ताप्लेजुङः ताप्लेजुङको सुकेटारमा ३० वर्षपछि फागुनमा हिमपात भएको छ ।

२०४५ साल यता फागुन महिनामा सुकेटारमा हिमपात भएको थिएन । आज बिहानभर सदरमुकाम फुङलिङ बजारदेखि ९ किलोमिटरको दुरीमा रहेको सुकेटार क्षेत्रमा ठूलो हिमपात भएको थियो । यो वर्ष सुकेटारमा यस अघि २ पटक हिमपात भए पनि यति ठूलो हिमपात भएको थिएन ।

२०५८ साल यता हिउँ नपरेको सुकेटारमा यो वर्ष पटकपटक हिउँ परेको हो । तर फागुन महिनामा भने २०४५ साल यता पहिलो पटक हिउँ परेको स्थानीय शिक्षक किशोर राईले बताए । उनका अनुसार वि.स.२०४५ साल फागुन ७ गते सुकेटारसम्म ठूलो हिमपात भएको थियो ।

आज पाथीभरा मन्दिर, सुकेटार सहित जिल्लाका उच्च क्षेत्रमा परेको हिमपातले जनजीवनमा सामान्य प्रभाव पर्नुका साथै बुधबार पाथीभरा क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री लगायतको शव उद्धारमा समेत कठिनाइ भएको थियो ।

हिमपातका कारण सुकेटारबाट मध्याह्न्नपछि मात्रै शव हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको थियो ।

उता, पाँचथरको उच्च पहाडी क्षेत्रमा पनि आज अपराहन्नदेखि हिमपात भएको थियो । पाँचथरका लब्रकुटी, साधुटार, सिलौटी लगायतका क्षेत्रमा बाक्लो हिउँ परेको हो । हिमपात भएको क्षेत्रमा हिउँमा खेल्न आन्तरिक पर्यटक बढेको स्थानीयले बताए ।

suketar hiu sabb 1