विराटनगरः राष्ट्रिय प्रतिभा पुरस्कारबाट ५ जना पुरस्कृत एवं सम्मानित भएका छन् । १ लाख १ हजार रुपैयाँको पुरस्कार राशीबाट साहित्यकार प्रा.डा. कपिलदेव लामिछाने सम्मानित भएका छन् । त्यस्तै जनही ५१ हजार रुपैयाँको राशीबाट पुरस्कृत एवं सम्मानित हुनेमा संस्कृतिविद् प्राडा सोमप्रसाद खतिवडा, पत्रकार युवराज घिमिरे, ललितकलाकर्मी श्रीमती मिथिला शर्मा बोहरा र समाजसेवी रमेशप्रसाद नेपाल छन् ।

भाषा साहित्य, पत्रकारिता, समाजेवा तथा संस्कृति जर्गेनामा महत्वपूर्ण योगदान दिने महानुभावलाई वर्षेनी पुरस्कृत एवं सम्मान गर्दै आएको बताइएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित चौधौं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रम–२०७५ मा उनीहरूलाई सम्मान गरिएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ के के कर्माचार्यले समाज परिवर्तनमा योगदान दिने महानुभावलाई प्रतिष्ठानले सम्मान एवं पुरस्कृत गर्नु सुखद पक्ष भएको बताए । पुरस्कृत एवं सम्मानित साहित्यकार प्रा डा लामिछाने, संस्कृतिविद् प्रा डा खतिवडा र समाजसेवी नेपालले समाजमा रचनात्मक काम गर्ने स्रष्टालाई खोजी–खोजी पुरस्कृत एवं सम्मान गर्नुले समाजमा काम गर्न थप उत्साह मिलेको बताए ।

प्रतिष्ठानका अध्यक्ष साहित्यकार गङ्गा सुवेदीले प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै समाजमा विभिन्न विधामा काम गर्ने मानिसलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार चेतना मासिक साहित्य कार्यक्रम, चेतना सन्देश त्रैमासिक साहित्यिक पत्रिकार प्रकाशन गर्नुका साथै हालसम्म ६ दर्जनभन्दा बढी प्रबुद्ध व्यक्तिलाई पुरस्कार प्रदान गरिसकेको सदस्य मीनकुमार नवोदितले बताए ।