धनकुटाः धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार भएको छ । विमानस्थल निर्माणको चर्चा चलेको झण्डै पाँच दशक पछि सर्वेक्षणको काम सकिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ ईन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरको टोलीले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार गरेका हुन । टोलीले ड्रोनको प्रयोग गरेर पहिलो चरणमा स्थलगत अध्ययन गरेर टोपोग्राफि सर्बे गरी ५० सिट क्षमताको विमान उडान भर्नका लागि एक हजार तिन सय मिटर भन्दा लामो धावनमार्ग र दुई मिटर चौडाई सहित दुई साईडबाटै उडान र अवतरण गर्न मिल्ने गरिको डिपिआर तयार गरेको हो ।
एटिआर ४७ लगायतका मध्यम खालका विमान उडान तथा अवतरण सजिलै हुने विमानस्थल बनाउन मिल्ने गरी डीपीआर तयार गरि नेपाल नागरिक उड्ययन प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उप प्रबन्धक नलबिक्रम थापाले जानकारी दिए । विस्तृत सर्वेक्षणमा धावनमार्ग, पार्किङस्थल, टर्मिनल टावर, स्टाफ क्वाटर, फ्युल स्टेसन र सुरक्षा निकाय पोष्ट समेत समावेस गरी डिपिआर तयार भएको जानकारी दिए । ‘अब वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को प्रक्रियामा रहेको छौ । त्यसका लागि वातावरण मन्त्रालयको स्वीकृति चाहिने भएकाले त्यसको पर्खाइमा रहेका छौँ’ उनले भने ।
धनकुटामा बिमान स्थलको चर्चा चलेको ५३ बर्ष पछि विस्तृत अध्ययन प्रतिवेदन तयार भएको हो । पहिलो पटक २०२२ सालमा पहिलो पटक विमानस्थल निर्माणको चर्चा चलेको थियो । पछि धरान धनकुटा सडक निर्माणको प्रक्रिया अघि बढेछि बिमानस्थलको चर्चा सेलाएको हो । त्यो बेला बेलहार र धनकुटा स्थीत कर्मीटारमा अध्यायन गरेको थियो ।
पटक पटकको सर्वेक्षणमा उपयुक्त देखिएको बेलहारामा विमानस्थल निर्माण गर्न मन्त्रालयको सैद्धान्तिक सहमति आवश्यक पर्ने भन्दै नागरिक उड्डयान प्राधिकरणले थप कार्य अगाडि बढाउन सकेको थिएन । तर, स्थानियको पटक पटकको डेलिकेशन पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सपिलरिसमा बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न उपयुक्त रहेको भन्दै २०७३ साल माघ ९ गतेको मन्त्री परिषदको बैठकले धनकुटा नगरपालिका ९ बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको विमानस्थल निर्माणका लागि अगुवाई गरिरहेका पूर्व सभासद हेमराज भण्डारीले जानकारी दिए ।
‘कन्सल्टेन्टमार्फत तयार भएको डिपिआर मन्त्रालयमा पुगेको छ, अब इआइएको काम सकिएपछि निर्माणको काम अघि बढ्छ । यो पार नलागे सम्म हामि लागि रहन्छौ‘ भण्डारीले भने । मध्यमस्तरको विमानस्थल निर्माण गर्दा ४० देखि ५० घर विस्थापित हुने बताइएको छ। उनीहरुको पुर्नवासको लागि धनकुटा नगरपालिका सहित धनकुटाका स्थानीय तह, प्रदेश सरकार र केन्द्रिय सरकारसंग पहल गरी व्यवस्थापन गरिने पूर्व सभाषद भण्डारीले जानकारी दिए।
विगत छ वर्ष अघि नै बेलहारा डाँडामा नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका लागि पूर्वाधार अध्ययन गरि सिफारिस गरेको थियो । प्राधिकरणका इन्जिनियर मणिगोविन्द श्रेष्ठ नेतृत्वको टोलीले अध्ययनगरि विमानस्थल निर्माणका लागि योग्य भनी सिफारिस गरेको थियोे । त्यति बेला जिल्लाका विभिन्न तीन स्थानमा सर्वेक्षण गर्दा धनकुटा नगरपालिकाको त्यस क्षेत्र बेलहारामा नै निर्माण कार्य उपयुक्त हुने भनी सिफारिस भएको थियो ।
धनकुटा नगरपालिकाको फौजेटार, महालक्ष्मी नगरपालिकाको घुमाउने र छथर जोरपाटी गाउँपालिकाको मुड्के आहाले मध्ये धनकुटाको बेलहारा प्राविधिक हिसाबले विमानस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष सहितको सिफारिस पत्र मन्त्रीपरिषदमा पेस भएर स्वीकृति भएको थियो। तर, त्यतिबेला साना विमानको लागि मात्रै संर्वेक्षण भएकाले मध्यमस्तरको विमानस्थल निर्माण गर्न पुन सर्वेक्षण गरिएको थियो ।
यता स्थानीय स्तरमा जिल्ला समन्वय समिति र राजनीतिक दल सहितको सर्वपक्षीय संयन्त्र निर्माण गरि विमानस्थलका लागि आवश्यक जग्गाको विवरणको काम अझै अगाडि बढ्न सकेको छैन । राजमार्गबाट विमानस्थल सडक पहुँचको काम पनि अलपत्र जस्तै छ । विमानस्थलमा सडक पहुँच निर्माणका लागि आर्थिक वर्ष २०७४÷०७५ मा अर्थ मन्त्रालयबाट २ करोड रुपैयाँ विनीयोजन भएको थियो । तर उक्त बजेटको काम हुन सकेको छैन ।
हाल विमानस्थल निर्माण स्थलसम्म कच्ची सडक पुगेपनि उक्त सडकलाई कालेपत्रे गर्ने प्रक्रियाको सुरुवात हुन नसकेको धनकुटा नगरपालिका ९ का वडाध्यक्ष मनोज रायमाझी सन्दिपले जानकारी दिए ।
विमानस्थल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला भोजपुर, संखुवासभा, ताप्लेजुङ र पाँचथरका केही भाग र धनकुटा तथा तेह्रथुम जिल्लाका सबै सर्वसाधारणलाई सुविधा पुग्ने बताइएको छ। यो प्रस्तावित विमानस्थल विराटनगर वाट २२ तुम्लिङटारबाट २४ र भोजपुरबाट १७ दशमलव ७४ नटिकल माईल टाढा रहेको छ।