धरानः प्रदेश १ को नाम किरात राख्न माग गर्दै शुक्रबार दिउँसो धरानमा १० वटा प्याराग्लाइडिङ उडान भएका छन् । धरान–२० मा रहेको चिन्डे डाँडाबाट उडान गरिएको हो ।

किरात राई यायोक्खाको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा प्याराग्लाइडिङ उडानबाट ‘किरात प्रदेश’मा पुष्पवृष्टि गरिएको थियो । यही फागुन १८, १९ र २० गते धरानमा किरात राई यायोक्खाको दशौँ महाधिवेशन हुँदैछ । र यसैको प्रचारप्रसारको लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदैछन् ।

प्रवद्र्धनकै क्रममा शुक्रबार धरान–२० को चिन्डे डाँडाबाट शुरु भएको प्याराग्लाइडिङ उडान धरान–१६ को रंगशालामा अवतरण भएको थियो । बुढासुब्बा प्याराग्लाइडिङसँगको प्राविधिक सहकार्यमा भएको उडानबाट चिन्डे डाँडालाइ चिन्डे नभनेर किराती भाषाको वाबु डाँडा भनिनुपर्ने पनि किराती अभियान्ताले बताएका छन् ।

किरात प्रदेश नामकरणको लागि रचनात्मक अभियान चलाउनको लागि यस्तो अभियान सञ्चालन गरिएको यसका परिकल्पनाकार जनकऋषि राईले बताए । किरात राई यायोक्खाका केन्द्रीय सदस्य रामकर राईको प्रमुख आतिथ्यमा सम्पन्न उडानका क्रममा चिन्डे डाँडामा ४० फिट अग्लो किरात राई यायोक्खाको झन्डा पनि राखिएको थियो ।

पुष्पवृष्टि कार्यक्रममा प्रमुख अतिथि तथा किरात राई यायोक्खाका केन्द्रीय सदस्य रामकर राईले इतिहासमा पहिलोपटक प्याराग्लाइडिङमार्फत् प्रचारप्रसार र पुष्पवृष्टि भएको बताए ।

प्याराग्लाइडिङ उडान कार्यक्रमका विशेष अतिथि रहेका धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले प्रदेश १ को नाम किरात हुनुपर्ने र किरातीहरूले प्रदेश १ का सबै जातिसँग सहकार्य गर्न चाहेको बताए । राजनीतिक, भौगोलिक र ऐतिहासिक सबै कोणामा प्रदेश १ को नाम किरात नै उपयुक्त भएको पनि राईले बताए ।