इटहरीः आज धरानमा पहिलोपटक २ तारे होटल सञ्चालनमा आएको छ । प्रदेश १ को सुन्दर पर्यटकीय नगरी धरानमा तारे होटल गजुर प्यालेस औपचारिक रूपमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री (गृहमन्त्री) हिक्मत कार्कीले बिहान साढे १० बजे उद्घाटन गरे ।
उद्घाटनमा गृहमन्त्रीसँग धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी लगायतका सामाजिक, आर्थिक, राजनीतिक र सुरक्षा क्षेत्रमा विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
धरान उपमहानगरपालिका– ८ भोटेपुलमा स्थापना भएको २८ कोठे होटल धरानको सबैभन्दा स्तरीय र ठूलो होटल हो । ८ करोड लगानी भएको यो होटलमा ५० वटा दुई पाङ्ग्रे र १४ वटा चार पाङ्ग्रेका लागि सहज पार्किङको सुविधा छ । ४ हजार ९ सय देखि १९ हजार ९ सय सम्मका कोठाहरू भएको होटलको औपचारिक उद्घाटनको अवसरमा ३० प्रतिशतसम्म छुट दिइने सञ्चालक गोपाल आचार्य बताउँछन् ।
रुमस्पेस, वास रुम, इन्टरनल बार, टेलिभिजन, रिडिङ टेबल र पाँच तारेमा दिइने जति पनि सुविधाहरू भएको होटल धेरै भीआइपीहरूको लागि योग्य भएको जानकारहरू बताउँछन् । गजुर प्यालेस बनेपछि धरान र प्रदेश १ मा आउने विदेशी दातृ निकाय तथा कूटनीतिक संस्थाका पदाधिकारीहरू, व्यापारिक तथा सामाजिक क्षेत्रका विशिष्टहरू सबैलाई आवश्यक सुविधा होटलमा भएको सञ्चालकको भनाइ छ ।
आज औपचारिक रूपमा शुभारम्भ भएको होटल गजुरले प्रमुख अतिथि प्रदेश गृहमन्त्री हिक्मत कार्कीको हातबाट विभिन्न ४ व्यक्तिहरूलाई आफ्नो नामको सम्मान गरेको थियो । १५ हजार ५ सय ५५ रुपैयाँसहित पर्यटन पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार गोपाल दाहाल सम्मानित भए । होटल व्यवसायी सम्मानबाट होटल एसोसिएसन अफ धरानका संस्थापक कमलेश श्रेष्ठ सम्मानित भए भने युवा व्यक्तित्व कदरपत्रबाट रमेश प्रसाईं सम्मानित भए । यस्तै, सामाजिक अभियन्ता सम्मानबाट प्रभुप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।