसरमा ३० प्रतिशतसम्म छुट दिइने सञ्चालक बताउँछन् ।

‘रुमस्पेस, वास रुम, इन्टरनल बार, टेलिभिजन, रिडिङ टेबल र पाँच तारेमा दिइने जति पनि सुविधाहरू हुन्छन् सबै दिने छौँ’, आचार्य भन्छन्, ‘त्यसैले यो होटल धेरै भीआइपीहरूको लागि योग्य छ ।’ गजुर प्यालेस बनेपछि धरान र प्रदेश १ मा आउने विदेशी दातृ निकाय तथा कूटनीतिक संस्थाका पदाधिकारी, व्यापारिक तथा सामाजिक क्षेत्रका विशिष्ट सबैलाई आवश्यक सेवा र सुविधा उपलब्ध हुने आचार्यको भनाइ छ ।

mid  page add.PNG 1

होटलसँगै प्रदेश १ का पर्यटकीय प्याकेज जोडिने
धरानमा सञ्चालन भएको होटल गजुर प्यालेस एक होटल मात्रै नभएर प्रदेश १ को पर्यटन प्याकेज बेच्ने भेन्यु पनि भएको सञ्चालक आचार्य बताउँछन् । आचार्यका अनुसार सो होटलबाट धरानबाट अरुण तथा तमोरमा हुने र्याफ्टिङ तथा धरानबाट हुने प्याराग्लाइडिङका प्याकेजहरू बिक्री हुनेछन् । यस्तै, चतरामा भएको जेटबोटको टिकट पनि होटलबाटै बिक्री गरिने होमवर्क भएको आचार्य बताउँछन् । उनी भन्छन्, ‘बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, विष्णुपादुकासँगै नमस्ते झरना, भेडेटार, हलेसी, पाथीभरा आदिको भ्रमण प्याकेज पनि थप्दै जानेछौँ ।’

भारतीय राज्य विहार र पश्चिम बङ्गालबाट आएका पर्यटकलाई प्रदेश १ को पर्यटनसँगै यहाँको होटल तथा हस्पिटालिटीको सुविधाको लागि पनि होटल गजुर प्यालेसबाट अन्य पर्यटकीय प्याकेजहरू पनि बिक्री गरिने आचार्य बताउँछन् । भन्छन्, ‘हामीले बेच्ने पर्यटकीय प्याकेजहरूमा हाल चलेको भन्दा सस्तोमा पर्यटकीय प्याकेजहरू बिक्री गर्नेछौँ ।’